Comments Add Comment

मासु र हड्डी कारखानाले दुर्गन्ध फैलाएको स्थानीयको गुनासो

संसदीय समितिद्वारा उद्योगको निरीक्षण

७ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १८ को सौराह र २७ को उदयपुरमा सञ्चालित हड्डी र मासु कारखानाको संसदीय टोलीले निरीक्षण गरेको छ ।

कारखानाबाट वस्तीमा दुर्घन्ध फैलिएको स्थानीयको उजुरीपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य सांसदहरुले स्थलगत निरीक्षण गरेका हुन् ।

समिति अन्र्तगतको उद्योग उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ, सांसदहरु नवराज राउत, प्रमोदकुमार यादव, दिलकुमारी साह र हिराचन्द्र केसीको टोली उद्योग निरीक्षण गर्न पुगेका थिए ।

टोलीले बोन मिल्स प्रालि, मास प्लान्ट प्रालि, मध्यमाञ्चल बोन इन्ड्रष्ट्रिज प्रालि र हिरो मिट सप्लायर्सको निरीक्षण गरेका समितिका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए ।

के भन्छन् उद्योगका सञ्चालक ?

हिरा वफ मिट सप्लायर्स भैंसीको मासु प्रशोधन कारखाना हो । चिनियाँले सञ्चालन गरेको यस कारखानाले कच्चा मासु प्रशोधन गरेर विदेश निर्यात गर्दै आएको छ । टाउकोको भाग भने काठमाडौं पठाउने गरिन्छ ।

०७१ सालदेखि हाङ चाङ पाङले सञ्चालन गरेको उद्योग बीचमा बन्द थियो । तीन महिनअघि स्याउ खेम पाउले भाडामा लिएर उद्योग पुनः सञ्चालन गरिरहेका छन् ।

७५ जनाले काम गर्ने उद्योगमा १३ जना महिलासहित २४ जना म्यानमारका नागरिक, १ महिलासहित ४ जना चिनियाँ पनि छन् ।
दैनिक २५ देखि ३५ वटा भैंसी काटेर बेच्दै आएका सञ्चालक स्याउ खेम पाउले आफ्नो उद्योगले खासै दुर्गन्ध नफैलाउने दावी गरे । ‘बिहान सफा गर्छौ, मासुको काम गरेर फेरि सफा गरेर उद्योग बन्द गर्नुअघि सफा गर्छौ’ उनले भने ।

उनले अगाडि थपे ‘उद्योगबाट निस्केको पानी खाल्डोमा राख्ने गरेका छौं, चुन हालेर सफा पार्छौ, त्यो पानी त खेतमा सिञ्चाई गर्न स्थानीय किसान समेत आएर लगिरहेका छन् ।’ उद्योगले दैनिक ३ टन कच्चा मासु प्रशोधन गरेर सुकुटी बनाएर कलकत्ता हुँदै चीन निर्यात गर्दै आएको छ ।

वीरगञ्ज बोन प्रोेसेसिङ उद्योगका सञ्चालक अमर भनिने जितेन्द्रप्रसाद यादवले स्थानीय तहको चुनावपछि काम गर्न दवाव बढेको बताउँछन् । एकै ठाउँमा दुईवटा उद्योग सञ्चालन गर्दै आएका उनले भने ‘एउटा उद्योग २० वर्ष र अर्को ६ वर्षदेखि सञ्चालनमा छ । उद्योगभित्र बढी दुर्गन्ध हुने भए पनि बाहिर खासै जाँदैन’ उनले भने ।

उद्योगमा ३० जनाले रोजगारी पाएका र गाउँका मानिसहरुले हड्डी संकलन गरेर एकदेखि डेढ लाख रुपैयाँसम्म कमाइरहेका उनको भनाइ छ ।

चिनियाँले सञ्चालन गरेको मासु प्रशोधन केन्द्रबाट भन्दा हड्डी कारखाना बढी दुर्घन्धित थियो । सांसदहरुको टोलीले हड्डीमा तत्काल काग झुम्मिन नदिन जाली लगाउन र कर्मचारीको स्वास्थ्यमा ख्याल गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले भने अघिल्लो पटक निरीक्षण गर्दा भन्दा केही सुधार देखिएको बताए ।

स्थानीय भन्छन् : दुर्गन्ध फैलाउने उद्योग बन्द गर

सांसदको टोलीसँगको छलफलमा स्थानीय बासिन्दाले उद्योग बन्द गर्न माग गरे । मासु र हड्डी उद्योगका कारण स्याल र कुकुरको खतरा बढेको भन्दै उनीहरुले दुर्गन्धले घरमा बस्नै नसकेको गुनासो गरे । उद्योगको दुर्गन्धले सौराहटोल, भवानीपुर, उदयपुरघुर्मी, जगरनाथपुरलगायतका गाउँका बासिन्दा समस्यामा छन् ।

स्थानीय प्रेमप्रताप कुर्मीले गाउँमा एक्लै मान्छे हिँड्न नसक्ने अवस्था बनेको बताए । ‘स्याल र कुकुरले टोकेर बालबालिका र पशु चौपाया घाइते भइसकेका छन् । डरले बालबालिका विद्यालय जान मान्दैनन्’ उनले भने ।

गाउँमै रहेको श्रीराम जानकी मन्दिरका पुजारी शम्भुदास त्यागीले बिहान बेलुका मन्दिर बस्नै नसक्ने गरी दुर्गन्धित हुने गरेको बताए । गाउँकै बलिष्टर यादवले भने ‘उद्योगधन्दाको हामी विरोधी होइनौं, तर दुर्गन्ध फैलाउने उद्योग बन्द हुनुपर्छ ।’

वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रम्हदेव राउत कुर्मीले दुर्गन्धका कारण स्थानीयले महिनामा हजारौं रुपैयाँ अगरवत्तीमा खर्च गर्नुपरेको बताए । उनले भने ‘रात विरात चोरेर भैंसी ल्याउने र बाउन्सर राखेर चलाउने उद्योग बन्द हुनुपर्छ । स्थानीयको माग यही छ ।’

समस्या समाधान गर्ने सांसदको आश्वासन

उपसमितिका संयोजक सांसद कृष्णकुमार श्रेष्ठले स्थलगत अध्ययनबाट आएको प्रतिवेदन मूल समितिमा लगेर बुझाउने बताए । उनले समितिले स्थानीयलाई परेको समस्या समाधान गर्ने दावी गरे ।

‘उद्योगले गरिरहेको उत्पादन स्थानीय किसानलाई पनि काम लाग्ने खालकै छ । मलखाद, कुखुराको दाना, औषधीको क्याप्सुलको खोल, टाँक बनाउन हड्डी नै काम लाग्ने रहेछ । बाहिर निकासी समेत भइरहेको छ’ उनले भने ।

श्रेष्ठले थपे ‘नियमित सरसफाइ र औषधी छर्कने हो भने त्यति दुर्गन्ध बाहिर आउने पनि रहेनछ । विदेशी मात्रै नभएर नेपालीले नै गरेको लगानी सुरक्षित गर्नु पर्ने हुन्छ । कसरी व्यवस्थापन गर्न सकिन्छ गर्छौं, तपाईहरु ढुक्क हुनुहोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment