Comments Add Comment

रहरले होइन, ‘लक’ले हिरो बनेका धिरेन

मिलेको जिउडाँल, मान्छेलाई लोभ्याउने लुक्स, हेर्दा नै गज्जबको व्यक्तित्व । नायक धिरेन शाक्यलाई धेरै शब्दमा बयान गरिरहनुपर्दैन । केही सफल चलचित्रमा काम गरेका नायक धिरेन शाक्यलाई सुरुवाती दिनमा चलचित्र क्षेत्रसँग खासै रुची थिएन । बाल्यकालमा निकै चञ्चले स्वभावका धिरेन साथीको लै–लैमा लागेर जे पनि गर्न तयार थिए । उनी साथीको लै–लैमा लागेर व्रिटिस आर्मीमा भर्ती हुन समेत पुगेका थिए ।

कुरा, २०४६ साल तिरको हो । सात कक्षामा पढ्दै गर्दाको कलिलो उमेरमा नै धिरेन साथीहरुको लै–लैमा लागेर व्रिटिस आर्मीमा भर्ती हुन गए । उमेर कम भएपछि उनले आफ्नो उमेर पनि बढाए । तर, न साथीको गफै गफले उनलाई व्रिटिस आर्मी बनायो, न बढाएको उमरेले नै । उनी डेढ महिना पनि व्रिटिस आर्मीमा टिक्न सकेनन् । धिरेनलाई आर्मी जीवन सहज नलागेपछि उनी त्यहाँबाट भागेका थिए ।

आर्मीको जागिर छोडेर भागेका धिरेन आफ्नो जन्मघर पाल्पा फर्किए । सानैदेखि सुगठित शरीर भएका धिरेनलाई स्थानिय युवाहरुले बनाउन लागेको भिडियो चलचित्र ‘प्रतिक’मा काम गर्ने अवसर मिल्यो । ‘प्रतिक’मा काम गरेपछि उनले ’विवश’ नामक फिचर चलचित्रमा काम गरे । ‘विवश’ चलचित्रका लागि उनले ८ महिना बढी अभिनय र नृत्य सिकेका थिए । तर, पछि आन्तरिक कुराहरु नमिलेपछि उनले ‘विवश’ नामक चलचित्रमा काम गरेनन् ।

‘पहिलो प्रेम’ले नै व्यस्त गराइदियो
वि.सं २०४९–५० साल तिर धिरेनलाई चेतन कार्कीको चलचित्र ‘पहिलो प्रेम’बाट अफर आयो । उनले त्यस चलचित्रमा काम गरे । यस चलचित्रमा उनले गरेको काम निकै रुचाइयो । उनी पहिलो चलचित्रबाट नै रोजाईमा परे । धिरेन संझन्छन्–‘चेतन कार्कीको चलचित्रमा काम गर्न पाउँनु नै ठुलो कुरा थियो । त्यसमाथि चलचित्रमा धेरै चिनिएका कलाकार हुनुहुन्थ्यो । तर, दर्शकले मलाई पनि रुचाउनुभयो ।’

‘पहिलो प्रेम’ पश्चात् उनले लगातार चलचित्रमा काम पाइरहे । उनको व्यस्तता बढ्दै गयो । जब उनले ‘कर्जा, भिष्म प्रतिज्ञा, जन्म जन्म, सिमाना’ जस्ता सफल चलचित्रमा काम गरे, त्यसपश्चात् चलचित्र क्षेत्रमा धिरेन शाक्यको दबदबा बनेको थियो । ‘मैले मेरो करियरमा कहिल्यै फर्केर हेर्नु परेन ।’ धिरेन खुशी हुँदै भन्छन् । धिरेनले दिनमा ३ वटासम्म चलचित्रमा काम गरेका छन् । दिनभर सुटिङ गरेर रातीको समय डबिङ गर्नमा व्यस्त हुन्थे धिरेन । ‘त्यो समय निकै कम चलचित्र निर्माण हुन्थे’, उनी भन्छन्, ‘तर पनि म त्यो समय दिनभर २–३ चलचित्रको सुटिङ गरेर राती डबिङमा पुग्थेँ ।’

भाग्यले दियो साथ
चलचित्र क्षेत्रमा आउने सोच नभएका धिरेनलाई सुरुवाती दिनबाट नै दर्शकले चिन्न थाले । निर्माता–निर्देशक पनि उनलाई आफ्नो चलचित्रमा अभिनय गराउनका लागि जे पनि गर्न तयार हुन्थे । उनको क्रेज दर्शकमाझ पनि खुबै देखिन थाल्यो । उनको नाम नेपाली चलचित्र क्षेत्रमा स्थापित बन्न पुग्यो ।

धिरेन आफूले यो सफलता पाउनुको पछाडि भाग्यको कुरा भएको बताउँछन् । उनी भन्छन्–‘सुरुमा त चलचित्र क्षेत्रमा कुनै रुची नभएको मान्छेले चलचित्र खेलेँ । अर्कोतिर, चलचित्र खेलेर यत्तिको सफलता पाउँछु भन्ने त कहिल्यै दिमागमा थिएन । यो सब लकले साथ दिएर हो ।’ धिरेन लकमा पूर्ण विश्वास गर्छन् । उनले भाग्यकै कारण आफूले राम्रो चलचित्रमा काम गर्ने अवसर पाएको बताए ।

एक्सन सजिलो
सुगठित शरीरलाई एक्सनप्रधान चलचित्रबाट अफर धेरै आएको थियो । एक्सन चलचित्रबाट धेरैं अफर आएपछि उनले त्यसलाई मनन गर्दै मार्सल आर्ट पनि सिके । उनी भन्छन्–‘मलाई निर्माता र दर्शकले एक्सन चलचित्रमा नै रुचाउनुभएको छ भने मैले किन नगर्ने भन्ने लाग्यो । यसैले, मैले एक्सनमा बढी ध्यान दिएँ ।’ उनले आफूलाई एक्सन दृश्यमा काम गर्न सहज हुने गरेको सुनाए । ‘मार्सल आर्ट सिकेपछि त मलाई अन्य दृश्य गर्नुभन्दा पनि एक्सन गर्न एकदमै सजिलो भयो’, उनी थप्छन्–‘एक्सन डिरेक्टर पनि मलाई काम गराउन सजिलो हुने बताउनुहुन्थ्यो ।’

राजेश हमालसँगको विवाद
नायक धिरेन शाक्यको एउटा बयानका कारण अहिले पनि नायक राजेश हमालका फ्यानले उनलाई खासै रुचाउँदैनन् । नायक धिरेन शाक्यले एक अन्र्तवार्तामा सुपरस्टार नायक राजेश हमाललाई चिन्दिन भनेका थिए । चलचित्र क्षेत्रमा नै एकलौटी राज गरिरहेका राजेश हमाललाई चिन्दिन भन्दा धेरैले धिरेनमा घमण्ड बढेको प्रतिक्रिया दिए । यसकारण, उनले चर्को आलोचना पनि खेप्नुपर्यो ।

तर, धिरेन आफूले त्यस्तो नभनेको बताउँछन् । उनी भन्छन्–‘मैले राजेश हमाललाई चिन्दिन भनेको थिइनँ । चलचित्र प्रचारको लागि उक्त कुरा फण्डाका लागि मात्र तयार गरिएको थियो ।’ तर, चलचित्रको प्रचारका लागि अपनाइएको फण्डा नै धिरेनका लागि गलत साबित भयो । राजेश र धिरेनले ३–४ वटा हिट चलचित्रमा पनि काम गरेका थिए ।

भिडियोमा पनि व्यस्त
धिरेन शाक्यलाई दर्शकले चलचित्रको पर्दामा मात्र हेरेनन् । उनलाई दर्शकले लोकगीतदेखि आधुनिक गीतसम्मको भिडियोमा पनि देख्न पाएका छन् । गाउँ घरमा त उनलाई लोक दोहोरी गीतको मोडल भनेर चिन्नेहरुको जमात पनि राम्रै छ । गाउँतिर उनलाई चलचित्रको ‘हिरो’ भन्दा पनि म्युजिक भिडियोको मोडल भनेर धेरैले चिन्ने गरेको उनी पनि स्विकार गर्छन् । धिरेन भन्छन्–‘जे होस्, चलचित्र हेर्नुभएका दर्शकले ‘हिरो’ भनेर चिन्नुहुन्छ । म्युजिक भिडियो हेर्नुभएका दशर्कले मोडल । आखिर जताबाट पनि मलाई नै त चिन्नुभएको छ नि हैन ?’

चलचित्रमा सफल भइरहँदा नै उनी म्युजिक भिडियोमा पनि अभिनय गर्थे । ‘आखिर चलचित्र भएपनि वा म्युजिक भिडियो भएपनि गर्ने त अभिनय नै हो । त्यसैले समय हुँदा भिडियोबाट आएको अफर पनि मैले स्विकार गरेँ, धिरेनले भने । म्यूजिक भिडियोमा काम गर्दा पनि धिरेनमा उस्तै रमाइलो लाग्थ्यो । उनी भन्छन्–‘भिडियो र चलचित्र हेर्ने जमात फरक छ । जसरी हुन्छ दर्शकले चिन्नुपर्यो । विधा फरक भएर केही हुँदैन ।’

चलचित्रमा काम गर्न कम्पनी सुरु
नेपालमा द्वन्द्वकाल सुरु भएपश्चात् चलचित्रको निर्माण काम रोकियो । निकै कम मात्रामा चलचित्रहरु निर्माण हुन्थे । निर्माण भएका चलचित्रहरुले पनि खासै दर्शक पाउने अवस्था थिएन । यो अवस्था आएपछि धिरेनले चलचित्र क्षेत्रसँग सम्बन्धित रहेर काम गर्नका लागि ’जस्मिन फिल्मस्’ नामक कम्पनी खोले । धिरेन संझन्छन्–‘चलचित्र निर्माणको क्रम कम भएपछि म कम्पनी खोल्नतर्फ व्यस्त भएँ । ’ यो कम्पनीले चलचित्र निर्माणका लागि चाहिने प्रविधिक उपकरणहरु भाडामा उपलब्ध गराउँदै आएको छ ।

कम्पनी सुरु गरेपश्चात् उनी चलचित्रको पर्दामा खासै देखिएनन् । उनी म्युजिक भिडियोमा भने व्यस्त बनिरहे । उनी भन्छन्–‘कम्पनी खोलेपश्चात् कम्पनीमा समय दिनुपर्ने भयो । त्यसैले फिचर चलचित्रमा काम गर्ने समय नै मिलेन । छोटो समय हुदा म्युजिक भिडियोमा भने काम गरिरहेँ ।’

क्रेज घट्यो कि उस्तै ?
चलचित्र क्षेत्रमा सधै नै एउटै कलाकारको दबदबा रहँदैन । अहिले धिरेन शाक्यलाई लिएर निर्माताले चलचित्र बनाउने रुची देखाएका छैनन् । तर, उनले चरित्र अभिनेताको रुपमा भने काम गरिरहेका छन् । उनलाई सोलो हिरोको रुपमा दर्शकले हेर्न नपाएको धेरै भयो । उनी आफ्नो उमेरले पनि लिड हिरो बन्न नसुहाउने बताउँछन् ।

‘अहिले चलचित्रमा यति धेरै चकलेटी यूवाहरुको आगमन भैसकेको छ कि, मैले लिड क्यारेक्टर पाउने चान्स नै भएन नि’, हाँस्दै धिरेनले भने । धिरेनले यो वर्ष तीनवटा चलचित्रमा काम गरिरहेका छन् । धिरेन भन्छन्–‘चलचित्रको अफर भने आइरहेको हुन्छ । तर छानेर सिमित मात्र चलचित्रमा काम गर्ने मनशायले कमै चलचित्रमा काम गरेको छु ।’ उनले ‘यात्रा’ नामक चलचित्रको छायांन सकाएका छन् भने अन्य दुई चलचित्रको छायांकनको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment