
९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीमाथि सवारी साधनको प्रयोगमा कडाइ गरेको छ । कर्मचारीको लापरवाहीले गाडी दुर्घटना भए कार्यालयले क्षतिपूर्ति समेत नव्यहोर्ने महानगरपालिकाले स्पष्ट पारेको छ ।
महानगरपालिकाका सहसचिव डा. टोकराज पाण्डेले सूचना जारी गरेर सबै विभाग, आयोजना, सचिवालय, एकाइ, महाशाखा, कार्यक्रम, परियोजना, शाखा, वडा कार्यालयका कर्मचारीलाई सचेत गराएका हुन् ।
महानगरपालिकाको स्वामित्व र भोगचलनमा रहेका साधनहरुको सुरक्षा, संरक्षण, कानुनी दायित्व पालना, मर्मतसम्भार, सरसफाइ र सदुपयोगको प्रत्याभूतिका लागि कडाइ गरिएको सूचनामा उल्लेख छ ।
दुई पाङ्ग्रे, हलुका र भारी सबै प्रकारका सवारी प्रयोग गर्दा स्वीकृति पाएका कर्मचारीले मेकानिकल महाशाखाबाट अनुमति लिएर मात्र प्रयोग गर्न भनिएको छ ।
जिम्मा लिएका बाहेकले सवारी नचलाउन, समयमै मर्मत सम्भार गर्न र दुर्घटना भए सम्बन्धित कर्मचारी नै जवाफदेही हुने सूचनामा उल्लेख छ ।
महानगरपालिकाका सवारी साधनको व्यवस्थित प्रयोगका लागि यस्तो गरिएको प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । ‘कडाइ गर्न खोजेको होइन, मनपरी र अव्यवस्थित हुन नदिउँ भन्ने हो’, उनले भने ।
प्रतिक्रिया 4