Comments Add Comment

चिसोमा संक्रमणको जोखिम उच्च, अपनाउनुस् यस्ता सतर्कता

काठमाडौंमा जाडो बढ्दैछ । जाडोमा विभिन्न रोगको संक्रमण पनि बढी हुने गर्छ । त्यसैले, यो समयमा खासगरी बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ ।

६५ वर्ष उमेर कटेका वृद्धवृद्धा तथा १२ वर्ष उमेरमुनिका बालबालिकामा श्वासप्रश्वासको समस्या धेरै हुने गर्छ । चिसोमा छुकछुके प्रवृत्तिका कारण बालबालिकाले आफूलाई न्यानोमा राख्न नसक्दा उनीहरु संक्रमणको उच्च जोखिममा हुन्छन् । यस्तै धेरै वृद्धवृद्धा दीर्घरोगी हुने भएका कारण साधारण रुघाखोकीले पनि उनीहरुमा दम, खोकीलगायत श्वासप्रश्वास सम्बन्धी गम्भीर संक्रमण निम्त्याउन सक्छ ।

सामान्यतयाः श्वासनलीको संक्रमण दुई किसिमका हुन्छन् । माथिल्लो श्वास प्रणालीको संक्रमण भएमा त्यसलाई माथिल्लो अपर रेस्पिरेटरी ट्रयाक इन्फेक्सन भन्ने गरिन्छ । यो संक्रमण भएमा माथिल्लो श्वास प्रणालीमा समस्या भई घाँटी दुख्ने, टन्सिल हुने, कान पाक्ने, पिनास हुने गर्छ । यस्तो संक्रमण अल्पकालीन हुने भएकाले आत्तिइहाल्नु पर्दैन ।

तर, तल्लो श्वास प्रणालीको संक्रमण अर्थात् ‘लोअर रेस्पिरेटरी ट्रयाक इन्फेक्सन’ भएमा भने विशेष सजगता अपनाउनुपर्छ । किनकी उक्त संक्रमण फोक्सोमा पुगेर निमोनिया हुन सक्छ ।

हावामा रहेका ब्याक्टेरिया तथा भाइरसले सासको माध्यमद्वारा फोक्सोमा संक्रमण गराएमा निमोेनिया हुने गर्दछ । निमोनिया भएमा फोक्सोको बाहिरी झिल्ली (प्युरा) मा पानी र पीप जम्ने गर्छ, र पीपको पोका बन्न सक्छ ।

फ्लु, भाइरस, राइनो भाइरस, एन्फ्लुएञ्जा, एडिनोभाइरसका कारण पनि निमोनिया हुने गर्छ । भाइरस, फंगस तथा परजीवीको संक्रमण, तथा स्ट्रेप्टोककस ब्याक्टेरिया, निमोककस, हिमोफिलस इन्फ्लुएञ्जा, माइक्रोप्लाज्मा, क्यालामेडिया लगायतका संक्रमणको कारण पनि निमोनिया हुन सक्छ ।

निमोनिया विभिन्न प्रकारका हुन्छन् । र, बेलामै उपचार नगरे यही संकम्रण शरीरभरि फैलिएर मानिसको ज्यानसमेत जान सक्छ ।

त्यसैले, फ्लु र निमोनियाको जोखिम रहेका व्यक्तिले यसबाट बच्न इञ्फ्लुएञ्जा र निमोकोकल नामको विशेष खोप लगाउनुपर्छ । फ्लु विरुद्धको खोप प्रत्येक वर्ष लगाउनुपर्छ भने निमोकोकल खोप प्रत्येक पाँच वर्षमा एकपटक लगाउनुपर्छ ।

त्यसबाहेक, चिसो मौसममा यी उपाय अपनाएर पनि रोगको संक्रमणबाट जोगिन सकिन्छ ।

– पोषिलो खानेकुरा खाने

– न्यायो कपडा लगाउने

– रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरु धेरै भीडभाडमा नजाने

– भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने

– धुमपान तथा मद्यपान नगर्ने

– हात मिलाउनुको सट्टा टाढैबाट नमस्कार गर्ने

– कलेजो, मिर्गौला तथा फोक्सोसम्बन्धी रोग भएकाहरुले यस रोगबाट बच्न बेलामै फ्लु, इन्फ्लुएञ्जा तथा निमोनियाविरुद्धको खोप लगाउने

– रुघाखोकीका साथै उच्च ज्वरो आएमा तुरुन्तै चिकित्सकलाई देखाउने

– जथाभावी एन्टिबायोटिक्सको प्रयोग नगर्ने

किन हुन्छ, जाडोमा धेरै रोगको संक्रमण ?

सामान्यतया, जाडो मौसममा पानी कम पर्ने गर्छ । जसले गर्दा धुलोका कण वातावरणमै तैरिएर बस्छन् । अनि वातावरणमा भाइरस तथा ब्याक्टेरिया धेरै हुने गर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई यस्ता भाइरसको संक्रमण पनि धेरै हुने गर्छ ।

वृद्धवृद्धा तथा बालबालिकासँगै मधुमेह, पुराना दमका विरामी तथा दीर्घकालीन रोगीहरु पनि यस्तो संक्रमणको उच्च जोखिममा पर्दछन् । त्यसैले, जाडो मौसममा रोगको संक्रमण लिएर अस्पताल पुग्ने बिरामीहरुमा यिनीहरुको संख्या धेरै हुने गर्दछ ।

कयांै मानिसमा यस्तो संक्रमण बिग्रिएर दीर्घकालीन समस्या निम्तिने गर्दछ । भाइरल संक्रमणका कारण दीर्घकालीन समस्या निम्तिएमा बिरामीहरुले बाँचुञ्जेल औषधीको सेवन गर्नुपर्छ ।

चिसोमा देखिने मुख्य रोग

सामान्यतया चिसो मौसममा धुमपान गर्ने व्यक्तिमा सिओपिडी, ब्रोनकाइटिस, इम्फाइसेमा, आज्मा लगायतका समस्या देखिन गर्दछ । त्यस्तै, धुलोधुवाँमा हिँड्नेहरुमा घाँटीको एलर्जी, साइनासाइटिस श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ भने बालबालिकाहरुमा चिसोकै कारण रुघाखोकी, निमोनिया, भाइरल डायरिया लगायतका भाइरल संक्रमण हुने गर्छ । यस्ता संक्रमण बारम्बार भएमा दीर्घरोगी भइन्छ ।

सामान्यतया, चिसोका कारण उत्पन्न हुने रुघाखोकीको समस्या पाँच–सात दिन भित्रमै निको हुने गर्छ । तर उक्त रुघाखोकी एक हप्तासम्म पनि निको नभएमा, रुघाखोकीका साथमा खकार देखिएमा, धेरै खोकी लागेमा चाहिँ तुरुन्तै चिकित्सककहाँ लैजानु पर्छ । किनकी उक्त लक्षण निमोनियाको हुन सक्छ ।

यसबाहेक, मधुमेहका विरामी, पूराना दम रोगी, केमोथेरापी लिइरहेका विरामी, एचआईभी संक्रमित तथा मिर्गौलाका रोगीहरुलाई भने रुघाखोकी लागेको ४–५ दिन भित्रमै पनि निमोनियाको संक्रमण हुनसक्छ । त्यसैले, यीमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै अस्पताल जानु पर्दछ ।

रुघाखोकीसँगै एलर्जी

अत्यधिक चिसो भएमा रुघाखोकीका साथमा चिसोको एलर्जीको समस्या पनि हुने गर्छ । चिसोका कारण रुघाखोकी लागेमा हाच्छ्यू आउने, खोकी लाग्ने, नाक बन्द हुने, स्वाँ–स्वाँ हुने तथा घाँटी खस्खसाउने गर्दछ । जबकी रुघाखोकीका साथमा एलर्जी पनि भएमा माथि उल्लेखित लक्षणका साथै थप लक्षण देखिने गर्दछ । जस्तैः नाक, कान, घाँटी, आँखा तथा छाला चिलाउने, छालामा ससाना विविरा देखिने आदि ,

कसरी बच्ने ?

मामुली रुघाखोकी लागेमा सामान्य औषधीको सेवन तथा घरेलु औषधीको प्रयोगद्वारा पनि पनि यसलाई कम गर्न सकिन्छ । त्यसका बाबजुद, रुघाखोकीका कारण श्वास फेर्नमा कठिनाई भएमा, धेरै खकार आएमा, खकार पहेँलो, हरिया वा रगत सहितको खकार देखिएमा, खकारमा रगत देखिएमा, उच्च ज्वरो आएमा, रुघा लागेको दुई–चार दिनसम्म पनि रुघा निको नभएमा, लक्षण झन् झन् कडा हुँदै गएमा, जीउ गल्न थालेमा, हातखुट्टाका औंला तथा नङ्ग, जिब्रो तथा नाकको टुप्पो नीलो भएमा, सुत्नमा समस्या भएमा भने तुरुन्तै अस्पताल लैजानुपर्छ ।

(ऋचा अर्यालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment