Comments Add Comment

अफसाइड : करे सार्की !

नाम- करे सार्की । कस्तो सुनिन्छ ? यसरी सम्बोधन गर्दा उनलाई आफ्नो नामप्रति कहिल्यै गर्व महशुस भयो होला ?

करे सार्कीलाई सोध्नुपर्ने यो प्रश्न आजभोलि तपाईलाई सोध्न मन लाग्छ ।

हो, नाम करे सार्की । काम – कट्वाल ।

कट्वाल कराउने करे सार्कीलाई नजिक देख्दा गाउँले ‘करे दाइ’ भन्थे । हिडेपछि उनीहरुले नै भन्थे, करे सार्की । कतिले बाटोमा देखेपछि हाकाहाकी भनिदिन्थे – ‘कता हिड्यौ करे सार्की ?’ यस्तो सम्बोधन उनको लागि अनपेक्षित होइन । त्यसैले, सहजै शालिन उत्तर फर्काउँथे ।

मलाई पनि थाहा छैन उनको वास्तविक नाम के हो । उनको फाटेको ढाकाटोपी र सुरुवालजस्तै नाम पनि प्रयोगविना थोत्रिदै छ । उनी आफैले पो भुलिसकेकी की आफ्नो नाम ! मृत्यूपछि पनि उनको असली नाम सायदैले लिनेछन् । किन हरायो उनको बास्तविक नाम ? कसले निल्यो ? उनको नाम गायव बनाउने को हो त्यो नाम चोर ?

०००

मैले करे बाजेलाई नभेटेको १२ वर्ष भयो । किनकि मैले घर छाडेको पनि त्यति नै समय बित्यो । मेरी आमाले सम्बोधन गर्नुहुन्थ्यो, ‘करे मामा’ । त्यसैले उनीसँगको मेरो नाता – करे बाजे ।

तर, करे बाजे पटक-पटक मेरो दिमाग गिजोल्न आइपुग्छन् । केही वर्ष भयो, जव करे बाजेलाई सम्झीन्छु, मन नै भरिएर आउँछ । अनि मुखबाट निस्कन्छ, ‘विचरा करे बाजे !’

म अलिकति मान्छे चिन्ने भएपछि सबैभन्दा बढी देख्ने उनैलाई थियो । दाउरा चिर्न पर्‍यो – करे बाजे । गाह्रो चिन्नुपर्‍यो – करे बाजे । जोत्नुपर्‍यो – करे बाजे । कसैलाई निम्ता भन्नुपर्‍यो – करे बाजे….

यसरी हरेकको घरमा धाइराख्ने करे बाजेका खुट्टा पट्पटी फुटेका हुन्थे । बाटाको चाप्पलमा हुन्थे, त्यो पनि कपडाले गाँसेको । उनको खुट्टामा जुत्ता कहिल्यै देखिन । सुरुवाल लगाउँथे । खुइलिएको सुरुवाल । त्यो लेकको चिसोमा जोतेर थाकेका करे बाजेसँग बसेर मकै-भट्मास र चिया खादा खुव मजा आउँथ्यो । मकै तोक्दै आग्रह गर्थेँ, – एक पटक लेडुकामा चढाइ दिनु न है ।’

विश्वास खड्काथोकी

म लेडुकामा बसेपछि बाजेले बेस्मारी गोरुको पछुर निमोठ्ठे र पुत्याउँथे लेडुका । मेरा कलिलो शरिरले लेडुकाको बेगलाई व्यालेन्स गर्न गाह्रो पथ्र्यौ । खस्थेँ । फेरि धुलो बारीमा जाँगे समाउँदै लेडुका भेट्याउन पछिपछि दगुर्थेँ ।

तर, करे बाजेको खास काम अर्को थियो । एकाविहानै एक घण्टा उक्लीएर डाँडामा पुग्ने र घोक (कट्वाल कराउने) हाल्ने । उनकै सूचनाले गाउलेले झरालीको खवर थाहा पाउँथे । उनकै सूचनाको आधारमा मानिसहरु चौतारीमा पुग्थे र झगडा मिलाउँथे । सभामा गर्थे, राजनीतिक छलफल गर्थे । गाउँको नीति निर्माणमा जुत्थे । सम्झदा यस्तो लाग्छ उनी वफदार पत्रकार थिए, समाजलाई सन्तुलनमा राख्ने कडी थिए, जनताको अभावमा साथ दिने कर्मबीर थिए । या यसो भनौँ अप्ठ्यारो पर्दा झुल्कीदिने – भगवान थिए ।

०००

म अलिकति ठूलो भएँ, स्कुल हिड्ने उमेरको । उनकै घर हुँदै एक घण्टा हिडेर स्कुल पुग्नुपथ्र्यौ । त्यतिबेलै हो करे बाजेको घर देखेको मैले ।

त्यसपछि थाहा पाउँदै गए की उनी कसरी बाँच्दै छन् ?

मेरो घरबाट पाँच मिनेटमै पुगिन्थ्यो उनको घर । अरुकोभन्दा उनको घरमा एउटा फरक थियो । त्यो के भने चारपाटे नभएर उनको घर गोलो थियो । उनको घरको खरको छाना निकै होचो थियो । उमेर पुगेकाहरुलाई निहुरिएपछि मात्र छानाले पीडिमा टेक्ने अनुमति दिन्थ्यो । उनको एक छोरा थिए । हामी सँगै स्कुल जन्थ्यौँ । तर, दुई कक्षा फेल भएपछि उनी सिलाङको बाटो तय गरे ।

धम्जा गाविस । वार्ड नम्बर – ४ । र, टोलको नाम – रामचालु । सिंगै डाडाको नाम थियो रामचालु । तर, पाँच सय मिटरको दुरीमा थिए त्यस्तै १२/१३ घर । अधिकांश सार्की बस्ती, तीन कामी र दुई मगरका घर । तर, वडाको दुई तिहाई बस्ती मगरको थियो । प्राय मगरको दैलामाथि भारतीय सैनिकको फुलिमा राइफल भिरेर छट्के टोपी लागाएको फोटो सजिएको हुन्थे ।

लेकको जमिन त्यति धेरै आम्दानी हुन्थेन । उखान नै छ नी लेकको खेती मुरि छरे १५ पाथी । तर, अन्न भित्राउने बेला भने करे बाजेकी श्रीमति गाउँमा देखा पर्थिन् । चोयाले बुनेको रित्तो डोको बोकेर गाउँ डुल्थीन् । प्रत्येक घरबाट एक एक पाथी अन्न दिन्थे । तलैबाट(नछोइने गरि) दोकोमा अन्न थाप्थिन् र घर भित्राउँथिन् । त्यति बेला करे बाजे कसैको हलो जोतिरहेका हुन्थे, की त डाडाबाट घोक हालिरहेका, सुन्नु होला हो ….

यसरी समाजलाई योगदान दिने करे बजेको जिजिविशा किन कहिल्यै परिवर्तन भएन ? किन साँघुरो गोल घर फराकिलो चारपाटे बनेन ? कठ्यांग्रीदो चिसोमा चप्पल पड्काउने उनको खुट्टामा किन जुत्ता देखिएन ? दिनदिनै अनुहारको रङ विग्रदै जादा किन कपडाको रङ चकिलो बनेन ? किन कसैले इज्जतिलो गरि नाम लिएन ?

यसको जवाफ कहिल्यै खोजेनन करे, विरे, सेते, राते, काले सार्कीहरु । त्यसको एउटा मात्र कारण भनेको मेरो देश र समाजले उनीहरुलाई कहिल्यै उठ्न नसक्ने गरि किच्यो, थिच्यो । प्रश्न उठाउनै नसक्ने गरि मुख थुन्यो र दास बनाइरह्यो ।

यदि दलितले पढेकै भरमा कुनै समय कानमा झिर ठोकिने थिएन र करे सार्कीहरुले पनि अक्षर चिन्न पाएका भए दक्षिण अमेरिकाका मार्टिन लूथर किङ जुनियरले पोव र धर्मग्रन्थमाथि प्रश्न उठाएजस्तै उठाउन सक्थे ।
काला जातिले गाडीमा गोरालाई सिट नछोडिदिँदा पुलिसले गिरफटार र जरिवाना गरेपछि लुथरकिङहरुले सार्वजनिक नगर बस बहिस्कार गरेजस्तै करे सार्कीहरुले पनि समाजलाई थप्प पारिदिन सक्थे । अगष्ट २८, १९६३ मा किङ(जुनियर)ले भनेजस्तै करे बाजेहरुले पनि जस्तै भन्न सक्थे, ‘मसँग सपना छ, एक दिन मुलुकमा मेरा ४ जना सन्तानहरूलाई जात र रंगका आधारमा होइन कि उनको चरित्रका आधारमा मुल्यांकन गरिनेछ ।’ या नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामाजस्तै करे सार्कीहरुले पनि डाँडामा गएर घोक हाल्ने मात्र होइनकी समानताको विगुल फुक्ने थिए । डा. भीमराव अम्बेडकरले जस्तै विभाजनको रेखा कोर्ने कथित हिन्दु धर्मको खुलेर विरोध गर्ने थिए र अशिक्षितलाई पढ्न प्रेरणा दिने थिए ।

तर, करे सार्कीहरु आफ्नो जन्म र भाग्यलाई दोष दिनै कष्टकर जीवनलाई सहर्श स्वीकार्न तयार भए । या भनौं तयार पारियो ।

उनीहरुको लागि समाजमा एउटा गम्भीर आरोप छ, ‘करेजस्ताहरु रक्सी खाएर समाजकै व्यइज्जत गर्छन् ।’ हो उनी महिनामा दुई/चारपटक रामचालु डाडाबाट कुर्लिदै, हल्लीदै घर र्फकन्थे । घर आएको बेला गाउँले भन्थे, ‘करे दाई थोरै चाख्छौ र ?’ उनले टाढैबाट गिलास थाप्थे र चाख्ने मात्र थिएनन्, दुई-चार गिलास नै पिइदिन्थे । अनि भाँडा माझेर बत्तिँदै वाटो लाग्थे । त्यही बेला हो उनीहरुले आफ्नो पीडा ओकेल्ने । आफ्नो कथा सुनाउने । आफ्नो कथा सुनाउन पनि उनीहरुले रक्सीको सहारा लिनुपथ्र्यौ । अझ बढी त उनको घर नजिकैका हस्ते सार्कीले पिउथे । जसको काम गाउँभरीका थोत्रा जुत्तालाई टालेर नयाँ जीवन दिने थियो ।

तर, कसैले सोधेन या बुझेन कि करेहरु किन रक्सी खान्छन् ? यदि कसैले सोधेको भए उनले बडो आनन्दका साथ भनिदिन्थे, ‘समाजले मलाई हेपेको पीडा अलिकति पिएर विर्सने प्रयास गर्छु ।’

०००

आफुले नलगाउने तर, अरुको जुत्ता सिलाइदिने हस्ते भारिका भारि अपमान बाकेर तीन वर्षअघि स्वर्गको बाटो तय गरिसकेका छन् । करे बाजे उमेर ६० बढी पुगिसके ।

आजभोली मोवाइल र प्रविधिले करे बाजेको कटवाल पेसा निलिदिएको छ । उनकी श्रीमति पनि पहिलेजस्तो डोको बोकेर बाली उठाउँन हिँड्दिनन् । यसको परिणाम के भने उनको गाँस संकटमा छ । पेसा खोसिए पनि इमान लिलाममा छ । के करे बाजेले ३० वर्ष समाजका लागि दिएको योगदान मूल्य यही थियो ?

हामी पनि मानिस हौँ भनी १९९४ मै भगत सर्वजीत विश्वकर्माले आन्दोलनको सुरुवात गरे । यस्तै मुद्दाहरु बोकेर उठेको दलित आन्दोलन प्रजातन्त्रभन्दा पुरानो हो । यही आन्दोलनको उपलब्धीस्वरुप आएको जावो आरक्षणको पनि धुमधाम विरोध गरिरहेछन् गैरदलित शिक्षितहरु र दमन कामयमै राखेका छन् । सँयौ वर्षदेखिको उत्पीडनको मूल्य दुईचार जना भर्ती हुने आरक्षणले हुन्छ ?
यतिबेला भारतीय संविधानको निर्माता डा. भीमराव अम्बेड्करको भनाइ सापटी लिऊँ, ‘जबसम्म तपाईले सामाजिक स्वतन्त्रता हासिल गर्नुहुन्न, कानुनले जुस्तोसुकै स्वतन्त्रता देओस्, त्यसको कुनै काम हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment