Comments Add Comment

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका- १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड-अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment