Comments Add Comment

प्रतिनिधिसभा बैठकमा आज के होला ?

११ माघ, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको गलफतीमा फसेको प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तयारी गरेको छ । शुक्रबारका लागि बोलाइएको बैठककबाट विधेयक पारित गर्ने कार्यसूची संसद् बैठकले तय गरेको हो ।

संघीय संसद्का महासचिव मनोहर भट्टराईले आजको बैठकको कार्यसूची चिकित्सा शिक्षा विधेयक पेस तथा पारित गर्ने रहेको जानकारी दिए ।

संसदले विधेयक अघि बढाउने तयारी गरे पनि कांग्रेस यसलाई अघि बढ्न नदिने रणनीतिमा छ । विगतका सहमतिबाट पछि हट्दै सरकारले बेइमानीपूर्वक विधेयक तयार पारेकाले त्यसमा संशोधन हुनुपर्ने माग कांग्रेसको छ ।

विपक्षीले पेलेको भन्दै उसले त्यसको प्रतिक्रियास्वरुप संसदमा अवरोध गर्दै आइरहेको छ । गत मंगलबार र बुधबार विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए पनि कांग्रेसको अवरोधले रोकिएको थियो ।

सभामुख कृष्णबहादुर महराले बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शान्तिपूर्ण रुपमा विधेयक पारित गर्न छलफल भइरहेको बताएका थिए । यद्यपि, योबीचमा सत्तापक्ष र प्रतिपक्षबीच ठोस सहमति बन्न सकेको छैन ।

मुठभेडको खतरा

सरकार कुनै पनि हालतमा विधेयक पारित गराउने पक्षमा खुलेर लागेको छ । सभामुख कृष्णबहादुर महराले बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै शुक्रबार विधेयक पारित गर्ने बताएका थिए । तर, प्रतिपक्ष नेपाली कांग्रेस विधेयक पारित हुन नदिने रणनीतिमा छ । २ दिन संसद् अवरोध गरिसकेको कांग्रेस त्यसलाई अझै निरन्तरता दिने पक्षमा छ ।

यसले संसद्मा सम्भावित मुठभेडको खतरा देखाएको छ । मुठभेडको खतरा बढेपछि संसद् सचिवालय त्यसको पूर्वतयारीमा जुटेको छ ।  सचिवालयका अनुसार, अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment