Comments Add Comment

लोकगीत त चल्यो तर फिल्म चलेन

बलिउडका चलचित्र निर्माताहरुमा एउटा सोच छ, ‘गीत हिट त पिक्चर हिट’ । गीतले दर्शक हलसम्म तान्नका लागि ठूलो मद्दत गर्दछ । तर, गीत राख्दैमा चलचित्र सुपरहिट हुन्छ भन्ने पनि होइन । नेपाली चलचित्रमा त अझ, गीतसंगीतको प्रयोग उदेक लाग्दो नै छ । जब एउटा शैलीको गीत हिट हुन्छ, संगीतकारसम्म निर्माताहरु त्यस्तै गीत चाहियो भन्दै पुग्छन् । चलचित्रले के मागेको छ भन्दा पनि बजारमा के चलेको छ भन्ने सोच बढी हाबी छ । आफूले नयाँ प्रयोग गरौ भन्ने सोच त कमैमा पाइन्छ ।

केही वर्षदेखि चलचित्रमा लोकलयका गीतहरु चलेका छन् । कुनै समय लोकगीत पनि कुनै गीत हो भनेर नाक खुम्च्याउने चलचित्रकर्मीहरु अहिले आफ्नो चलचित्रमा यस्तै गीत राख्न दौडधुप मात्र गरेका छैनन्, आफै नाच्न पनि तयार छन् ।
लोक लयका गीतमा राम्रो मानिएका राजनराज सिवाकोटी निकै व्यस्त बने । हरेक चलचित्रमा उनको गीत हुन थाल्यो । राजनराजले हिट गीत त दिए, तर ती गीतले गतिलो चलचित्र पाउन सकेनन् । यसैले, उनका गीत हिट हुँदा चलचित्र असफल भए ।

हालैमात्र रिलिज भएको चलचित्र, ‘सुश्री सम्पत्ती’मा समावेश ‘हुकुम बक्सियोस्’ गीत हिट भयो । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको उक्त गीतमा मेलिना राई र विशाल राईको स्वर सुन्न सकिन्छ । निकै रुचाइएको यस गीतको भिडियोमालाई ५० लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ ।

गीत हिट भयो । लोकलयको यस गीतलाई धेरैले रुचाए । तर, चलचित्रलाई दशर्कले खासै चासो दिएनन् । शुक्रबार रिलिज भएको चलचित्र आइतबारसम्ममा हलबाट निस्किसकेको थियो । केकी अधिकारीले निर्माण गरेको चलचित्र ’कोहलपुर एक्सप्रेस’मा पनि एक लोकगीत समावेश गरिएको थियो । उक्त चलचित्रमा राजनराज सिवाकोटीले संगीत दिएको गीत ’सीओडब्लु काउ’ बोलको गीत सुन्न सकिन्छ ।

यस गीतले पनि निकै सफलता पायो । युट्युबमा मात्र नभएर अहिलेको समयमा चर्चामा रहेको टिकटकमा पनि यस गीतलाई निकै रुचाइयो । गीतको सफलताले चलचित्र निर्माण युनिट पनि निकै दंग थियो । तर, चलचित्रको उक्त गीतमात्र हिट भयो । चलचित्रले त आसै सफलता पाएन । भलै, केकीले चलचित्र हिट भयो भन्दै केक धेरै पटक काटिन् । बरु, चलचित्रलाई चोरीको वात लाग्यो । जसको जवाफ केकीले अहिलेसम्म दिएकी छैनन् ।

त्यस्तै, राजनराजको संगीतमा रहेको गीत ’चेप्टे चेप्टे पेरुङ्गो’ निकै लोकप्रिय छ । मैलिक शब्दहरु प्रयोग गरेर तयार गरिएको उक्त गीतलाई युट्युबमा १ करोड बढी दर्शकले हेरेका छन् । तर उक्त गीत हेरेका धेरै दर्शकलाई यो कुन चलचित्रको गीत हो भन्ने नै खासै जानकारी छैन । वैशाख १४ गते रिलिज भएको ‘ह्याप्पी डेज’मा समावेश यो गीतले दर्शकलाई हलसम्म तानेन । तिज, दशै, तिहार र पिकनिकमा भने यो गीतमा दर्शक खुबै रमाए ।

चलचित्र ‘भैरे’मा पनि दुई लोकगीत समावेश छन् । वसन्त सापकोटाको संगीतमा ’सान्नानी लाई’ र यम बरालको संगीतमा ’सनम माया लाको’ बोलका दुई लोकलयका गीत चलचित्रमा समावेश छन् । दुबै गीतलाई दर्शकले रुचाएका पनि छन् । दुबै गीतले युट्युबमा आधा करोडको हाराहारीमा दर्शक पाएका छन् ।

चलचित्रको गीतले युट्युबमा ५० लाख दर्शक कमाएपनि चलचित्रले हलमा दर्शक पाएन । दुई हिट लोकगीत दिएको यस चलचित्र असफल भयो । त्यस्तै, निखिल उप्रेती स्टारर चलचित्र ’पिंजडा व्याक अगेन’मा पनि एक लोकलयको गीत समावेश गरिएको थियो । चलचित्रमा राजनराजको संगीतमा ’कु कु कु’ बोलको गीत समावेश गरिएको थियो । निकै सफल भएको यस गीतको सफलताले चलचित्रलाई भने सफल बनाउन सकेन् । बरु, नाच्नै नजान्ने निखिललाई जर्बजस्ती गीतमा नचाइएपछि दर्शक हाँसे । लोकगीत राख्दैमा चलचित्र चल्छ भन्ने भ्रम यसका निर्माताले पनि पालेका थिए ।

केही साता अघिमात्र ‘मेला’ चलचित्रका निर्देशक वसन्त निरौलाले आफ्नो चलचित्रको एक गीतले करोड भ्युज पाएको भन्दै केक काटे । अर्जुन पोखरेल संगीतमा तयार ’परिचय पाउ’ बोलको गीतले करोड भ्युज पाएको छ । यो गीत पनि निकै रुचाइएको गीतमा पर्छ । गीत हिट भैरहँदा निर्माता घाटा लागेको रकम कसरी उठाउने खोज्दै थिए ।

यति मात्र होइन, जे चल्यो त्यसकै पछि दौडने निर्माताको कारणले गर्दा संगीतकारहरु पनि दबाबमा पर्छन् । लभ स्टोरी गीत बनाउन संगीतकार लोकगीत बनाउनुपर्ने प्रेसरमा पर्छन्, लोकगीत बनाउने संगीतकारमाथि प्रेमको गीत बनाउने दबाब थुपरिन्छ ।

अहिले यति धेरै लोकगीतको निर्माण हुन थालेका छन् कि, दर्शकले गीत त सुन्छन् तर कुन चलचित्रको हो पत्तो पाउँदैनन् । जसलेगर्दा, हलबाहिर दर्शक गीतमा झुम्छन्, हलसम्म पुग्दैनन् । सबै चलचित्रमा उस्तै खालका गीत राख्नैपर्छ भन्ने छैन । चलचित्रलाई उत्कृष्ट बनाउन अरु थुप्रै बिषय पनि भेटिन्छन् । कथालाई जर्बजस्ती माग्न लगाएर गीत थोपरिदिदा यसको औचित्य पनि पुष्टी हुँदैन ।

लोकलयका गीतले बजार लिएका छन् । तर, ती गीत समावेश धेरै चलचित्रले बजार लिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment