Comments Add Comment

व्यवसाय छोडेर परदेशिएकाहरुको योजना : नेपाल फर्किएर व्यबसाय गर्छौ

युएई / बागमती गाउँपालिका मकवानपुरका प्रयासराज खनाल युएई आउनुअघि नेपालमा तरकारी खेती गर्थे ।

तीनवर्ष मलेसिया बसेर कमाएको सीप र पैसालाई उनले कृषिमा लगानी गरे । डेढ लाख रुपैयाँ लगानी गरेर तरकारी खेती सुरु गर्दा उनलाई कुनै मेसो थिएन । तर, परम्परागत खेतीबाट पनि उब्जनी राम्रो भयो ।

उत्पादन भएको तरकारी बजारमा लैजाने समयमा उचित मूल्य पाउन भने समस्या थियो ।

पहिलो वर्षको खेतीको अनुभवबाट उनले अर्कोवर्ष पनि त्यहीँ व्यवसाय गरे।तर दोस्रोवर्ष पनि समस्या बजार व्यवस्थापन र मूल्यकै भयो । लगानी सबै डुब्यो । यो व्यवसायबाट उनी विरक्तिए । त्यसपछि विकल्प रोजे पुनः परदेशको ।

खनाल युएई आएको अढाई वर्ष भयो । अहिले उनी दुबईको एक चारतारे होटलमा काम गर्छन् ।

अहिलेको कमाइ राम्रो छ । यहाँको कमाइमा उनी सन्तुष्ट छन् । तर, नेपालमा केही इलम गर्ने उनको योजना अझै छ । खनाल थप्छन्, ‘लामो समय विदेश बस्न पटक्कै मन छैन । यहाँको सीप र पैसालाई अब व्यवस्थित तरिकाले नेपालमा सदुपयोग गर्ने योजना हो ।’

यस्त,ै पाल्पा रामपुरका बासु उचाइ तीन वर्ष कतार बसेर बंगुर पाल्ने योजना लिएर नेपाल फर्किएका थिए ।

मासुको बजारिकरणका लागि उनले थुप्रै बजार चाहारे । तर, सोचे अनुसारको काम गर्न सकेनन् । उनलाई पनि मुख्य समस्या बजारको थियो । मासु उत्पादन पश्चात बजार नपाइने बुझेपछि त्यो व्यवसायमै हात हालेनन् । र, फेरि विदेशिने निर्णय लिए ।

बासु युएईमा अहिले कार्यरत छन् । तीनवर्षसम्म मात्र यहाँ बस्ने उनको योजना छ । त्यसपछि पहिले सोचेको व्यवसाय गर्ने लक्ष्य राखेका छन् । भन्छन्, ‘तीनवर्ष भित्रमा नगरपालिकामा जनसंख्या बढ्नेछ। बजार पनि थपिनेछ। त्यसले सहजता हुन्छ ।’

एकवर्ष अघिसम्म देशमा राजनीतिक अस्थिरताको कारण देखाएर व्यवसायमा लगानी गर्न डराउने थुप्रै थिए । तर, अहिले परिस्थिति फरक छ । देशले पाँचवर्षका लागि स्थिर सरकार पाएको छ। अब भने परदेशमा गर्ने दःुख नेपालमै गर्नपर्छ भन्ने सोचाइ छ दुवईमा कार्यरत ताप्लेजुङकी सोनी भण्डारीको ।

काठमाण्डौँमा बसेर प्रेसमा काम गर्दागर्दै उनी युएई आएकी थिइन् । राजनीतिक समस्याका कारण ६ वर्षअघि देश छोडेर रोजगारीका लागि परदेशिएकी भण्डारीलाई अब भने स्वदेशमै केही गर्ने इच्छा पलाएको छ ।

नेपाल फकिएपछि होटल र पर्यटन व्यवसायमा लगानी गर्ने उनको संकल्प छ । सरकारले यातायात र सुरक्षाको प्रत्याभूति दिलाउन सके प्रवासमा रहेका नेपालीले देशमै ढुक्कले व्यवसाय गर्न सक्ने उनको बुझाइ छ ।

यस्तै, केराबारी गाँउपालिका ७ मोरङ्गका प्रेम गौतमले तीनवर्ष मलेसिया र केही समय इराकमा बसेर कमाएको पैसा कुखुरापालन र अर्गानिक खेतीमा लगानी गरे ।

आफ्नो कमाइखाने जग्ग्ाा नभएपछि धरानका दूईजना साथीसँग मिलेर लिजमा जग्ग्ाा लिइ अर्गानिक खेती सुरु गरेका थिए । सामुहिक लगानी गरेर व्यवसायलाई अघि बढाउने विश्वास थियो । तर, त्यसका लागि उनलाई भनेजस्तो साथ मिलेन ।

साथीहरु कोरिया जाने निर्णयमा पुगेपछि उनी एक्लै भए । सरकारीले कृषिका लागि सहुलियत ऋण दिन्छ भन्ने सुनेर दुईतीन पटक सरकारी कार्यालय धाए । तर, उनलाई त्यहाँबाट सहयोग मिलेन ।

प्रेम एक्लो छोरो हुन् । आमाको स्वास्थ्यमा समस्या देखिन थालेपछि उनमा थप जिम्मेवारी थपियो । त्यसकारण उनले नेपालमा व्यवसायलाई अघि बढाउन सकेनन् । त्यसपछि वैदेशिक रोजगारका लागि युएई रोजे ।

आठ वर्षदेखि युएईमा कार्यरत गौतम अहिले स्टोर किपरको काम गर्छन् । यहाँ काम गरिरहेतापनि उनको ध्यान नेपालमै पौरख गर्नेमा छ । भन्छन्, ‘अब दुईवर्ष यहाँ श्रम गर्छु । त्यसपछि नेपाल फर्किएर उन्नत जातको बाख्रा र लोकल जातको कुखुरा पाल्ने योजना छ ।’ यसका लागि उनले सरकारबाट समेत सहयोगको अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment