Comments Add Comment

संसदीय उपसमितिले किन आवश्यक देखेन नागीडाँडामा विमानस्थल ?

६ माघ, काठमाडौं । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले काभ्रेको नागीडाँडामा विमानस्थल नै आवश्यक नभएको ठहर गरेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजकत्वको उपसमितिले सीमित व्यक्तिको फाइदाका लागि ठूलो धनरासी खर्चेर राज्यले एयरपोर्ट बनाउन नहुने निष्कर्ष निकालेको छ ।

उपसमितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्तथलको निर्माण अघि बढ्ने समयमा काठमाडौं आसपास अर्को विमानस्थल बनाउन आवश्यक नहुने बताएको छ ।

उपसमितिले निजगढ विमानस्थल प्रस्तावितभन्दा केही सय मिटर दक्षिणतर्फ सारेर बनाउन पनि सिफारिस गरेको छ । निजगढ विमानस्थलसँगै नयाँ सहर बसाउन आवश्यक नभएको निश्कर्ष पनि उपसिमितिको छ ।

प्रतिवेदन बुझाएपछि बुधबार पूर्वप्रधानमन्त्री नेपालले अनावश्यक रुपमा राज्यको ढुकुटी दोहन गरेर नागीडाँडामा विमानस्थल बनाउन नपर्ने बताएका थिए ।

सबै नेता र मन्त्रीलाई आफ्नो क्षेत्रमा विमानस्थल बनाउन हतारो देखिने गरेको भन्दै उनले आर्थिक तथा व्यवसायिक समभावना नहेरि बनाउन नहुने बताए । उनले नागीडाँडामा सम्भाब्यता अध्ययन नै आवश्यन नभएको जिकिर गरे ।

यो वर्ष सरकारले नागीडाँडामा विमानस्थलबारे अध्ययन गर्न भन्दै ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन लागि काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने प्रक्रिया सुरु भए लगत्तै नेता नेपालले त्यसको विरोध गरेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ वर्षभित्र यसको निर्माण सक्ने भन्दै काम अघि बढाएको थियो । तर, संसदीय उपसमितिले यो विमानस्थल आवश्यक नै नभएको निश्कर्ष निकालेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माणका जग्गा प्राप्ती गर्न मन्त्रालयले यो वर्ष २५ करोड रुपैयाँ उपलब्ध गराएको छ । नागीडाँडामा हाल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रक्रिया अघि बढिसकेको छ ।

केही समयभित्रै ईआईए प्रतिवेदन आउने र त्यसपछि जग्गा अधिग्रहणको काम गर्ने योजना छ ।

यसअघि काठमाडौंको नजिकै उपयुक्त स्थान छनोट गर्नको लागि गठन भएको एक प्राविधिक अध्ययन समूहले नागिडाँडा आन्तरिक विमानस्थलका लागि उपयुक्त भएको निष्कर्ष निकालेको थियो । यो निर्माण भएपछि त्रिभुवन विमानस्थलको एयर ट्राफिक चाप २० देखि ३० प्रतिशत कम हुने तर्क अघि सारिएको थियो ।

किन अनाश्वक ? 

यो एयरपोर्टमा ठूला विमान अवतरण गर्न भने समस्या हुनसक्ने बताइएको छ । विज्ञले भने निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं जोड्ने फास्ट ट्रयाक बन्दै गर्दा नागीडाँडामा यस्तो विमानस्थल बनाउन आवश्यक नपर्ने बताउँदै आएका छन् । संसदीय उपसमितिको ठहर पनि त्यस्तै छ ।

काठमाडौंबाट लामो दूरीमा रहेकाले पनि यो विमानस्थलको आवश्कतामाथि प्रश्न उठ्दै आएको छ ।

नागीडाँडामा विमानस्थल निर्माण गर्ने भनिए पनि आन्तरिक उडान गर्ने ठूला खालका विमान भने त्यहाँ ल्यान्ड गर्न सक्दैनन् । किनकी ठूला विमानका लागि १५ सय मिटरससम्मको रन-वे आवश्यक पर्छ । यहाँ त्यति लामो रन-वे बनाउन सकिनेमा प्राविधिक रुपमा समस्या छ ।

हाल सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए-६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्ट्रिम र एटीआर जस्ता ठूला जहाज छन् । यी विमानले साना विमानस्थलमा उडान/अवतरण गर्न नसक्ने बताइन्छ ।

अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ ।

नागिडाँडा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका टि्वनअटर, डोर्नियर, वाई-१२ ई र एलईटी मात्र हुन् । तर, सरकारले अब पर्यटकको आगमन तीव्र रुपमा बढ्ने भएकाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनललाई नागीडाँडामा सार्नु अत्यावश्यक हुने बताउँदै आएको छ ।

त्रिभुवन विमानस्थलदेखि नागीडाँडा जमिनबाट २४.६ किमी पर छ भने नर्टिकल माइलका आधारमा ८.६२ टाढा छ ।

काभ्रेमा विमानस्थल निर्माणको चर्चा चलेको १६ वर्ष नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment