२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले उज्वल थापाले वैकल्पिक पार्टी निर्माण अभियानलाई धोका दिएको आरोप लगाएको छ । विवेकशील साझाका संयोजक थापासहित १६ जनाले ‘विवेवशील नेपाली पार्टी’ ब्यूँताएका थिए ।
विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले पार्टीमा आएको फुटले आफूहरु आश्चर्यमा परेको बताएका छन् । कार्यशैली र कार्यप्रणालीलाई लिएर पार्टीमा मतभिन्नता रहेको स्वीकार गर्दै आचार्यले ३० गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने अपेक्षा गरेको बताएका छन् ।
‘तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
थापासहितका नेताहरुको कदमले वैकल्पिक पार्टी निर्माणको उद्देश्यलाई घात र पार्टी निर्माणमा क्रियाशिल युवा र मतदाताप्रति अन्याय भएको विवेकशील साझाको ठहर छ । अचार्यले भने, ‘उहाँहरुले वैकिल्पक पार्टी निर्माण अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मूल्यांकन गर्ने छ ।’
आसन्न केन्द्रीय समितिको बैठकले पार्टीको राजनीतिक तथा सांगठनिक अवस्थाको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र रणनीति तयार गर्ने बताइएको छ ।
विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्न आफूहरु दृढ संकल्पिक रहेको भन्दै प्रवक्ता आचार्यले आफ्नो विज्ञप्तिमा नयाँ दल दर्ताका लागि निवेदन दिएका नेताहरुलाई शुभकामना समेत दिएका छन् ।
प्रतिक्रिया 4