Comments Add Comment

श्रम स्वीकृति विकेन्द्रित भएसँगै ताहाचललाई राहत

६० प्रतिशत घटे सेवाग्राही

६ माघ काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि सातवटै प्रदेशबाट श्रम स्वीकृतिलगायतका सुविधाहरु प्रदान गर्ने काम शुरु गरिसकेको छ । यसअघि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट मात्रै श्रम स्वीकृति प्रदान गरिन्थ्यो ।

श्रम स्वीकृतिको विकेन्द्रिकरणसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको चाप घटेको छ । ६० प्रतिशतसम्म सेवाग्राही घटेको ताहाचल कार्यालयले जनाएको छ । हाल दैनिक ६ सयको हाराहारीमा सेवाग्राहीहरु आइरहेको कार्यालयका शाखा अधिकृत छत्र शाहले बताए । शाहका अनुसार प्रदेशमै श्रम कार्यालय शुरु हुनुभन्दा पहिले दैनिक १ हजार ५ सयसम्म सेवाग्राही आउँथे ।

‘प्रदेशमा श्रम कार्यालय स्थापना भएसँगै सेवाग्रही ह्वात्तै घटेका छन्,’ उनले भने, ‘केही प्रदेशमा कार्यालय स्थापना हुन बाँकी नै रहेकाले ती सबैमा कार्यालय स्थापना भएपछि अझै खुकुलो हुनेछ ।’

श्रम स्वीकृति लिन सबैभन्दा धेरै प्रदेश नम्बर १ र २ का बासिन्दा आउने गरेको शाहले बताए । प्रदेश नम्बर २ बाट सेवा शुरु भइसकेको र प्रदेश १ बाट पनि शुरु भएपछि सेवाग्राहीको संख्या अझै घट्ने उनको विश्वास छ ।

सेवाग्राहीको संख्या घटेपछि अहिले श्रम स्वीकृति लिन लामो लाइनमा बस्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । श्रम स्वीकृतिको काम २ दिनदेखि ३ दिनसम्म लाग्ने गरेको थियो । युवाहरु राति नै देखि गएर लाइनमा बस्ने गर्थे । अचेल भने कार्यालय पुगेको केही घण्टामै काम सकिन्छ ।

बिहान १० बजे कार्यालय पुगेका सेवाग्राहीले दिनभरमा नै सेवा लिएर फर्किने वातारण शुरु भएको शाहले बताए ।

महिलालाई अझ धेरै सहज छ । उनीहरुले कार्यालयमा लाइन नै बस्नु पर्दैन । महिलाको संख्या थोरै हुने भएकाले सहज भएको हो ।

कार्यालय परिसरमा भेटिएकी रुकुमकी विमला खड्काले आफूलाई कार्यालयमा कुनै पनि सास्ती नपरेको बताइन् । खड्काले भनिन्, ‘म बिहान १० बजे आइपुगेकी थिएँ, १२ बजे नै मेरो काम सकियो ।’

सेवाग्राहीको संख्या कम भएपछि ताहाचल कार्यालमा कार्यरत कर्मचारीहरुले आत्तिएर र हतारहतारमा काम गरेको देखिँदैन ।

सेवाग्राहीलाई कुर्सी र पानी

श्रममन्त्री गोकर्ण बिष्टकै निर्देशनमा कार्यालयले केही दिनअघि सेवाग्राहीहरुलाई बस्ने कुर्सी र पिउने पानीको व्यवस्थासमेत गरेको छ । यसअघि दिनभर उभिएरै सेवा लिनु पर्ने अवस्था थियो ।

बस्ने बेञ्च भएपछि कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु खुसी देखिन्थे । नवलपरासीबाट सेवा लिन आएका दीनेश श्रेष्ठले बेञ्चको सुविधाले धेरै सहज महशुस गरेको बताए । अब टोकन प्रणाली मूल ढोका (गेट) बाट नै दिए अझ सहज हुने उनको भर्नाइ छ ।

कार्यालयले पिउने पानी र इन्टरनेटको सुविधासमेत उपलब्ध गराएको छ । यद्यपि निःशुल्क इन्टरनेटको सुविधाबारे धेरै सेवाग्राहीहरु बेखबर देखिए ।

श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन शुरु गरेको थियो ।

त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न थालिएको थियो भने आइतबारदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीबाट यसै साता र १ नम्बर प्रदेशको विराटनगरबाट अर्को सातादेखि यो सेवा शुरु हुने मन्त्रालयले जनाएको छ ।

प्रदेशस्थित श्रम कार्यालयबाट प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने मन्त्रालयले जनाएको छ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

विचौलियाको विगविगी कायमै

ताहाचल कार्यालयअघि ठूलो संख्यामा विचौलिया सक्रिय हुने गरेका छन् । त्यस्ता बिचौलियाहरुलाई पटक–पटक गिरफ्तार गरेर कारबाहीसमेत गर्ने गरिएको छ । विचौलियाहरुले सेवाग्राहीसँग पैसा लिएर कर्मचारीहरुको मिलेमतोमा छिटो काम गर्ने गरेका छन् ।

पछिल्लो समय पुस २४ गतेमात्रै सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलियालाई काठमाडौ प्रहरीले परिसरको टोलीले पक्राउ गरेको थियो । त्यसयता विचौलियाहरु नभेटिने कार्यालयले बताउदै आएको छ ।

तर सेवाग्राहीहरुले भने विचौलियाहरु अझै रहेको बताए । मोरङका चन्द्र बोहराले २ हजार रुपैयाँ दिए काम गरिदिने भन्दै केहीले पैसा मागेको सुनाए । उनले भने, ‘मलाई १५ सय देखि २ हजार रुपैयाँ दिनुस भनेका थिए, तर म लाइनमै बस्न आएँ ।’

सेवा लिने लाइनमा बसेका दिनेश श्रेष्ठले १ हजार ५ सय रुपैयाँ दिए सबै काम गरिदिने भन्दै एक जनाले आफूलाई फकाएको बताए ।

अनलाइनखबरकर्मी कार्यालय नजिक पुग्नेवित्तिकै एक व्यक्तिले ‘श्रम स्वीकृतिका लागि हो ? आउनुस म काम गरिदिन्छु भनेर बोलाएका थिए । तर हातमा क्यामेरा देखिएपछि उनी एकाएक विलाए ।

कार्यालयको मुल गेट अगाडि हुलाक टिकट बेच्ने तथा फारम भरिदिने भन्दै सेवाग्राहीहरुलाई तानातान गरिरहेको दृश्यसमेत देख्न सकिन्थ्यो ।

हेर्नुहोस् भिडियो

भिडियो र तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment