
९ माघ, बाग्लुङ । विवाहको भोजमा जातीय विभेद गरेको आरोपमा ढोरपाटन नगरपालिका–५ बाग्लुङका लोकबहादुर बुढा पक्राउ परेका छन् ।
स्थानीय बिहेभोजमा खानाको विषयलाई लिएर लोकबहादुरले निशीखोला गाउँपालिका– २ का ५१ वर्षीय ओमबहादुर रसाइलीलाई विभेद गरेको भन्दै ओमबहादुरले मंगलबार इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए ।
निवेदन आएपछि प्रहरीले मुद्दा दर्ता गर्नका लागि जिल्ला जिल्ला प्रहरी कार्यालय बाग्लुङमा ल्याएको छ ।
नेपालको कानूनले जातीय विभेदलाई फौजदारी अपराध मानेको छ ।
रसाइलीको वयान उनकै शब्दमा–
सोमबार ढोरपाटन–५ मा गीता पुनको बिहे थियो । बिहेको निम्तो मान्नका लागि म पनि त्यहाँ पुगेको थिएँ । बिहेमा दुईवटा भान्साको व्यवस्था गरिएको थियो । एउटा भान्सा ब्राह्मणको थियो भने अर्को मगर र दलितको । तर, कुनै पनि भान्सा दलितलाई छुन मनाही थियो, परै बसेर थाल थापी खानुपथ्र्यो ।
मलाई युरिक एसिडको समस्या छ । त्यसैले, मगरको भान्सामा खाँदा समस्या बल्झेलाजस्तो लाग्यो र थाल लिएर बाहुनको भान्सामा पुगेँ । परैबाट थाल थापें र छुट्टै खान बसें ।
बिहेमा भोज खानेको भीड थियो । केही छिनपछि लोकबहादुर आएर थर्काउन थाले, ‘त कामी भएर किन नजिक बसेर खाएको, अलि पर गएर खान सक्दैनस् ?’
ठूलो ठूलो स्वरमा उनले मेरो बेइज्यत गरे । मलाई खानै मन लागेन । खाना त्यहीँ छाडेर घर फर्किएँ ।
घर फर्केपछि लाग्यो, हामीले कतिदिनसम्म यसरी सार्वजनिक ठाउँमा यसरी बेइज्यती खप्ने ? त्यसैले अधिकारकर्मी अशोक विकलाई भेटेर सबै कुरा बिसाएँ । त्यसपछि हामी प्रहरीमा निवेदन दिन गयौँ ।
प्रतिक्रिया 4