Comments Add Comment

ट्याक्सीभन्दा सुरक्षित छ टुटल

हामीलाई २०४९ मा बनेको यातायात व्यवस्था ऐनमा टेकेर कारबाही गर्ने भनिँदैछ । २०४६ पछि देश कहाँबाट कहाँ पुग्यो, विश्वले प्रविधिमा कसरी फड्को मार्‍यो ? यो सबै अब हामीले सरकारलाई सम्झाउनुपर्ने हो र ?

नेपालमा  संवैधानिक राजतन्त्र खारेज भएर गणतन्त्र पनि आइसक्यो । अब पनि हामी त्यही कानुन हेरेर त्यसअनुसार किन भएन भनिरहेका छौं ।

हो, कसैलाई हानी पुर्‍याएको कुरा भए त्यो जुनसुकै बेलामा पनि अवैध हुन सक्छ । तर, हजारौंलाई फाइदा पुर्‍याइरहेको सेवालाई अवैध भनिदिँदा हामी जस्ता देशभित्रै केही गर्छौं भनेर बसेका युवालाई पक्कै चित्त दुख्छ ।

यो ऐन आउँदा इन्टरनेटको जमाना नै शुरु भएको थिएन । अब हामीले नयाँ प्रयोग गर्‍यौं, प्रविधिको विकास हुँदै जाँदा त्यसलाई सहजिकरण गर्नेगरी कानुनहरु बन्नुपर्छ, परिमार्जन हुनुपर्छ । सरकारले प्रविधिको मर्मलाई बुझेर त्यसअनुरुपको नीति र नियम ल्याएन भने आविष्कार, उद्यम विस्तारै मर्दै जान्छ । हामी अहिले रोजगारी सिर्जनामा योगदान दिइरहेका छौं । पब्लिकले यसलाई रुचाएका छन् । हामीसँग १० हजार जना त्यसै आवद्ध हुनु भएको हो र ?

हाम्रो एप्स प्रयोग गर्न कसैलाई बाध्यता छैन । जसलाई सुविधा लिन मन छ, उही हाम्रो युजर हो । कलेज पढ्ने युवादेखि बुढ्यौली उमेरसम्मका मान्छे प्रयोगकर्ता हुनुहुन्छ ।

हाम्रो एप मध्यमवर्गीय परिवारका लागि निकै उपयोगी भएको छ । कसैले ५ वटा राइडिङ दिएर मोटरसाइकलको पेट्रोल खर्च उठाउनुभएको छ । खाडीबाट फर्किएका कतिपयले यसैलाई बाँच्ने आधार बनाउनुभएको छ । खुसी–खुसी सेवा लिने र दिने भइरहेको छ । प्रयोगकर्तालाई कुनै समस्या छैन भने कसलाई के समस्या परेर यो विषय आउँदैछ, हामी अचम्ममा परेका छौं ।

सरकारले यसमा हामीलाई सहजीकरण गर्नुपथ्र्यो । भारतमा हेर्नुस् त, उद्यमशीलतालाई कति प्राथमिकता दिइएको छ । आविष्कारलाई कति प्रोत्साहन गरिएको छ । यस्तोमा आउने लगानीलाई १५ दिनभित्र भित्र्याउन सकिने गरी कानूनी व्यवस्था त्यहाँ मिलाइएको छ । स्टार्ट अप बिजनेसको अनुसन्धान र विकासमा सरकारले नै लगानी गर्दैछ ।

यहाँ त सबैथोक हामी आफैं गरिरहेका छौं । सरकारले उठाएको वैधानिकताको प्रश्न आज टुटलको हकमा मात्र उठेको हैन, देशभित्र केही नयाँ काम गरेर बस्न र बाँच्ने चाहना भएका युवामाथि उठेको हो । म पनि सरकारलाई प्रश्न गर्न चाहन्छु । युवालाई समृद्धिका लागि खम्बा बनाउने कि अझै कमजोर बनाएर विदेशतिरै धकेल्ने ? मलाई विश्वास छ, सरकारले प्रविधिलाई पछ्याएर नीतिहरु लिन्छ । यहाँ केही गर्न चाहनेलाई हात हल्लाएर त्यसै बिदा गर्दैन ।

टुटलका सेवाका समबन्धमा उठेका केही प्रश्नहरु पनि छन् । यसले ट्याक्सीको बिजनेस खोसेको छ भन्ने सुन्छु । कोही भ्रममा नपर्नुस्, हामी कसैको विजनेस खोस्न आएका हैनौं । हामी ट्याक्सीको प्रतिपर्धी पनि हैनौं । हो, ट्याक्सीको सेवामा पारदर्शीता छैन । एकै ठाउँबाट एउटै गन्तब्यमा पुग्नेहरुले फरक–फरक शुल्क तिर्नुपर्छ । हामी त पारदर्शी भएर शुल्क लिइरहेका छौं । ट्याक्सीको सट्टा टुटलमा किन आउनुभयो भनेर ग्राहकलाई सोध्दा यो कुरा थाहा भइहाल्छ ।

काठमाडौंको सार्वजनिक यातायात सेवा भद्रगोल छ । ट्याक्सीमा ठगीको गुनासो छ । बस र माइक्रोमा अत्यधिक भिडभाड हुन्छ । खुट्टा टेक्ने ठाउँ पाउन मुश्किल पर्छ । चढेपछि त्यहाँ अनेकन सास्ती खेप्नुपर्छ । सार्वजनिक यातायात सेवामा माग र आपूर्तिको सिलसिला मिलेको छैन । यसलाई टुटलले थोरै भए पनि राहत दिएको छ ।

सरकारले मोनोरेल, मेट्रोरेल चलाएको भए सायद हामी यो मार्केटमा हुन्थ्यौं कि हुन्नथ्यौं । ट्याक्सीको व्यवसाय पनि यति आकर्षक हुन्थ्यो कि हुन्थेन । जे होस्, यातायात पूर्वाधारमा सरकारको लगानी कमजोर हुँदा आजको अव्यवस्था आएको हो । अब यसमा हामी केही योगदान दिन्छौं भनेर आएका हौं ।

टुटलमा आवद्ध मोटरसाइकलको सुरक्षाको प्रश्न पनि छन् । हामीले बुझ्नपर्ने कुरा के हो भने मोटरसाइकल आफैंमा सबैभन्दा असुरक्षित सवारी साधन हो । अब एपकै प्रयोग गरेर त्यो सुरक्षित हुन सक्ने पनि हैन ।

तर, हामीसँग आवद्ध बाइकको तेस्रो पक्ष बिमा हुन्छ । त्यसबाटै दुर्घटनामा घाइतेको उपचार कभर हुन्छ । टुटल प्रयोग गरेका कारण कुनै बाइक दुर्घटनामा पर्ने भन्ने त होइन होेला । यसमा हुने जोखिमको व्यवस्थापन हुन्छ । अब बाइक बढी दुर्घटना हुन्छ भनेर तर्क गर्ने हो भने सरकारले आयात किन नरोकेको भनेर प्रश्न गर्न मिल्ने कि नमिल्ने ?

बिडम्बना भनौं, अहिले निजी सवारीले भाडा उठाएको भनिँदैछ । हो, भाडा उठाएर कसैले आफ्नो खर्च व्यवस्थापन गरेका छन् । सेवा दिएर अरुलाई खुसी बनाएर लिएको पैसा हो, त्यो कसैको लुटेर कमाएको त हैन । तर, हामी नेपालीको बानी के भने अरुले गरेको देख्नै नसक्ने । उसले कमाएर बाइकमा पेट्रोल हालिराछ, आफ्नो खाजा खर्च चलाइरहेको छ भने किन रिस गर्नुपर्‍यो ?

बाइक त टुटल एप नचलाउँदा पनि त चलिरहेकै हो । अब त्यसमा खाली भएको सिटमा यात्रु हालेर पेट्रोलको खर्च उठाउँछु भन्दा किन प्रश्न उठाइँदैछ भनेर हामी अचम्मित छौं । यहाँ सन्दीप लामिछानेले विकेट लिएको चर्चा हुन हुन्छ, मिस नेपालले विदेशमा एउटा इभेन्टमा प्रतिस्पर्धा गरेको चर्चाहुन्छ । तर, हामी देशभित्रै केही गरौं न भनेर लागेकालाई चाहीं कसरी हुन्छ खेद्ने किन गर्छौं ?

हामीसँग प्रत्येक प्रयोगकर्ताको विस्तृत विवरण छ । कुन नम्बरको बाइकले कहाँ यात्रु उठायो, कहाँ ओराल्यो भन्ने सबै अनलाइन ट्रयाकिङ छ । यदि कसैमाथि दुव्र्यव्यहार र आपराधिक गतिविधि भयो भने तुरुन्तै कम्प्लेन गर्न मिल्ने सिस्टम हामीसँग छ । हामी तुरुन्तै त्यो बाइकवाला वा यात्रुलाई समात्न सक्छौं । यस्तो व्यवस्था कुनै ट्याक्सीमा छ ?

यति भनिसकेपछि पनि टुटल अवैधानिक भएको तर्क हुन्छ भने हामी हार मान्नेवाला छैनौं । डिजिटल नेपालको नारा लिएर अघि बढेको सरकार यत्ति कुरा बुझ्न नसक्ने जस्तो हामीलाई लाग्दैन ।

सरकारले हामीलाई वैधानिकता दिने मात्रै हैन, आवश्यक सहयोग पनि गर्छ भन्ने हामो अपेक्षा हो । हामी त यो विजनेस लिएर ‘नेपालको स्टार्टअप’ भन्दै विदेशसम्म पुग्न चाहन्छौं ।

यो पाइला सानातिना ठेस लाग्दैमा अल्झिँदैन । किनभने हामी अरुले भन्ने जस्तो ‘यो सतिले सरापेको देश’ भन्दैनौं । यो हामी मान्छेले बिगारेको देश हो । बनाउने जिम्मेवारी पनि हाम्रै हो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment