Comments Add Comment

नेपाली युवा क्रिकेटरकाे टेष्ट सपना

रुम पार्टरनदेखि क्रिकेटमा देखेका नदेखेका सपना

काठमाडौं । ‘टिमलाई जे आवश्यकता छ, त्यही नै हो । तर, म प्रार्थना गर्छु कि हामी सँगै टिममा परौँ ।’

युएईविरुद्ध हुने तीन एकदिवसीय र तीन टी-२० सिरिजका लागि २० नेपाली खेलाडीले बन्द प्रशिक्षण थालेको झण्डै एक हप्तापछि भेटिँदा पवन सर्राफले भीम सार्कीतर्फ इङ्गित गर्दै भनेका थिए ।

आइतबार नेपाली टिमको घोषणा हुँदा उनै पवनको प्रार्थना सार्थक बनेको छ । पवन र भीमसँगै सन्दीप जोरा र अविनाश बोहरा पहिलोपटक राष्ट्रिय टिममा परेका छन् । उनीहरुसँगै यू-१९ का दौतरी रोहितकुमार पौडेल पनि राष्ट्रिय टिममै छन् ।

पवन भन्छन्, ‘पारस खड्का दाइहरुले नेपाली क्रिकेटलाई एकदिवसीयसम्म पुर्‍याउनु भयो । अब यहाँबाट माथि लैजाने जिम्मेवारी र अवसर हाम्रो हो ।’

नेपालमा क्रिकेटको भविष्य नै छैन भन्ने समयमा त पारसहरुले गरेर देखाइरहेका छन् भने अब भविष्य देखिन थालेका बेला पवन, भीमहरुलाई सहज होला कि !

‘टिममा परेकाले खुशी लागेको छ । अब अझै मेहनत गरेर खेल्नुपर्छ भन्ने सोचिरहेको छु’ आइतबार टिम घोषणा भएपछि पवनले भने ।

राष्ट्रिय टिममा परेको खबरपछि परिवारमा छाएको खुशीले जिम्मेवारी थपिएको महसुस गरिरहेका छन् भीम । ‘एकदमै खुशी लागेको छ । आˆनो मेहनत सार्थक भएको जस्तो लागेको छ । घरमा सबैजना खुशी हुनुहुन्छ’ क्रिकेटरका माझ जोन्टी नामले चिनिने उनले भने ।

६ सय ९१ किलोमिटर पर कञ्चनपुरबाट भीम र १ सय २८ किलोमिटर पर बाराबाट पवन क्रिकेट पछ्याउँदै काठमाडौं आउँदा झण्डै दुईवर्षअघि उनीहरु भेटिएका हुन् । यू-१९ टिमको क्लोज क्याम्पको त्यो समय र अहिले राष्ट्रिय टिमको क्याम्पमा रहँदा उनीहरुले क्रिकेटलाई हेर्ने नजर धेरै फेरिएको छ ।

टिममा परिन्छ जस्तो लागेको छ ? भनेर सोध्दा उनीहरुको जवाफ एउटा खारिएको क्रिकेटरको जस्तै थियो ।

भीमले भनेका थिए, ‘टिममा परिन्छ परिन्न भनेर सोचेको छैन । अहिले धेरै कुरा सिकिरहेका छौँ । प्रशिक्षक, कप्तानलाई टिममा हाम्रो खाँचो छ जस्तो लाग्यो भने टिममा हुन्छौँ होला । नहुँदा पनि दुःख हुने छैन । क्रिकेट सिक्ने कुरा हो, सिक्न पाएका छौँ ।’

पवनको जवाफ पनि भीमको जस्तै थियो, ‘हामीले जति सक्छौँ, त्यो क्याम्पमा पनि देखाइरहेका छौँ । हामी टिममा हुँदा केही फाइदा हुन्छ, हाम्रो खाँचो छ भन्ने आवश्यकता महसुस गर्नुभयो भने हामी टिममा हुने छौँ ।’

पवन र भीमलाई भित्र मनमा कताकति एक जना छानिएर अर्को नछानिने हो कि भन्ने डर पनि नलागेको होइन । तर, जो छानिए पनि टिमको लागि राम्रो योगदान गर्न सकौँ र आˆनो भूमिका प्रष्ट पार्न सकौँ भन्ने दुबैको सोच थियो ।

उनीहरु टिममा एक जना परेर अर्को नपर्दा नरमाइलो लाग्ने कारण अर्को पनि छ । यू-१९ टिमका साथी उनीहरु क्याम्पका बेला होटलमा पनि ‘रुम पार्टनर’ हुन् ।

मैदानमा अभ्यास गरेर फर्किएपछि क्रिकेटको योजना बनाउँछन्, थकाई बिर्साउन रमाइलो कुराकानी गर्छन् । उनीहरुको त्यो रहर अब अवसर बनेको छ । युएईविरुद्ध उनीहरुले डेब्यू गर्न पाए नेपाली युवा पुस्ता ठूलो मैदानमा कस्ता देखिन्छन् प्रस्ट हुनेछ । उनीहरुको आत्मविश्वास र नेपाली क्रिकेटको भविष्य देखिने छ ।

सुरुवातका ती दिन

पवन शरार्फ

पवन र भीमको क्रिकेट कथामा एउटा कुरा साझा छ । त्यो हो उनीहरुको दाइले गरेको सहयोग ।

घर नजिकै मैदान भएका कारण पवन खेल्न पाइरहेका हुन्थे । उनका दाइ जटाशंकर सर्राफ क्रिकेटर नै हुन् । फास्ट बलर जटाशंकर घुँडाको चोटका कारण खेल्न नसक्ने भएपछि राष्ट्रिय टिममा खेल्ने सपना उनले भाइमार्फत पूरा गर्न चाहे ।

भाइलाई खेल्नुपर्छ भनेर हौसला मात्र दिएनन्, बुबाले क्रिकेटबाट केही हुँदैन, नखेल्न भन्दा पनि उनले भाइलाई हौसला दिन छोनन् । अन्तत पवन राष्ट्रिय टिममा पुगेका छन् । ‘मैले विस्तारै इन्टर स्कूल टुर्नामेन्टहरु खेल्न थालेँ । घर नजिकैको मैदानमा विनोद दास, सञ्जम रेग्मीहरुसँग बेला बेला सिक्न पनि पाइन्थ्यो । त्यहाँ क्लब लेभलमा खेल्न थालेपछि यू-१६ मा खेल्न पाएँ’ पवनले भने ।

पवनलाई जस्तै भीमलाई पनि उनका दाइ बिनोद सार्कीले क्रिकेटर बन्न सघाएका छन् । कमजोर आर्थिक अवस्थाका कारण आफूले खेलिरहेको खेल छाडेर बिनोद मलेसिया गएपछि नै भीमले क्रिकेट खेल्न पाए । ‘दाइ विकेट किपर ब्याट्सम्यानमा खेल्नुहुन्थ्यो । दाइ धेरै नै क्रिकेट खेल्नु हुन्थ्यो । म त्यति खेल्दैन थिएँ । म घरकै साइकल बनाउने पसलमा काम गर्थें । फुर्सदको बेला दाइहरु खेल्न जाँदा आफू पनि जान थालेँ । बाहिर बसेर हेरिरहन्थेँ’ भीमले सम्झिए ।

पुराना खेलाडीको सहयोग

भीम र पवन दुवैलाई पुराना खेलाडीले गरेको सहयोग ठूलो छ । आफ्ना क्षेत्रमा क्रिकेट खेल्न चाहने युवा खेलाडीलाई उनीहरुले गरेको सहयोग उदाहरणीय बन्न सक्छ ।

‘घरको अवस्था पनि राम्रो थिएन । त्यसमाथि दाइको अपरेसनमा पनि खर्च भएको थियो । बिनोद दास (यू-१९ का प्रशिक्षक पनि हुन्), समिर दाइहरुले केही सामान भएन भने पनि दिनुहुन्थ्यो’ पवन भन्छन्, ‘बिनोद दाइ कप्तान भएको टिममा जनकपुर खेल्न पनि गएँ । केही सामानहरु नहुँदा पनि बिनोद दाइले दिनुहुन्थ्यो ।’

खुला मैदानमा कञ्चनपुर क्रिकेट एकेडेमीमा बिनोद भण्डारी, प्रदीप ऐरी, चन्द्र साउदहरुले खेलेका बेला भीम क्रिकेट हेरिरहेका हुन्थे । त्यहीँ चन्द्रले उनलाई भनेका थिए ‘भोलिबाट जुत्ता र ट्राउजर लगाएर आउनु, माथि जे लगाउँदा पनि हुन्छ ।’ चन्द्रले त्यसरी बोलाउनु नै भीमको क्रिकेट खेल्ने सपनाले पाएको अवसर थियो ।

‘त्यहाँ सिमेन्ट पिच थियो, अरु केही थिएन । सुरुमा फिल्डिङ मात्र गर्न पाइन्थ्यो । त्यहाँ मलाई माया गरेर दाइहरुले सिकाउनु हुन्थ्यो । फिल्डिङ गरिरहेको बेला थर्डम्यानमा आएको बल डाइभ हानेर समात्ने हुँदा चन्द्र दाइले जोन्टी भनेर बेलाउन थाल्नुभयो । अहिले त नाम नै जोन्टी जस्तो भएको छ । त्यतिबेला जोन्टी भनेको को हो पनि थाहा थिएन’ यु १९ क्याम्पको लागि दुई वर्षअघि भएको ट्यालेन्ट हन्टबाट छानिएका उनले सुनाए ।

उनले बिनाद भण्डारीले गरेको सहयोग पनि कहिल्यै बिर्सदैनन् । ‘बिनोद दाइले धेरै सहयोग गर्नुभएको हो । ब्याट, ग्लोभ्स दिनुहुन्थ्यो । जे छैन भने पनि सहयोग गर्नुहुन्थ्यो’ उनले भने ।

देखेको र नदेखेको सपना

खेलमा लाग्ने मेहनत र समर्पण उस्तै भए पनि पवन र भीमको क्रिकेट संघर्ष अलि भिन्न छ । पवनले क्रिकेट सुरु गर्ने बेला नै राष्ट्रिय टिमको सपना देखेका थिए । भीमले भने यू-१९ टिममा आइपुग्दा मात्रै त्यो सपना सुरु गरे ।

‘म त क्रिकेट रमाइलोको लागि नै खेल्थेँ, राष्ट्रिय टिम के हो, त्यहाँ कसरी पुगिन्छ भन्ने पनि थाहा थिएन । खेल्दै जाँदा एकपछि अर्को पाइदा बढ्दै गयो’ भीम भन्छन्, ‘अहिले त क्रिकेट खेलेर देशको लागि केही गरौँ भन्ने लागेको छ ।’

महेन्द्रनगरको एउटा एकेडेमीमा क्रिकेट सिक्न जाँदा त्यहाँका प्रशिक्षकले भनेको भनाइ अहिलेसम्म भीमको मनमा गढेको छ । एकेडेमीमा सिक्न पैसा नपुग्ने बताउँदा प्रशिक्षकले ‘त्यसो भए क्रिकेट नखेल’ भनेको भीमले बिर्सिएका छैनन् ।

त्यही भएर उनी सिनियर दाइहरु खेल्ने ठाउँमा गएर हेरेर बसिरहन्थेँ । हेर्न पैसा नपर्ने र सिक्न पनि पाइने ।

पवनले भने आफ्नो दाइको राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा गर्न क्रिकेट सिक्न थालेका थिए । दाइको घुँडाको अपरेसन गरेका कारण खेल्न नसक्ने भएपछि उनले पवनलाई भनेका थिए, ‘मैले खेल्न सकिनँ अब तैलेँ राम्ररी खेल । राष्ट्रिय टिमबाट खेल्नुपर्छ ।’

सिक्ने एउटा अवसर

भीम सार्की

भीम र पवनलाई लाग्छ क्रिकेट सिकेर कहिल्यै सकिँदैन । अहिले राष्ट्रिय टिममा पर्दा होस् र नपरेका बेला पनि क्रिकेट सिक्न भने छाड्नु हुँदैन ।

‘अहिले अभ्यास राम्रो भइरहेको छ । पहिलो पटक नेशनल टिमको क्याम्पमा परेको के होला जस्तो पनि लागिरहेको थियो । रमाइलो हुँदैछ । सिनियर दाइहरुसँग बसेर खेल्न पाइँदैछ । सिकिरहेका छौँ’ पवनले सुनाए ।

भीमलाई पनि नयाँनयाँ कुरा बुझ्दै गइरहेको जस्तो लाग्छ । ‘धेरै कुरा सिक्न पाइरहेका छौँ । पारस, शरद, ज्ञानेन्द्र दाइहरुले गाइड गरिरहनु भएको छ । उमेश पटुवाल सरबाट धेरै कुरा सिकिरहेका छौँ । जगत गुरुबाट पनि सिकिरहेका छौँ । यसले गर्दा राम्रो खेल्न सक्छौँ जस्तो लागेको छ ।’

पहिलो पटक राष्ट्रिय टिममा परेकाले केही कुरा भिन्न लागे पनि समग्र क्रिकेट यू-१९ मा सिकेको जस्तो नै रहेको उनीहरुको बुझाइ छ । अहिले ब्याटिङ विदेशी प्रशिक्षकसँग सिकिरहेकाले केही नयाँ कुरा भने जानेको उनीहरुले सुनाए ।

फ्रेन्चाइज क्रिकेटले दिएको मौका

यू-१९ टिममा आफूहरुले देखाएको खेलले भन्दा इपीएल, डीपीएल, पीपीएल जस्ता टी-२० प्रतियोगिताहरुका कारण धेरैले बुझेको जस्तो उनीहरुलाई लाग्छ । ‘घरेलु टी ट्वान्टी क्रिकेटले गर्दा नै हामी राष्ट्रिय टिमसम्म आइपुगेका हौँ । टी ट्वान्टी टुर्नामेन्टहरु नभएको भए त हामीले खेल देखाउने ठाउँ पनि पाउँदैन थियौँ । हामी छनोट हुने बाटो नै त्यही बनेको छ’ भीम भन्छन् ।

‘त्यहाँबाट अलि अलि पैसा पनि आएको छ, क्रिकेट पनि सिक्न पाएका छौँ । घरमा पनि अलि अलि पैसा दिन सक्दा केही त भइरहेको छ भन्ने आश हुन्छ । समर्थन हुन्छ’ उनले भने ।

‘नेपालमा घरेलु क्रिकेट नै नभइरहेको बेला टी ट्वान्टी फ्रेन्चाइजहरु भइरहँदा त्यसमा नै राम्रो गर्नुपर्छ भनेर सोचेका हुन्छौँ । हरेक जस्तो प्रतियोगितामा फरक टिम, फरक कप्तान, फरक प्रशिक्षकसँग सिक्न पाएका हुन्छौँ । त्यसले धेरै कुरा बुझिन्छ र क्रिकेटमा नै व्यस्त भइन्छ’ पवनले भने ।

भीमलाई पनि लाग्छ जति खेल्न पाइन्छ, त्यति नै सिक्ने अवसर मिल्छ । यसैले टी-२० प्रतियोगिताहरुमा दाइहरुबाट सिक्ने कुरा जेजे हुन्छ सबै सिक्छन् उनी । ‘अहिले त के खाने के नखाने, के लाउने भन्ने पनि बल्ल सिक्दै छौँ । फिटनेसमा कसरी ध्यान दिने भनेर बुझिरहेका छौँ ।’

टेस्ट राष्ट्रको सपना

पवन र भीमको पुस्ताले अहिले नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिलाउने सपना देख्न थालेका छन् । त्यसमा उनीहरु मेहनत पनि गरिरहेका छन् । क्रिकेट बोर्ड बनेर राम्ररी अगाडि बढ्ने हो भने टेस्टको सपना टाढा नरहेको पवन सुनाउँछन् ।

त्यसमा आफूले पनि मेहनत गरिरहेको उनलाई लाग्छ । ‘बलिङ ब्याटिङ दुवैलाई सँगै अगाडि लैजान अप्ठ्यारो हुनेरहेछ तर, पनि मेहनत गरिरहेको छु । नेपालको राम्रो अलराउण्डर बन्ने मन छ । सबैले सहयोग पनि गरिरहनु भएको छ । नेपालको ब्याटिङ अलि कमजोर नै भएकाले धेरै कुरा सिकेर राम्रो गर्न मन छ’ उनले भने ।

विशेष ब्याटिङका लागि चिनिने भीम पनि आवश्यकता पर्दा अफ स्पिन गर्छन् । ‘बेला बेला अफ स्पिन गर्छु । टिममा आवश्यक पर्दा बलिङ पनि गर्छु । मुख्य त ब्याटिङमा नै फोकस गरेको छु’ उनले भने ।

रुम पार्टरन भीमसँगै बसेर गफिएका पवनले कुराकानी बिट मार्दै भने, ‘रोहित, भीम, जोरा, अभिनाश हामी सबैको सपना नै नेपाललाई टेस्ट क्रिकेट खेल्ने देश बनाउने छ । हामीसँग उमेर पनि छ । त्यसका लागि मेहनत गर्ने क्षमता पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment