+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

मन जित्ने विवेकशील र मत जित्ने रास्वपा जोड्यो एकता सभाले

विवेकशीलका नेताहरू रास्वपामा मिल्दा आफ्नो नीतिअनुसार अघि बढ्ने सुनिश्चतता विलय हुँदै गर्दा रास्वपामा विवेकशीलको नीति अगाडि बढ्ने विषय सुनिश्चित भएको छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ मंसिर १४ गते २०:४४

१४ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टी र रास्वपाको बीचमा आइतबार यस्तो एकता भयो, जहाँ कुनै शर्तहरू थिएनन् । एउटासँग विगतको वैकल्पिक विरासत थियो, अर्कोसँग वर्तमानको शक्ति र संख्या । एउटाले विगतमा साना-साना लो प्रोफाइलका अभियानहरूमार्फत नागरिकको मन जित्दै थियो, अर्कोले त्यसैको बलमा ०७९ चुनावको मत । एउटासँग पहिल्यै स्थापित नीति थियो, अर्कोसँग मतदाताले मानिसकेको नेतृत्व ।

त्यही विरासतको ताकतमा विवेकशीलले रास्वपासँग एकता गर्दैगर्दा आलोचकहरूले भने निको मानेनन् । तीमध्ये कतिपयले पर्याप्त गृहकार्य अनि शक्ति सम्झौताबेगर नै रास्वपासँग समर्पित हुन गएको कटाक्ष विवेकशील माथि गरिरहेका छन् । तर यसको पृष्ठभूमि भने अलिकति फरक छ ।

आइतबारको यो दृश्यतर्फ याद गरौं । राष्ट्रिय सभागृह हलमा डा.तोसिमा कार्की स्वागत मन्तव्य राख्दै थिइन् । हतार–हतार हलतर्फ लम्किँदै थिए– महेन्द्र पाण्डे ।

पत्रकारहरूले माइक तेर्साए– ‘एकै छिन रोकिउँ है ।’ दुई सिँढी माथि टेक्न अगाडि बढाएको गोडा तलै राखेर पाण्डे बोल्न तयार भइहाले ।

उनी कर्णाली अदानचुलीबाट रास्वपा– विवेकशील एकता घोषणा सभामा सहभागी हुन आएका रहेका छन् । प्रश्न सिधा थियो– दुई पार्टीबीच एकता किन ?

जवाफमा पाण्डे धाराप्रवाह सुनिए । नेपालको राजनीतिक इतिहास, खास–खास समयमा भएको परिवर्तन र वर्तमान नेपाली समाजले चाहेको राजनीति के हो ? एक प्रश्नमा अनेक जवाफ पाण्डेले दिए ।

मूल प्रश्नमा उनको जवाफ छ, ‘रास्वपामा विवेकशील अर्थात्, सचेतक नागरिक, सबै सचेत नागरिक वैकल्पिक शक्तिमा एकीकृत हुनुपर्छ र हुँदैछौं ।’

पाण्डेका अनुसार नेपालको राजनीतिक आन्दोलन जति व्यवस्था परिवर्तन गर्नमा सफल भएका छन् त्यति सुसंस्कृत समाज निर्माणमा सफल हुन सकेका छैनन् । यसकारण सचेत नागरिक आफैं संलग्न भएर राजनीतिलाई सभ्य बनाउनुपर्ने छ ।

उनी थप्छन्, ‘राजनीति फोहोरी खेल होइन, यो समाजको हित, राष्ट्रियता र अग्रगामी सोचसहितको मूल नीति तय गर्ने क्षेत्र हो । यही नै स्थापित गर्नुछ ।’

हल बाहिर कर्णालीका पाण्डे राजनीतिलाई सफा गर्न विवेकशील नागरिकहरू एक हुनपर्ने र यसका लागि वैकल्पिक शक्तिहरू मिल्ने अभियान अन्तर्गत दुई पार्टीबीच एकीकरण भएको तर्क गरिरहेका थिए ।

हलभित्र डा. तोसिमा कार्कीको भाषण पनि उस्तै थियो ।

डा. कार्की भन्दै थिइन्, ‘वैकल्पिक शक्तिहरूलाई छरिएर रहने छुट छैन । किनभने, पुराना राजनीतिक दलले अब नेपाली समाजको चाहना र युवा पुस्ताको भावनाअनुसार मुलुकको नेतृत्व गर्न सक्दैनन् ।’

नेतृ रञ्जु दर्शनाका अनुसार दुई पार्टीबीच नि:शर्त एकता भएको हो । त्यो भनेको के हो  ?

रञ्जु हामीसँग अर्थ लगाउँदै थिइन्– नि: शर्त भनेको मलाई यति शक्ति दिनुस्, मलाई यो पोजिसन दिनुस्, मलाई यति सिट दिनुस्, मलाई चुनावको टिकट पक्का गरिदिनुन् । मलाई यो चाहियो, यो आयोग चाहियो नभन्नु हो ।

कतिपयले विवेकशील साझालाई रास्वपामा विलय भएको पनि भनेका छन् । तर विवेकशीलका नेताहरू रास्वपामा मिल्दा आफ्नो नीतिअनुसार अघि बढ्ने सुनिश्चतता विलय हुँदै गर्दा रास्वपामा विवेकशीलको नीति अगाडि बढ्ने विषय सुनिश्चित भएको छ ।

रास्वपा र विवेकशील साझाबीच भएको ५ बुँदे सहमतिमा वैकल्पिक राजनीतिको प्रवर्धनमा स्व. उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने विषय समावेश छ ।

सहमतिमा रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् । विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारको हस्ताक्षर छ ।

सहमतिअनुसार महाधिवेशनसम्म विवेकशील साझाका नेताहरूलाई रास्वपाले संघीय नेतृत्व मञ्चमा मनोनित गर्नेछ । मञ्चका सदस्यहरूको वरियता केन्द्रीय समितिको सदस्य सरह हुनेछ ।

रास्वपा–विवेकशील एकता सभामा सहभागी अधिकांश नेता–कार्यकर्ताले उज्वल थापालाई सम्झिए । थापाले सुरु गरेको राजनीतिक अभियान अन्तर्गत नै रास्वपा समेत गठन हुन पुगेको र दुवैको उद्देश्य नेपालमा नयाँ राजनीतिक संस्कारसहितको बलियो पार्टी बनाउनु रहेको स्मरण गरे ।

थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष हुन् । उनी कुनै एउटा दलको संस्थापक अध्यक्ष भन्दा ज्यादा नेपालमा वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाउने पात्रका रुपमा चिनिन्छन् ।

सभागृह परिसरमा भेटिएका आशुतोष प्रधानका शब्दमा– उज्वल थापा नेपालको राजनीतिमा वैकल्पिक राजनीतिक धारकै संस्थापक हुन् । उनले हडताल बन्द नगरी पनि आफ्ना मत सशक्त रुपमा राख्न सकिन्छ भनेर अभियान चलाए । राजनीतिमा युवा उद्यमी, सामाजिक अभियन्ता, उत्प्रेरक सबै अटाउनुपर्ने र जिन्दगीभर राजनीति नगरेर पनि राज्यको नीति निर्माणमा योगदान गर्न सकिन्छ भन्ने आकांक्षा जगाउने काम गरे ।

आशुतोष भन्छन्, ‘मन केन्द्रित राजनीति उज्ज्वल थापाको नेतृत्वमा विवेकशीलले गर्‍यो । मत केन्द्रित राजनीति अब रास्वपाबाट अघि  बढ्छ ।’

नेपालका परम्परागत दल र पुराना नेताहरूको ‘सत्ता केन्द्रित’ राजनीति’को विरोध गर्दै विसं २०६९ मा थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भयोर चुनावमा भाग लिएको थियो । परिणाम आएन ।

रास्वपा भने अघिल्लो निर्वाचन भन्दा केही महिना अगाडि अर्थात्, ७ असार २०७९ मा स्थापना भएको पार्टी हो । पार्टी स्थापनाको केही महिना पछाडि नै भएको ४ मंसिर २०७९ को चुनावबाट रास्वपा संघीय संसद्मा चौथो शक्तिको रुपमा उदायो । सञ्चारकर्म छाडेर रास्वपा गठन गर्दै राजनीतिमा होमिएका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने । तथापि, राजनीतिक खेलमा भने पुराना पुस्ताका नेताहरू नै निर्णायक थिए ।

१७ असार २०८१ मा विघटित प्रतिनिधि सभामा रहेका सबैभन्दा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले बलियो सरकार बनाउने सहितको सात बुँदे समझदारी गरे । दुवै दलले साना दलहरू समेत समेटेर दुई तिहाइ बढी बहुमतको सरकार बनाए । तर, जनचाहना भन्दा ज्यादा दलको चाहना र प्राथमिकताअनुसार काम गरे । जसले नेपाली समाजमा रहेको निराशा थप बढायो र जेनजी युवाले २३ र २४ भदौमा आन्दोलन गरे ।

जेनजी आन्दोलनपछि राजनीतिक परिस्थिति नै बदलियो । बदलिएको राजनीतिक अवस्थामा आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । त्यसअगाडि राजनीतिक दलहरूमा ध्रुवीकरण देखा परेको छ । यही मेसोमा वैकल्पिक शक्तिहरू पनि एक हुनुपर्छ भनेर लागेका छन् र आइतबार रास्वपा र विवेकशील एक भएका हुन् ।

छाड्ने र छुट्नेहरू पनि छन्

रास्वपा र विवेकशील दुवै पार्टी एकतामा सरिक नहुने र दुवै पार्टी छाड्नेहरू पनि छन् । आइतबार पनि कतिपय नेताहरू एकता प्रक्रियामा सहभागी भएनन् । एक हुन – मिलन पाण्डे ।

रास्वपासँग एकता गरेर वैकल्पिक शक्ति निर्माण गर्न सकिन्न भन्ने लाग्यो ? अनलाइनखबरको प्रश्नमा पाण्डे जवाफ फर्काउँछन्– ‘उहाँहरू वैकल्पिक शक्ति बन्न सक्नुहोस् भन्ने शुभकामना दिएको छु ।’

पाण्डेका अनुसार उनी केही समय मौन रहनेछन र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछन् ।

‘अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’

वैकल्पिक शक्ति बन्ने उदेश्यसहित भएको एकतामा पाण्डे सहितका कतिपय नेताहरू समेत सरिक भएनन् । जसमा पूर्वअध्यक्ष सरोज भण्डारी, युजन राजभण्डारी, रमेश पौड्याल लगायत छन् ।

वैकल्पिक शक्तिहरू एक हुने रास्वपाले प्रयास गरिरहँदा यो पार्टी छाड्नेहरू पनि छन् ।

विघटित प्रतिनिधि सभामा रास्वपाको संसदीय दलका प्रमुख सचेतक रहेका सन्तोष परियार, प्रतिनिधि सभामा सांसद रहेकी सुमना श्रेष्ठ पार्टीबाट अलग भएका छन् ।

सन्तोष परियार समेतको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ । जसमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई छन् । नेपाली कम्युनिस्ट पार्टीमा भएको ध्रुवीकरणमा सरिक नभएका जनार्दन शर्मा, सुदन किराती, राम कार्की लगायत छन् ।

रास्वपा छाडेकी सुमना श्रेष्ठले भने राजनीतिक यात्रा कता हो तय गरिसकेकी छैनन् ।

तथापि, कतिपय नेताहरू रास्वपा– विवेकशील एकतालाई  वैकल्पिक शक्तिहरूबीच ध्रुवीकरणको सुरुवातको रुपमा लिन्छन् । अब कुलमान घिसिङ, बालेन शाह लगायतसँग सहर्कायको प्रयासले सार्थकता पाउने उनीहरूको विश्वास छ । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टी बनिसकेको छ । काठमाडौंका मेयर बालेन शाह भने पार्टी खोलेर अघि बढेका छैनन् ।

रास्वपाका नेता यज्ञमणि न्यौपाने कुलमानसँग एकता हुनेमा विश्वस्त छन् । उनी भन्छन्, ‘यो देशले एकपटक आदिवासी जनजातिको छोरोलाई प्रधानमन्त्री देख्न चाहेको छ । सभापति रवि लामिछाने र प्रधानमन्त्रीमा कुलमान घिसिङ आज नेपाली माटोको आवश्यकता हो । यो शर्तमा मिलन हुन्छ र हुनुपर्छ ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?