Comments Add Comment

कुहिनाले ठेलेर कांग्रेसले गैरसंसदीय व्यवहार देखायो : शिक्षामन्त्री पोखरेल

८ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गैरसंसदीय व्यवहार देखाएको आरोप लगाएका छन् ।

मंगलबार कांग्रेसको अवरोधबीच शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न आफू रोष्टम जान लागेका बेला कांग्रेस सांसदहरुले कुहिनाले ठेलेको उनले बताए ।

‘कांग्रेसका कतिपय साथीहरुले मन्त्रीलाई कुहिनाले घोच्न मिल्छ ? त्यो ढङ्गले जान मिल्छ ? त्यो संसदको गरिमाभित्र पर्छ ?’ बैठकपछि पत्रकारहरुसँग मन्त्री पोखरेलले भने, ‘जुन शैली देखाउनुभयो त्यो धेरै राम्रो कुरा भित्र पर्दैन । मेरो स्वभाव पनि त्यस्तो छैन ।’

मंगलबार पनि कांग्रेसले पूर्व–प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको भन्दै प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै उठेर विरोध गर्‍यो । तर विरोधका बीच सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेस गर्न समय दिएका थिए ।

विधेयक पेस गर्न गएका मन्त्री पोखरेललाई कांग्रेसका सांसदहरुले रोष्टम जानबाटै रोकेका थिए । मन्त्री पोखरेलले विधेयक पेस गर्न मन्त्रीलाई रोष्टममै जान नदिने यो कस्तो प्रवृति हो ? भन्दै प्रश्न गरेका छन् ।

कांग्रेसको अवरोधपछि बैठक १५ मिनेट स्थगित गरिएको थियो । त्यसपछि बैठक सुरु गर्न बैठकस्थल प्रवेश गर्न लाग्दा कांग्रेस सांसदले सभामुखलाईसमेत अवरोध गरेको शिक्षामन्त्री पोखरेलले बताए । ‘सभामुखलाई आफ्नो चेम्बरबाट हाउसम्म जान नदिने अहिलेसम्म देख्नुभएको छ ? यो रबैया गैरसंसदीय रबैया भएन ?’ उनले प्रश्न गरे ।

वैशाखदेखि नयाँ शैक्षिकसत्र समेत सुरु हुने भएकाले चिकित्सा शिक्षा विधेयक पास गर्न ढिला भइसकेको भन्दै उनले मन्त्री पोखरेलले विधेयक डा.गोविन्द केसीसँग सरकारले गरेको सम्झौता अनुसार नै आएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment