Comments Add Comment

अतिआवश्यक सडक मात्रै निर्माण गर्न मन्त्री बोहराको सुझाव

३०  पुस, डोटी  । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री पठानसिं बोहराले अति आवश्यक भएको ठाउँमा मात्रै नया सडक निर्माण गर्न स्थानीय तहलाई सुझाव दिएका छन ।

डोटी सायल गाउँपालिका-२ को वडबाटादेखि वडा नम्बर ३ को वडाकार्यालयसम्मको नवनिर्मित सडकको उद्घाटन गर्ने क्रममा मन्त्री बोहराले यस्तो सुझाव दिएका हुन । ‘अहिले जथाभावी सडक काटिएको भन्ने ब्यापक गुनासो आइरहेको छ,’ उनले भने, ‘वातावरणीय प्रभाव, प्राकृतिक प्रकोप र भूकम्पीय दृष्टिकोणले जथाभावी सडक काट्नु जोखिमपूर्ण हुन्छ ।’

उनले सडक बनाउने नाममा मेसिनको प्रयोग गरी डाँडा भत्काउनु राम्रो नभएको वताए । मन्त्री बोहराले विकासको मुल आधार सडक भएको बताउदै भने, ‘तर लाखौ रकम खर्च गरेर काटिएको सडकमा गाडी गुड्न नसक्ने हो भने त्यस्तो विकासको कुनै अर्थ हुन्न ।’

उनले प्राविधिक ईस्टिमेट र वातावरणीय प्रभाव मूल्याङ्कन गराएर मात्र सडक निर्माण गर्न सुझाब दिए । ‘सडक एकसरो खन्ने मात्र हैन, ती सडकको स्तरोन्नति गर्नु पनि आवश्यक छ र निर्माण भएका सडकहरु बार्‍है महिना चल्न सक्ने बनाउनु पर्छ,’ मन्त्री बोहराले भने, ‘यदि तपाईँहरूले निर्माण गरेका सडक दिगो हुन सकेन भने लगानी मात्रै खेर जान्छ ।’

मन्त्री बोहराले दुर्गम गाउँ बस्तीहरूको समग्र विकासका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले स्थानीय तहहरूले रोजगारी सिर्जना गर्ने र उत्पादनमुखी क्रियाकलापमा जोड दिन आग्रह गरे । ‘अब विकास भन्नाले सडक खन्ने, कुलो वनाउने, भवन वनाउने कुरालाई मात्रै बुझ्नु हुन्न,’ उनले भने, ‘सामाजिक चेतना परिवर्तन र उत्पादनमुखी क्रियाकलापलाई पनि विकास मान्नु जरुरी छ ।’ मन्त्री बोहराले प्रत्येक नागरिक सुखी भएपछि मात्रै नेपाल समृद्ध हुने वताए ।

उनले गाउँमा उत्पादन बढाउनु पर्ने र त्यो उत्पादनलाई ढुवानी गर्न सडकको प्रयोग गर्नेतर्फ स्थानीयबासीहरु समेत सक्रिय हनुनु पर्ने बताए ।

मन्त्री बोहराले दिपायल-मेल्लेख-पातीहाल्ने सडकको स्तरोन्नतिको काम प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत वताए । उनले भने, ‘यो सडकको स्तरोन्नति गर्नु जरुरी छ भन्ने मैले सोचेको छु, हामी गर्छौं ।’

कार्यक्रममा सायल गाऊपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले गाऊपालिकाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले गाउँपालिकाले आफ्नो लगानीबाट निर्माण गरेका सडकहरुलाई बार्‍है महिना चलाउन मिल्ने गरी स्तरोन्नतिको प्रयास गरिरहेको समेत जानकारी दिए ।

२०६४ सालदेखि निर्माण कार्य सुरू भएको उक्त सडकको लम्बाई ३.५ किमी रहेको सायल गाउपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष गोरखवहादुर सार्कीले जानकारी दिए ।

उद्घाटन कार्यक्रमका प्रदेश सभा सदस्य अर्चना गहतराजको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment