Comments Add Comment

जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह, मृतकको संख्या ७ पुग्यो

Photo Credit : Bikram Rauniyar/onlinekhabar

११ माघ, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती सवार बसमा करेन्ट लाग्दा सात जनाको मृत्यु भएको छ । सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा शुक्रबार साँझ सवा ७ बजेतिर करेन्ट लागेको थियो ।

बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा अस्पताल ल्याउँदाल्याउँदै मृत्यु भएको छ । ३ महिला, १ बालिका, १ बालक र एक जना पहिचान हुन बाँकी व्यक्ति गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको प्रजिअ कँडेलले जानकारी दिए ।

मृतकमध्ये रामबाबु अधिकारीको मात्र सनाखत भएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै सेना, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई सशस्त्र, प्रहरी, एम्बुलेन्सकर्मीहरुले जनकपुर अञ्चल अस्पतालतर्फ लगिरहेका छन् । तर, घाइतेहरुको संख्या एकिन भइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कँडेलले जनकपुर अन्चल अस्पतालको आकस्मिक कक्षमा घाइतेहरुको उपचारका लागि सबै प्रवन्ध मिलाइएको जानकारी दिए । ‘मेसुसहित स्वास्थ्यकर्मी र चिकित्सकको टोली ठूलो संख्यामा अस्पतालमा तैनाथ छन्, म पनि अस्पतालमै बसेर उपचारको प्रवन्ध मिलाइरहेको छु,’ प्रजिअ कँडेलले अनलाइनखबरसँग भने, ‘औषधिहरु पनि उपलब्ध रहेको जानकारी अस्पतालले दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment