Comments Add Comment

भोलि चिकित्सा विधेयक पारित गर्ने कोशिस हुन्छ : सभामुख महरा

का‌ंग्रेसलाई संसदीय मर्यादा नभुल्न आग्रह

१० माघ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न भोलि पनि शान्तिपूर्ण तरिकाले कोशिस गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले शुक्रबार बस्ने संसद बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताएका हुन् । ‘भोलि पनि शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न कोशिस हुन्छ’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको बेला सभामुखले यस्तो बताएका हुन् । सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए । ‘सत्तापक्ष जसरी पनि गर्नुपर्छ भन्नेमा छ, प्रतिपक्ष जसरी पनि रोक्न खोज्छ, यसमा मैले मिलाउन खोज्ने हो’ सभामुख महराले भने ‘सरकारले छिटो गर्नुपर्छ भनेको छ, त्यो त मान्नुपर्छ, केही न केही भोलि निश्कर्ष निस्केला आशावादी छु ।’

सभामुख महराले कांग्रेसलाई मर्यादित भएर संसदीय व्यवस्था अवलम्बन गर्न आग्रह गरेका छन् । ‘लामो समयदेखि संसदीय व्यवस्थामा अभ्यस्त हुँदै आउनुभएका उहाँहरुलाई मर्यादित भएर संसदीय व्यवस्थामा लाग्न मेरो अनुरोध छ’ उनले भने ।

मंगलबारको संसद बैठकमा कांग्रेस सांसदहरुले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न रोष्टम जानबाटै रोका थिए । यस विषयमा नेकपा सांसद योगेश भट्टराईले विगतमा पनि मन्त्रीले रोष्टममा नगई प्रस्ताव प्रस्तुत गरेको नजीर रहेको बताएका थिए । तर सभामुख महराले भने ‘ सकेसम्म पहिले भएको नजीर नदोहोर्‍याउँ भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment