+
+
Shares

डा. केसीका राजनीतिक माग पूरा हुँदैनन : शिक्षामन्त्री पोखरेल

'केसीले अनसन फिर्ता लिएर सहयोग गरिदिनुपर्‍यो '

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १६:५३

११ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले अनसनरत डा. गोविन्द केसीलाई अनसन स्थगन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पत्रकारहरुसँग मन्त्री पोखरलले वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पनि विधेयक पास गर्न हतार गर्नुपरेको प्रष्टीकरण दिए । ‘संसदको प्रक्रियामा गएको छ । जनप्रतिनिधि संस्थाले अगाडि बढाएको छ’, मन्त्री पोखरेलले भने, ‘यसको गरिमालाई, पद्धतिलाई, संस्कृतिलाई सम्मान गर्दै उहाँले अनसनलाई फिर्ता लिइदिएर नयाँ ढङ्गले कार्यान्वयनको लागि सहयोग गर्ने वातावरण बनाइदिन पर्‍याे ।’

मन्त्री पोखरेलले डा.केसीको स्वास्थ्यबारे सरकार चिन्तित रहेको उल्लेख गरे । ‘डा.केसी अहिले अनसनमा बसिराख्नुभएको छ । उहाँको स्वास्थ्य अलिकति बिग्रियो भनेर हामीले नै इलामबाट काठमाडौं ल्यायौं । उहाँको स्वास्थ्यप्रति हामी एकदम चिन्तित छौं,’ उनले भने ।

विधेयकले डा. केसी र चिकित्सा शिक्षा सुधारका लागि लागेकाहरुले गरेको मागलाई सर्वाधिक धेरै समेटेको मन्त्री पोखरेलको दावी छ । ‘हामी प्रक्रियागत ढङ्गले पनि सही दिशामा छौं । अन्तरवस्तुको दृष्टिकोणले पनि अहिलेसम्म भएको डा. केसी र चिकित्सा शिक्षा सुधारका लागि लाग्नुभएकाहरुले गर्नुभएका मागलाई यसले सर्वाधिक धेरै समेटेको छ,’ उनले भने ।

०६९ सालदेखि चिकित्सा शिक्षा क्षेत्रमा आवाजहरु उठ्दै आएकोमा सक्रमणकालमा विकृति विसंगति पनि धेरै खालका आएको तर, त्यसलाई अहिलेको विधेयकले समेट्ने उनले बताए ।

केसीका राजनीतिक माग पूरा हुँदैनन्

शिक्षामन्त्री पोखरेलले केसीका राजनीतिक माग यसै पुरा नहुने पनि बताए । ‘केसीका स्वास्थसँग सम्बन्धित माग ठिक होलान तर अन्य उहाँका राजनीतिक माग पनि छन्’, उनले भने, ‘त्यो यसै पूरा हुँदैनन।’

प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयक ६० दिनभित्र राष्ट्रिय सभामा जानेछ । दुबै सदनबाट पारित भएपनि विधेयकले ऐनको रुप लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?