Comments Add Comment

डण्डा नदीमा रमणीय पार्क बनाउने सिद्धार्थनगरको प्रस्ताव

९ माघ, बुटवल । तीन दशक अघिसम्म पौडी खेल्न मिल्ने नदीमा स्थानीयले जथाभावी फोहोर फाल्दा अहिले दुर्गन्धित र कुरुप छ । मरेका पशु–पंक्षी र सडेगलेका फोहोरका डंगुर नदीमा फालिँदै आएको छ । सिद्धार्थनगर नगरपालिका आफैंले वडा नम्बर २ को मेउडिहवामा नदी छेउमा फोहोर फाल्दै आएको छ । जसले गर्दा नदीको पानी दूषित भएको छ नै, पौडी खेल्न त के छुन समेत नमिल्ने अवस्था छ । दुर्गन्धले नदी छेउमा उभिनै सकिँदैन । वरपर जाँदा नाका छोपेर हिँड्नुपर्ने बाध्यता छ ।

यस्तो बेहाल डण्डा नदीको मुहार फेर्ने र आकर्षक पर्यटकीय गन्तव्य बनाउने सिद्धार्थनगर नगरपालिकाले प्रस्ताव गरेको छ । स्थानीय सरकारले डण्डा नदीको संरक्षण र प्रबद्र्धन गरी पर्यटकीय स्थलकारुपमा विकास गर्न डण्डा करिडोरको अवधारणा अघि सारेको छ ।

नगर क्षेत्रभित्र पर्ने नदीको १५ किलोमिटर क्षेत्रलाई पाँच– पाँच किलोमिटरमा गरी तीन भागमा विभाजन गरेर बहुउद्देश्यीय अवधारणा अघि सारिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । जसअन्तर्गत वडा नम्बर ९ र १२ मा पर्ने ५ किलोमिटरलाई कृषियोग्य भूमि, ३ र १३ पर्ने ५ किलोमिटरलाई रिक्रियसन सेन्टर तथा वडा नम्बर १, २ र ३ को केही भू–भागमा पर्ने ५ किलोमिटर क्षेत्रलाई समेटेर शैक्षिक तथा अनुसन्धान क्षेत्रका रुपमा विकास गर्ने अवधारणा बनाइएको अधिकारीले बताए ।

तत्कालका लागि भने भैरहवा–परासी सडक खण्डअन्तर्गत शान्तिनगरको डण्डा पुलदेखि भैरहवा–बेलहिया खण्डअन्तर्गत वडानम्बर तीन र एक जोड्ने पाँच किलोमिटर क्षेत्रलाई विकास गर्ने गरी अवधारणा अघि सारिएको हो । यो ५ किलोमिटर क्षेत्रलाई पनि तीन भागमा विभाजन गरी विकास गरिने अधिकारी बताउँछन् ।

‘हामीले सिद्धार्थनगरलाई साँच्चिकै पर्यटकीय हबका रुपमा विकास गर्न यो अवधारणा ल्याएका हौं’, नगर प्रमुख अधिकारीले भने– ‘योजना सफल भएपछि यसले नगरको मात्रै होइन, जिल्ला र प्रदेशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।’

नगरपालिकाको अवधारणा अनुसार तत्कालका लागि काठमाडौंको नेष्ट÷एनएसी÷एडिए जेभी संस्थाले नक्शांकन तयार पारेको छ । ‘हाललाई नक्सा मात्रै बनाइएको हो, डीपीआरका लागि पहल गरिरहेका छौं’–उपप्रमुख उमा काफ्लेले भनिन् । डीपीआर नबन्दै करिडोर निर्माण गर्न अनुमानित साढे तीनदेखि चार अर्ब लाग्ने वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले एशियाली विकास बैंक, शहरी विकास मन्त्रालय र प्रदेश पाँच सरकार समक्ष अवधारणा पेश गरिएको बताए ।

प्रदेश सरकारका मुख्य सचिवले वार्षिक एक अर्बका दरले बजेट उपलब्ध गराउने संकेत समेत गरेका श्रेष्ठले बताए । अहिले नदी छेउछाउ तीव्र बस्ती विकास भइरहेको छ । २० वर्षको अन्तरालमा नदी नजिक करिब दुईसयको हाराहारीमा घर बनिसकेका छन् ।

निर्माण सकिएपछि आन्तरिक तथा बाह्य पर्यटकको हब बन्ने छ’, बरिष्ठ इन्जिनियर श्रेष्ठले भने, ‘नदी संरक्षणसँगै डुबानको समस्या समाधान हुन्छ नै पर्यटकको आकर्षण समेत बढ्छ । जसले आन्तरिक स्रोत बृद्धि हुन्छ ।’ उनले भैरहवा लगायत लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन समेत योजना महत्वपूर्ण सावित हुने जनाए ।

स्थलमार्गबाट बर्सेनी डेढ लाख बढी तेस्रो मुलुक र दुई लाख बढी भारतीय पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी पुग्छन् । यस्तै हवाई मार्गबाट पनि उत्तिकै पर्यटक लुम्बिनी आउँछन् । लुम्बिनीमा मात्रै वर्षमा १२–१३ लाख आन्तरिक पर्यटक आउँछन् । गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको संख्या दोब्बर हुने अनुमान छ । ती पर्यटकको बसाई लम्ब्याउन पनि डण्डा करिडोरले योगदान गर्ने नगरपालिकाको दाबी छ ।

करिडोरमा पर्यटकीय संरचनाहरु बनेपछि कम्तिमा भैरहवा–लुम्बिनी क्षेत्रमा दुईरात पर्यटक बास बस्ने, आम्दानीको स्रोत बृद्धि हुने अनि भिसा शुल्कवापत राज्यकोष पनि बढ्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् ।

स्थानीय तहले इञ्जिनियरमार्फत आकर्षक नक्शा डिजाइन बनाएर प्रचार गरे पनि योजनाको कार्यान्वयन चुनौतीपूर्ण पाटो हो, जुन हेर्नै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment