
१२ माघ, काठमाडौं । उच्च पहाडी क्षेत्रमा हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । यद्यपि हिमपातले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् ।
हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी-कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । सो क्षेत्रमा चार-पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको र बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
यसैगरी बाजुराको कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिकामा सञ्चार सुविधा विच्छेद भएको छ ।
पर्वतमा पनि हिमपात
पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेपछि जनजीवन प्रभावित बनेको छ । शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
वर्षासँगै भएको हिमपातले उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ । चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको संख्या हृवात्तै बढेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।
बाग्लुङमा पाँच वर्षपछि हिमपात
बागलुङको काठेखोला गाउँपालिका-४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि हिमपात भएको छ । बिहुँ, ठानडाँडा, शिवालय, घोडाबाँधे, कर्लेम, लेखानीलगायतका गाउँ हिउँले सेताम्ये देखिएका छन् ।
काठेखोला गाउँपालिका-४ का वडा सदस्य शिवलाल कँडेलले पाँच वर्षपछि हिउँ परेको जानकारी दिए । स्थानीयबासी र घुम्न आएका पर्यटकहरु बिहानैदेखि हिउँ खेलेर रमाएका छन् ।
गुल्मी जिल्लाका उच्च स्थानमा पनि हिउँ परेको छ ।
प्रतिक्रिया 4