Comments Add Comment

डीएनए परीक्षणका लागि निर्मलाकी आमाले दिइन् रगतको नमूना

२५ पुस, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिने भएको छ ।

यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी छन् ।

१० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।

घटनामा संलग्न अहिलेसम्म पक्राउ गरेका छैनन् । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै दुर्गादेवी बिहान जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगेकी थिइन् । त्यहाँ प्रहरी प्रमुख एसपी कुवेर कडायत, अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझालगायतले रगत निकाल्ने काम अस्पतालमा मात्रै हुने बताएपछि उनलाई महाकाली अस्पताल लगिएको थियो ।

यो पनि पढ्नुहोस निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

कञ्चनपुरका प्रहरी निरीक्षक मनिराम भट्टले अनलाइनखबरसँग कुरा गर्दै दुर्गादेवीको डीएनए टेष्टका लागि दुर्गादेवीको रगतको नमुना लिइएको पुष्टि गरे । अधिकारीहरुका अनुसार रगतको नमुना परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ ।

अब दुर्गादेवीको रगतबाट निकालिने डीएनएसँग निर्मलाको स्वाबको डीएनए प्रोफाइललाई भिडाएर वैधानिकता जाँचिनेछ ।

यो प्रकरणमा प्रहरीसँग भएको प्रमाण भनेको निर्मलाको स्वाबबाट निकालिएको वाइएसटीआर डीएनए प्रोफाइल मात्र हो । तर, त्यसमाथि पनि अहिले प्रश्न उठ्न थालेको छ ।

अनुसन्धान अधिकारी स्वय‌ंले समेत निर्मलाको स्वाबको वैधानिकतामाथि प्रश्न उठाएका थिए । यो विधिबाट निर्मलाको स्वाबको वैधानिकता पुष्टि भए आम कञ्चनपुरवासीबाट डीएनएका लागि स्वेच्छिक आह्वान गर्न सकिने अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment