Comments Add Comment

डडेल्धुराका महिलालाई ‘घरआँगन’मै रोजगारी

६ माघ, डडेल्धुरा । विष्नादेवी जोशी ५६ वर्ष भइन् । गन्यापधुरा गाँउपालिका-१ असीग्रामकी उनलाई अहिले आलु स्याहार्न चटारो छ । उनको दैनिक कमाइ पनि राम्रै छ । ‘दिनको ५०० कमाउँछु बा,’ खेतमा आलु निकाल्दै गरेकी विष्नादेवी बोलिन् ।

गन्यापधुरा गाँउपालिक- १ भेटामा रहेको ठुल्खाली क्षेत्र केहीवर्ष पहिले उजाड थियो । अहिले त्यही ठाउँमा आलुुको बीउ खेती भइरहेको छ । त्यहीँ काम गर्छन् यहाँका महिलाहरु । ‘म बिहे भइ यस ठाँउमा आउँदा पुरै डाँडा बाँझो थियो । खाली घाँस मात्र थियो,’ विष्णदेवी अघि भन्छिन, ‘यस्तो परिवर्तन होला भनेर हामीले सपनामा पनि देखेका थिएनौं ।’

अहिले महिलाहरुले दैनिक ज्यालाबाट घरखर्च चलाएका छन् । ‘हामी देउरानी जेठानी मिलेर विहान-साँझ घरको काम गरेर दिनभरी यही फर्म आएर हाँसो-मजाक गर्दै काम गर्छौ, घरमा परिवार पनि खुसी छन्,’ उनले अघि भनिन् ।

घरआँगनमै रोजगार पाएपछि घर खर्चको साथै बालबालिकाको पढाइ खर्चमा समेत सहयोग भएको विष्णदेवीको भनाइ छ ।

भागेश्वर एग्रीकल्चर एण्ड लाइभ स्टक प्राइभेट लिमिटेड भेटा ठुल्खालीमा विष्णदेवी जस्तै ३० जनाले काम गर्ने गरेका छन् ।

उनीहरु मध्ये एक हुन् बसन्तीदेवी अवस्थी । उनी पनि दिनभर त्यहीँ फर्ममा काम गर्छिन् । श्रीमान विदेश गएपछि घरको सबै जिम्मा उनकै काँधमा आयो ।

भारतमा श्रीमानले कमाउने ८ हजारले उनलाई घरखर्च धान्न धौधौ थियो । तर, गाउँमै आलु बीउ खेतीको फर्म खुलेपछि उनले पनि दैनिक ५०० कमाउन थालिन् । जसले गर्दा घरखर्च चलाउन सहज भएको छ ।

‘उतिबेला समस्या थियो, केटाकेटीको पढाइलाई पनि असर परिरहेको थियो तर अहिले राम्रै भएको छ,’ उनी भन्छिन्, ‘बाँझो जमीन राम्रो भएको छ । हामीलाई पनि रोजगार मिलेको छ, पैसाको त्यती समस्या छैन आजभोली ।’

जिल्लामा आलुको बीउको समस्या देखेपछि भागेश्वर एग्रीकल्चर एण्ड लाइभ स्टक प्राइभेट लिमिटेडले बीउ उतपादन थालेको हो ।

पाँचजना मिलेर बाँझो जमीनलाई सदुपयोग गरी रोजगारीको वातावरण सिर्जना गर्नुका साथै जिल्लामा आलुको बीउ पुर्‍याउने लक्ष्य लिएको प्रालिका प्रमुख संचालक दत्तराज अवस्थीले बताए ।

ठुल्खालीमा उनीहरुले करिब ८० रोपनी जग्गा भाडामा लिएर फर्म संचालन गरेका छन् । अहिले दैनिक १० देखि ३० जनाले यहाँ रोजगारी पाएका छन,’ संचालक अवस्थीले भने, ‘पाँच जनाले २५ लाखको लगानी गरेर यही वर्ष ५० क्विन्टल बीउ आलु र ७ हजार दाना पीभीएस लगाएका छौ । यो बाँझो जमीनमा यसवर्ष खासै फल्लाजस्तो छैन, धेरै आम्दानी हुँदैन तर जमीन अनुसार ५ सय क्विन्टल फलेको छ ।’

यस सिजनमा फलेको आलु शीत भण्डारमा राखी भदौमा किसानलाई वितरण गर्ने योजना रहेको अवस्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment