८ माघ, डोटी । नेपाल एकीकरणको अभियानका क्रममा पश्चिम गौणाको ईन्चार्ज भएर आएका सरदार अमरसिं थापाले पूर्वीचौकीको काँडामाण्डौंमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्ड द्वीप बाल्ने प्रचलन चलाए ।
मन्दिर निर्माणसंगै उक्त क्षेत्रको जमीन आफ्नो बिर्तामा रहेको घोषणा गरे । उक्त जमीन सो क्षेत्रका उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका तत्कालीन ५३ परिवारलाई जोतभोग गर्ने हक दिए ।
त्यसबेलाको ५३ परिवार अहिले करिब चार सय परिवार भएको छ । ती चार सय परिवार अहिलेसम्म लालपूर्जाबिहीन छन् ।
अमरसिं थापाले ‘जोताह’ भन्दै जोतभोगको हक दिएका स्थानीयवासीहरु न सुकुम्वासी छन् न जग्गाधनी ।
आफ्नो बिर्ताको जमीन जोतभोग गरेवाफल मन्दिरमा अखण्ड द्वीप बाल्न, अन्य पूजापाठ गर्न र मन्दिरको संरक्षण गर्न अमरसिं थापाले आदेश गरेका थिए । गुठीको अवधारणा अनुसार कुत उठाउन फौजदार अख्तियारी पनि दिएका थिए ।
अमरसिंह थापाको आदेशअनुसार स्थानीयहरु मन्दिरको व्यवस्थापनका लागि अहिले पनि कुत तिर्छन् । द्वन्द्वको समयमा निभेको अखण्ड द्वीप फेरी नियमित गरेका छन् ।
०४४ सालमा मालपोत कार्यालयबाट उनीहरुले ‘जोताह पूर्जा’ पाएका छन् तर उनीहरु जमीनका मालिक हुन सकेका छैनन् । ‘हामीले चलनभोग गरेको जग्गा नापजाँचसमेत भएको छ,’ आफ्नो समस्या सुनाउन जिल्ला सदरमुकाम सिलगढीमा पत्रकार सम्मलेन गर्दै स्थानीय गोरखवहादुर बोगटी भन्छन्, ‘तरपनि हामीले लालपूर्जा पाउन सकेका छैनौं ।’
वि.स. १८४६ मा गरिएको उक्त व्यवस्था अहिलेसम्म पनि आफूहरुले मान्नु परेको स्थानीय बताउँछन् । ‘यो दुई सय २९ वर्षमा देशमा अनेकौं परिवर्तन भए, अनेकौं व्यवस्था आए तर हाम्रा लागि उस्तै अवस्था छ,’ बोगटी भन्छन्, ‘फेरि पनि हामीले सलामी चढाउनु पर्ने, कुत तिर्नु पर्ने र भूमिहीन भएर बस्नु पर्ने भएको छ ।’
मन्दिरको व्यवस्थापनका लागि स्थानीयले २०७३ सालमा मालिका भगवती मन्दिर व्यवस्थापन समिति गठन गरिसकेका छन् । तरपनि उनीहरु सकुम्वासीकै रुपमा रहेका छन् । ‘लालपूर्जा भएका कारण हामीले आफ्नो जमीनको सही प्रयोग गर्न सकिरहेका छैनौं,’ एक स्थानीयले भने, ‘खेती गरेर खाने बाहेक न हामीले उक्त जग्गा बिक्री बितरण गर्न सक्छौं न कतै धितो राख्न सक्छौं ।’
लालपूर्जा नभएका कारण राज्यबाट पाउने मलखाद, बीउ, सिँचाइ सुविधाहरु पनि आफूहरुले नपाएको उनको भनाइ छ ।
सम्पत्ति आर्जन गर्ने पाउने, भोग चलन गर्न पाउने र बिक्री बितरण गर्न पाउने अधिकारबाट आफूहरु बञ्चित रहेको उनीहरुले बताएका छन् ।
जग्गा जोतभोग गरेवाफत आफूहरुले वर्षेनी नौ माना तेल, ६ माना घिउ, १९ किलो चामल र एक बोका दिइरहेको गोरख वोगटीको भनाइ छ । उनी भन्छन्, ‘मेरो करिव २० रोपनी जमीन होला, मैले कुत वाफत करिब २० हजार खर्च गर्नु पर्ने वाध्यता छ ।’
गाउँलेले कुत उठाएर वर्षभरीमा ४८ बोका र दुई राँगा अनिवार्य बलि दिनु पर्ने वाध्यता छ । दशैंको नवरात्रामा नौ दिनसम्म प्रत्येक दिन बोको बली दिनु पर्ने बोगटी बताउँछन् । ‘अखण्ड द्वीपको सबै खर्च पनि हामीहरु गाउँबाटै उठाउँछौं,’ उनले थपे ।
उक्त मन्दिरमा दशैं, चैते दशैं र मालिका पूणिर्माको दिन मेला लाग्ने गर्छ ।
स्थानीयले आफूहरुले चर्चेको जमीनको आफूहरुले लालपूर्जा पाउनु पर्ने माग राखेका छन् । गुठीमा रहेको जमीन रैकरमा परिणत गरी आफ्नो नाममा गरिदिन हुन उनीहरु आग्रह गर्छन ।
गुठी संस्थान ऐन अनुसार उक्त जमीन रैकरमा परिणत हुनसक्ने देखिएको मालिका गुठी बारेमा अध्ययन गरिरहेको खाद्य अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था याक नेपालका कार्यकारी निर्देशक डवल वमले बताए । ‘ऐनको दफा १३ अनुसार उक्त जमीन रैकरमा परिणत हुनसक्छ,’ उनले भने, ‘सायद उहाँहरुको पहुँच नभएर होला, अब पहल गर्नुभयो भने त्यो सम्भावना देखिन्छ ।’
उनले २०१६ सालमै बिर्ता उन्मुलन भईसकेको हुँदा बिर्ताको रुपमा सुरुवात भएको यो जमीन अव रैकर बनाउन सकिने बताए । निर्देशक वमले यस बिषयमा मातपोत कार्यालय डोटी पनि सकारात्मक रहेको आफूले पाएको जानकारी दिए ।
अध्ययनका क्रममा उक्त क्षेत्रमा रहेका करिब ६० दलित परिवारको नाममा जोताह पूर्जासमेत नरहेको पाइएको बमले जानकारी दिए ।
गुठीकै जमीन पनि केहीले २०४३ सालको नापीकै बेला रैकर बनाईसकेको पाइएको बमले बताए ।
प्रतिक्रिया 4