Comments Add Comment

कृतिमाथि फिल्म : कहाँ चुक्छन् नेपाली निर्देशक ?

युवा पुस्ताको मन जित्न सफल सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म चाँडै प्रदर्शनमा आउँदैछ । उपन्यास पढ्दै जाँदा पाठकको मगजमा जुन किसिमको तरंग पैदा हुन्छ, चलचित्र ‘समर लभ’ हेरिरहँदा त्यस्तै होला त ?

उत्सुकता मेट्न माघ अन्तिम सातासम्म कुर्नुपर्नेछ । तर, युवापुस्ताले औधी रुचाएको उपन्यासको फिल्मी रुपान्तरणले दर्शकको चित्त बुझाउन पक्कै सहज भने छैन । विगतका दृष्टान्तहरुले यो शंसय गर्ने ठाउँ छाडिदिएको छ ।

नेपाली चलचित्रको अनेक कालखण्डमा थुप्रै उपन्यास/कथालाई दृश्यभाषामा बदल्ने यत्न गरियो, जसमध्ये धेरै दर्शकबाट अस्विकृत भए । ‘परालको आगो’, ‘बासुदेव’, ‘नुमाफुङ’, ‘झोला’ लगायतलाई बिर्सने हो भने लगभग निराशा हात पर्छ ।

अहिले होइन, नेपाली चलचित्रको सुरुवाती चरणमै लेखक केशवराज पिंडालीले ‘आफ्नो कृतिको एक अंश पनि न्याय नभएको’ भन्दै दुखेसो गरेका थिए । उनको उपन्यास ‘अन्तदेखि सुरु’ लाई फिल्मीकरण गरेर ‘जीवनरेखा’ बनाइएको थियो । तर, उपन्यासकारले जुन भावमा कथानक रचना गरेका थिए, निर्देशकले दृश्यभाषामा त्यो गहिराई स्पर्श गर्न सकेनन् । नतिजा, कृतिको फिल्मीकरणले लेखकलाई सन्तुष्ट बनाउन सकेन ।

कृति तयार गरिरहँदा त्यसका लेखकले आफ्नो विराट कल्पनाशीलतालाई यसरी अक्षरमा खोपेका हुन्छन्, जसलाई पढ्दा पाठकको मतिष्कमा बेग्लै संसार र दृश्यहरुको निर्माण हुन्छ ।

पारिजातको ‘शिरिषको फूल’ वीपी कोइरालाको ‘तीन घुम्ती’, डायमण्ड शमशेरको ‘सेतो बाघ’ जस्ता अनेक कृति छन्, जसलाई पढेर एउटा सिंगो पुस्ता हुर्किएको छ । त्यसको ह्याङओभरबाट अझै पनि उनीहरु मुक्त छैनन् ।

आजको डिजिटल युगमा पनि यस्ता सर्वकालिन कृतिको प्रभाव छ । त्यसैले यस्ता कृतिमाथि चलचित्र बनाउनु चानचुने जोखिम होइन । तर, हाम्रा हिम्मतवाला फिल्ममेकर्सले यो जोखिमलाई केवल अवसरको रुपमा बुझ्दै आए । तर, यसको संवेदनशीलता, जटिलता र जोखिममा घोत्लिएनन् । त्यही कारण कृतिमाथि बनेका अधिकांश चलचित्र वामपुड्का देखिए ।

दौलतविक्रम विष्ट लिखित ‘बादल फेरि फाट्छ’ को फिल्मी रुप ‘सिन्दूर’ बन्यो । लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ’ लाई चलचित्र ‘बसाइँ’ मा उतारियो । ‘सेतो बाघ’, ‘प्रेमपिन्ड’, ‘मसान’, ‘वासुदेव’, ‘शिरिषको फूल’ जस्ता थुप्रै चलचित्र सफल कृतिमा आधारित थिए । तर, सबै चलचित्रले कृतिको मर्मलाई आत्मसात गरेकोमा न लेखक आश्वस्त भए न दर्शक ।

कृतिको दृश्यभाषा किन फिका ?

‘कोपिला’ नामक चलचित्रको घोषणा भएको महिना दिन बित्न नपाउँदै छायांकन सम्पन्न भएको खबर आयो । यो खबर आउनु अनौठो थिएन, यदि त्यसमा ‘निर्मला पन्तको जीवनमा आधारित’ नभनिएको भए ।

निर्मला पन्त हत्याकाण्ड जस्तो जटिल, संवेदनशिल र रहस्य सुल्झनै बाँकी घटनालाई एक महिनामै फिल्मीकरण गर्न ‘अलौकिक खुबी’ नै चाहिन्छ ।

राज्य संयन्त्रलाई नै हल्लाएको यो घटनामाथि चलचित्र बनाउनुअघि कति खोज-अनुसन्धान हुनुपथ्र्यो ? त्यसतर्फ नजाऔं । तर, यस्तै हचुवा शैली कृतिमाथि चलचित्र बनाउने प्रवृत्तिमा पनि हुबहु लागू हुन्छ भन्न मात्र यो प्रसंग जोडिएको हो ।

अक्सर त्यस्ता कृतिमाथि चलचित्र बनाइन्छ, जसले एउटा ठूलो जमात पाठकलाई आफ्नो कब्जामा राखेको छ । यसो भनौं, ‘बेस्ट सेलर’ भनिएका कृतिलाई फिल्मीकरण गरिन्छ । यसमा केही स्वार्थ र अर्थ जोडिएको हुन्छ ।

पहिलो, चर्चित कृतिलाई अक्षरको रुपमा मात्र होइन, दृश्यभाषाको रुपमा पेश गर्ने ।

दोस्रो, कृतिको ख्यातीलाई व्यवसायीकरण गर्ने ।

तेस्रो, कथा एवं स्क्रिप्टको बलियो धरातल खोज्ने ।

चौथो, पब्लिसिटी स्टन्ट बलियो बनाउने ।

आवरणमा हेर्दा कृतिलाई फिल्मीकरण गर्नु सहज र रक्षात्मक देखिन्छ । तर, कुनै कृतिको कथानक मर्म, भावलाई दुरुस्तै वा अझ रचनात्मक ढंगले दृश्यभाषामा उतार्नु खेलाँची विषय होइन । किनभने एउटा कृति तयार गरिरहँदा त्यसका लेखकले आफ्नो विराट कल्पनाशिलतालाई यसरी अक्षरमा खोपेका हुन्छन्, जसलाई पढ्दा पाठकको मतिष्कमा बेग्लै संसार र दृश्यहरुको निर्माण हुन्छ ।

कृतिको हरेक वाक्यांशमा लेखकले अदृश्य चित्र बनाएका हुन्छन् । अक्षरहरु पढ्दै जाँदा पाठकमा तिनै चित्र-लहर प्रकट हुन्छ । त्यसका घटना, परिवेश, पात्र सबै साक्षात भएर आउँछ ।

यसरी शब्द विन्यासबाट तयार हुने दृश्यको प्रारुपलाई प्रविधिको माध्यमबाट पर्दामा उतार्ने काम कति गहन होला ? कति गाह्रो होला ? कति जोखिमपूर्ण होला ?

कुनै पनि कृतिको भाव, आवेगलाई अक्षरहरुमा खेलाउनु जति चुनौतीपूर्ण हो, त्योभन्दा कैयौं गुणा जोखिम हो दृश्यभाषामा रुपान्तरण गर्नु । यो असम्भव वा नसकिने काम होइन । तर, सामान्य र सहज पनि होइन ।

निर्देशकले त्यस कृतिलाई फिल्मीकरण गर्ने सोचिरहँदा लेखककै गहिराईमा डुबुल्की मार्नुपर्ने हुन्छ । लेखकले कस्तो मनोभावमा, कस्तो कल्पनाशिलतामा वाक्यांशहरु जोडेका छन्, त्यो गहिराई स्पर्श नगरी चलचित्र बनाउँदा कृतिमाथि अन्याय हुन्छ ।

कृतिमाथि कसरी बन्छन् चलचित्र ?

क्यानेडियन लेखक यान मार्टेलको कृति ‘लाइफ अफ पाई’ लाई विश्वका दिग्गज फिल्ममेकर्सले दृश्यभाषामा बदल्न चाहेका थिए, तर हिम्मत गरेनन् । ‘ह्यारी पोटर’ निर्देशक अल्फोन्सो क्युरोनले समेत यो कृतिको फिल्मीकरण गर्न हतार गरेनन् । आखिरमा ताइवानी मुलका निर्देशक आङ लीले ‘लाइफ अफ पाई’ को दृश्यभाषा उतारे, अत्यन्तै सशक्त र रचनात्मक ढंगले ।

यसरी शब्द विन्यासबाट तयार हुने दृश्यको प्रारुपलाई प्रविधिको माध्यामबाट पर्दामा उतार्ने काम सजिलो होला ?

नेपालमा मात्र होइन, विश्वमै कृतिमाथि चलचित्र बनेका छन्, बनिरहेका छन् र संभवत बनिरहनेछन् । यसको बाछिटाले नेपाली चलचित्रलाई नछुने कुरै भएन । तर, हामीकहाँ कृतिलाई दृश्यभाषामा उतार्नुअघि जति अभ्यास गर्नुपर्ने हुन्छ, त्यसको सर्वथा अभाव छ ।

नीर शाहले डायमण्डसमशेरको कृति ‘सेतो बाघ’लाई यति टिठलाग्दो ढंगले फिल्मीकरण गरेका छन् कि, त्यो हेरिरहँदा हामी जंगबहादुरको युगमा प्रवेश गर्न सक्दैनौं ।

बरु, कुनै औसत थिएटरमा बसेर नाटक हेरिरहेको अनुभूत गर्छौं । ‘सेतो बाघ’लाई पर्दामा दुरुस्तै उतार्न राणकालीन संरचना, परिवेश, जनजीवन, वेशभूष, श्रृंगार, भाषा, लवज, शान-सौकत, औजार सबै कुराको समायोजन जरुरी हुन्छ । अक्सर यस्ता चलचित्र निर्माण गरिँदा सेट डिजाइनदेखि भिएफएक्स प्रविधिको उच्चतम् प्रयोग गरिन्छ । यस किसिमको चलचित्रले लगानी र रचनाशील्प दुबै अत्याधिक रुपमा खपत गर्छ ।

यी भए आवरणका कुरा । त्यसबाहेक त्यो बेलाको समाजले बोक्ने मान्यता, धारणा, मनस्थिति पनि चलचित्रमा प्रतिविम्बित हुनुपर्छ । पात्रलाई शाही पहिरन, श्रीपेच पहिर्‍याएर मात्र पुग्दैन, उनीहरुको रुपरंग, मनोवृत्ति जस्ता सुक्ष्म कुरा समेत समेट्नुपर्छ । तर, नीर शाहले यसलाई एकदमै नाटकीय स्वरुपमा तयार गरेका छन् ।

कृतिबाट रुपान्तरण गरिएका अधिकांश चलचित्रको स्वरुप यो भन्दा भिन्न छैन ।

कृतिको टेको

चलचित्रको मेरुदण्ड कथा वा स्क्रिप्टलाई मान्ने हो भने, हामीकहाँ अहिलेसम्म लाग्दै आएको आरोप छ, ‘नेपाली चलचित्रको मेरुदण्ड बलियो भएन ।’

यसको सोझो अर्थ हो, स्क्रिप्ट राम्रो भएन ।

यता स्क्रिप्ट राइटरको दुखेसो छ, ‘स्क्रिप्टका लागि पर्याप्त बजेट नै छुट्याइँदैन ।’ त्यसै पनि हामी कहाँ स्क्रिप्टराइटरको अभाव छ । साहित्यकारहरु चलचित्रको स्क्रिप्ट लेख्न त्यती उत्सुक छैनन् वा उनीहरुलाई लेखाउन चलचित्रकर्मीहरु उति इच्छुक छैनन् ।

यही कारण कमजोर मेरुदण्डमा उभिनुपरेको छ, नेपाली चलचित्रले । यस्तो पृष्ठभूमिमा कुनै पनि कथा/उपन्यास सर्वोत्तम धरातल हुनसक्छ, स्क्रिप्टका लागि । पाठकमाझ ख्याती कमाइसकेको कृतिलाई पटकथामा ढाल्नु र दृश्यभाषाका लागि प्रयोग गर्ने अभ्यासलाई अन्यथा मान्न सकिँदैन ।

अर्कोतिर कुनैपनि राम्रो कृति समयसापेक्ष रुपमा दृश्यभाषामा रुपान्तरण गरिनु आफैँमा राम्रो हो । पुस्तकमा रहेका कथानक विवरण प्रविधिको उन्नत माध्यमबाट श्रव्यदृश्य माध्यममा रुपान्तरण हुँदा कृति र चलचित्र दुवैको हित हुन्छ ।

हलिउडमा सर्वाधिक सफल भनिएका चलचित्रहरु कृतिमाथि नै बनेका हुन् । बलिउडको कथा पनि यस्तै छ । तर, हामीकहाँ भने कृतिमाथि चलचित्र बनाउने अभ्यास अत्यन्तै टिठलाग्दो छ । एकसरो कृति पढेकै भरमा पटकथा तयार गर्ने र त्यसलाई दृश्यभाषामा उतार्ने हतारोले कृतिको भावलाई निर्जीव बनाइएको छ ।

एउटा लेखकले कृति तयार गरिरहँदा जति घोत्लिन्छ, जुन कल्पनाशीतामा डुबुल्की मार्छ, निर्देशक तथा पटकथाकारले पनि त्यो भाव समाउन सक्यो भने त्यसले सकारात्मक नतिजा दिन्छ । अतः यस्ता चलचित्रले अपार सफलता मात्र हासिल गर्दैन, एउटा कृतिलाई युगन्तकारी दस्तावेजको रुपमा समेत संग्रहित गराइदिन्छ । डिजिटलाइज्डको यो युगमा श्यामश्वेत पुस्तक पढ्ने भन्दा रंगीन दृश्यहरुको कथानक समायोजन हेर्न पुस्ता बढ्दैछ । त्यसकारण पनि कृतिलाई दृश्यभाषामा रुपान्तरण गर्नु सकारात्मक कुरा हो । तर, यसका लागि निर्देशकसँग त्यस्तो ल्याकत हुनुपर्छ, जसले सिंगो कृतिको मर्म र भावलाई थप रचनात्मक ढंगले पस्कन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment