Comments Add Comment

सात बर्षको उमेरमा नै राजाको हातबाट बक्सिस पाएका सन्तोष पन्त

‘म हस्ती हैन, मस्ती हुँ’

बिहिबार सन्तोष पन्तलाई भेट्न उनको निवास धापासी पुग्दा हामीलाई स्वागत गर्न उनी घरको गेटमा नै आइपुगेका थिए । उनले गेट खोलिदिएपछि हामी भित्र प्रवेश गर्यौ । घरको ठूलो कम्पाउन्डलाई पारिलो घामले सेकिरहेको थियो । त्यही घाममा सेकिएर हामीले भलाकुसारी गर्यौ । भलाकुसारीका क्रममा पन्त कहिले गम्भीर त कहिले उत्साही देखिन्थे ।

बिगत सम्झिँदै उनले सुनाए, ‘पहिलोपटक स्टेजमा चढेर अभिनय गर्दा म जम्मा तीन वर्षको थिएँ ।’ त्यो समय उनले तत्कालिन युवराजधिराज वीरेन्द्र वीरवीक्रम शाहको अगाडि आफ्नो प्रस्तुती दिएका थिए ।

राजाको हातबाट बक्सिस
पन्तले सात वर्षको उमेरमा राजा महेन्द्र वीरविक्रम शाह र रानी रत्नराज्य लक्ष्मी शाहको अगाडि प्रस्तुति दिने मौका पाए । त्यसमा उनले दुईवटा मेडलसमेत जितेका थिए । उनी भन्छन्, ‘कमेडी देखाएर नै उहाँहरूबाट मैले मेडल पाएको थिएँ ।’

सात वर्षको उमेरमा नै पन्तले राजा महेन्द्रबाट बक्सिस पाएका थिए । उनले भने, ‘एक रात राजा काठमाडौं बाहिर गएको समयमा मैले आफ्नो बुबाले लेखेर दिनुभएको कविता बाचन गरेको थिएँ । त्यो समय उहाँ खुसी भएर मलाई १ हजार बक्सिस दिनुभयो ।’

गाइजात्राबाट धेरै हाँस्यकलाकारहरु जन्मिएका छन् । पन्तले पनि गाईजात्राको दोस्रो वर्षदेखि नै आफ्नो उपस्थिति जनाउन थालेका हुन् । ‘त्यो बेला गाइजात्रा भनेपछि त दर्शकको थामिनसक्नु भिड हुन्थ्यो कि’, उनी थप्छन्, ‘गाईजात्राबाटै हामीलाई दर्शकले चिन्नुभएको हो ।’

एक गाइजात्रामा उनले ‘माननीय’ को भूमिका निर्वाह गरेका थिए । गाइजात्रा सकिनसाथ उनलाई दरवारबाट बोलावट आयो । दरवारबाट बोलाउने बित्तिकै के नराम्रो भयो कि जस्तो लाग्यो उनलाई । तर, हैन रहेछ ।
‘दरवारमा पुगेपछि त मलाई राजा विरेन्द्रले ‘तिम्रो अभिनय मन पर्यो’ भनेर भनेर १ हजार हातमा राखिदिनुभयो, म त ट्वाँ !’ पन्तले भने ।

चलचित्रमा आगमन
उनी १५ वर्षका थिए, जब ‘मनको बाँध’ नामक चलचित्र निर्माणको तयारी थियो । त्यसमा अडिसन दिन गएका सन्तोषले उक्त चलचित्रमा अभिनय भने गर्न पाएनन् । उमेर कम भएका कारण उनलाई सेलेक्ट गरिएन । ‘निर्देशक प्रकाश थापाले तिमीसँग क्षमता छ, तिमीले गर्न सक्छौ भन्नुभयो, तर मैले रोल पाइनँ’, सन्तोष भन्छन्, ‘त्यस चलचित्रमा बच्चाको रोल रहेनछ । त्यसैले अवसर पाइनँ ।’

२०४० सालमा ‘बदलिदो आकाश’ निर्माण हुने तयारीमा थियो । लक्ष्मीनाथ शर्माले पन्तलाई चलचित्रमा माडवारीको रोलका लागि अफर गरे । चलचित्रमा काम गर्न तम्सिरहेका उनले सहजै स्वीकारे । ‘स्टेजमा काम गरिरहेको देखेर मलाई अफर गर्नुभएको रहेछ । म पनि चलचित्रमा काम गर्न लालायित थिए । कुरा मिल्यो । त्यसै चलचित्रबाट डेब्यु गरेँ ।’ त्यसपश्चात् सन्तोषले धेरै चलचित्रमा काम गरे ।

‘हिजो आजका कुरा’
पन्तले लगातार चलचित्रमा काम गरिरहेका थिए । तर, जब उनले ‘हिजो आजका कुरा’ नामक टेलिसिरियल सुरु गरे, त्यसपश्चात उनको चलचित्र करिअरमा ब्रेक लाग्यो । उनी भन्छन्, ‘साताको ५ दिन म हिजोआजका कुराको स्क्रिप्ट, सुटिङ र इडिटिङमा व्यस्त हुन्थे । दुई दिनमा कहाँबाट चलचित्रमा काम गर्नु । त्यसैले निकै कम चलचित्रमा काम गरेँ ।’

उनले निर्देशन तथा अभिनय गरेको सिरियल हिजो आजका कुरा निकै चर्चित बन्यो । त्यसैले उनलाई नचिन्ने त्यो समयका दर्शक निकै कम छन् । समाजमा भइरहेका समसायिक र राजनीतिक कुराहरुलाई ‘हिजो आजका कुरा’ मा देखाइन्थ्यो । समाजको वास्तविकतालाई उजागर गर्ने भएकाले उक्त सिरिलय निकै हिट भएको सन्तोषको भनाई छ । उनी भन्छन्, ‘दर्शकले रुचाएर नै हो, हामीले १३ वर्ष ६ सय ९९ भागसम्म उक्त शो चलायौं ।’

‘म हस्ती हैन, मस्ती हुँ’
हाँस्य कलाकारिताको जगतमा सन्तोष पन्तलाई हस्ती मानिन्छ । तर, उनी आफूलाई हस्ती भन्न रुचाउदैनन् । ‘२०३३ सालदेखि कलाकारितामा छु । त्यो समय मदनकृष्ण र हरिवंश पनि आउनुभएको थिएन’, उनी थप्छन्, ‘यत्रो लामो समय यस क्षेत्रमा काम गरेकाले हस्ती मान्नुभएको होला । तर, म हस्तीभन्दा पनि मस्ती हो ।’

आफू कलाकारितामा निकै खुसी भएको बताउँछन् पन्त । बाँकी जीवन पनि कलाकारितामा नै समर्पित गर्ने सोचमा छन् ।

‘हाँस्यकलाकार हुँ, जोकर होइन’
सन्तोष पन्त वास्तविक अभिनयमा विश्वास गर्छन् । उनी दर्शकलाई वास्तविक अभिनय गरेर हँसाउनु पर्ने तर्क राख्छन् । ‘मलाई नाकमा रातो लगाएर, मुख बङ्गाएर, बाँदर बनेर हँसाउनु छैन’, उनले थपे, ‘मलाई हाँस्य अभिनेता बनेर चिनिनु छ, जोकर बन्नु छैन ।’

उनी दर्शकको मर्म बुझेर हँसाउने गरेको बताउँछन् । भन्छन्, ‘म दर्शकको मन छुने गरी उहाँहरुकै वास्तविकतामा रहेर हँसाउछु । वास्तविकतामा रहेर कमिक गर्दा दर्शकले पनि मलाई लामो समयसम्म सम्झिनेछन् ।’

सेनाको सदस्य हुनुमा गर्व
सन्तोष पन्त नेपाली सेनाका जागिरे पनि हुन् । उनी सेनामै रहेर पनि सिरियल निर्माण गर्थे । ‘हामीले निर्माण गर्न थालेकोण् सिरियल ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’ अझै प्रसारण भइरहेको नै छ,’ उनले सुनाए । उनी आफू नेपाली सेनाको सदस्य हुनुमा गर्व गर्छन् । उनी भन्छन्, ‘मैले नेपाली सेनामा भर्ना पाउनु भनेको गर्वको कुरा हो । त्यहाँ त शारीरिक रुपमा पनि तन्दुरुस्त भएको मान्छे हुनुपर्छ ।’

उनी ३२ वर्ष सेनामा काम गरेर रिटायर्ड भइसकेका छन् । तर, अझै त्यहाँ सिरियल निर्माणमा लागिरहेका छन् । पन्त भन्छन्, ‘त्यहाँ काम गर्दा मलाई खुसी मिल्छ । आज पनि त्यसको सिरियल सुटमा जानु पर्ने छ ।’ उनले हातको घडी हेरे ।

चलचित्र बनाउने तयारी
कुराकानीको अन्त्यमा सन्तोषले आफू चलचित्र निर्माणको तयारीमा रहेको बताए । उनका छोरा र भतिज मिलेर चलचित्र निर्माण गर्न लागेका छन् । त्यसमा सन्तोषको पनि सहयोग रहने छ । उनी भन्छन्, ‘छोरा र भतिज चलचित्र निर्माण गर्ने भनेर लागेका छन् । त्यसमा म पछाडि बसेर सहयोग गर्ने विचारमा छु ।’ चलचित्र परिवारिक हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment