+
+
Shares

डाक्टर वडाध्यक्षको वडामा मदिरा र जुवातास निषेध

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १५:२८

२५ पुस, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ मा मादक पदार्थ उत्पादन, सेवन, बिक्री वितरण र जुवा तास खेल्न निषेध गरिएको छ । कलैया उपमहानगरपालिकाको बोर्ड बैठकले वडा नं ९ का अध्यक्ष डा. अख्तर आलम अन्सारीको प्रस्तावलाई पारित गरेको हो ।

गत २० गते बसेको बोर्ड बैठकले वडा नं ९ भित्र मादक पदार्थको उत्पादन, सेवन, बिक्री वितरण र जुवा तास खेल्न निषेध गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि वडा अध्यक्ष अन्सारीले प्रचार प्रसार लगायतका अन्य तयारी शुरु गरेका छन् ।

चिकित्सक पेशाबाट राजनीतिमा छिरेका डा अन्सारीले मदिराले समाजमा पारेको असरको बारेमा अध्ययनपछि नै आफूले वडालाई मदिरा र जुवातास निषेध बनाउने निर्णयमा पुगेको बताए ।

‘वडामा ७ सय ४६ घरधुरी छन् । झण्डै डेढ दर्जन मदिरा पसल र भट्टीहरु छन्’ उनले भने ‘मदिरा र जुवातासले समाजलाई कुनै पनि दृष्टिले फाइदा गर्दैन, लिभर ड्यामेज गरिदिन्छ, सामाजिक विकृतिहरु बढाइरहेको छ । महिला हिंसाका घटना भइरहेको छ । त्यसैले मदिरा र जुवातास निषेध गर्ने निर्णयमा पुगेको हुँ ।’

कलैया ९ मा लोडिया, रामपुर, खेस्राहा गरी तीन वटा टोल छन् । सबै टोलमा मदिरा उत्पादन, बिक्री वितरण, सेवन भइरहेको छ । जुवा तास खेल्ने खेलाउने पनि हुन्छ । राजपाबाट वडा अध्यक्षमा जितेका उनले विरोधका स्वरहरु सुनिएको भए पनि आफूले यो निर्णयलाई कार्यान्वयन गरिछाड्ने बताए ।

‘जसले मदिरा बिक्रीबाटै कमाइरहेको छ, विपक्षी साथीहरुलाई यो निर्णय मन परेको छैन, विरोधका स्वरहरु पनि सुनेको छु’ वडा अध्यक्ष अन्सारीले भने ‘४ सय रुपैयाँ कमाउँछन्, दुई सय रुपैयाँ मदिरामा खर्च गर्छन्, उल्टै गएर घरमा श्रीमतीलाई कुट्छन्, मदिराले समाजमा एकदमै विकृति बढाएको छ ।’

उनले थपे ‘मेरो लागि होइन, समाजका लागि यस्तो निर्णय गरेको हो । चुनौतीको सामना गर्न तयार छु । ‘

मदिराले स्वास्थ्यमा एकदमै नराम्रो प्रभाव पार्ने भएकोले निषेध गर्नु जरुरी रहेको बताउँदै उनले अटेर गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिए । वडालाई मदिरा तथा जुवातास निषेध गर्ने निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासनले पनि मातहतको सुरक्षा निकायलाई सहयोग गर्न निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?