Comments Add Comment

सिम्रौनगढ रानीवास मठ मर्मतको नाममा विनासलीला रचेको आरोप !

१३ माघ, वीरगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व विभागले बारा सिम्रौनगढको रानीवास मठको मर्मत गरिरहेको छ । तर, मर्मतको क्रममा ठेकेदारले पुरातात्विक महत्व बोकेका संरचना र इँटाहरु ध्वस्त पारेको पुरातत्वविदहरुले गुनासो गरेका छन् ।

मठको चारवटा कोठा मर्मतका लागि चार करोड ८५ लाखको काम भइरहेको विभाग स्रोतले जनाएको छ ।

पुरातात्विक सम्पदाको ‘मर्मत सम्भार’ गर्दा पुरातत्व विभागको तर्फबाट आयोजना निरीक्षक र प्रतिनिधि हुनुपर्नेमा कोही नरहेको, सम्पूर्ण पुरातात्विक सम्पदाको मर्मत सम्भार’ ठेकदारकै भरमा भइरहेको, पुरातात्विक कार्यमा हेवी इक्विपमेंट अर्थात डोजर र ट्याक्टरको प्रयोग गरेर माटोमुनि रहेका कर्णाटकालीन भित्ताहरु भत्काइएको, माटो खन्दा निस्किएका कर्णाटकालीन इँटाहरूलाई सुरकी बनाउन प्रयोग गरिएको, प्रशिक्षण नपाएको मिस्त्री र मजदुरलाई काममा लगाएका कारण कर्णाटकालीन इँटा तथा अनेक पुरातात्विक वस्तुहरु टुक्रिएको, पुरातात्विक सर्वेक्षण नगरिकनै रानिवास क्षेत्रमा जमीनमुनि ६  फिटसम्म खाल्डो खनिएको, र सो क्रममा भेटीएका विभिन्न प्रकारका अवशेषहरुको पुरातात्विक संरक्षण नगरिएको पाईएको पुरातत्व विदहरुले बताएका छन् ।

केही दिनयता रानीवासको मर्मत गर्न भनी पुरातत्व विभागले ठेकदारमार्फत गराइरहेको काम सम्पदा संरक्षणको विरुद्धमा रहेको पुरातत्वविद् तारानन्द मिश्रले बताए ।
कामको अनुगमनको क्रममा आपत्तिजनक कामहरु भएको पाइएको उनको भनाइ छ । सिमरौनगढ नगरपालिकाका पुरातात्विक सल्लाहकार रहेका मिश्र पुरातत्व विभागका पूर्वनिर्देशक हुन् ।

‘सिमरौनगढको पुरातात्विक अध्ययन र सर्वेक्षणको सिलसिलामा म लगायतको टोलीले सिमरौनगढÞको रानीवास, हरिहरपुर, पलकियामाइदेखि कंकाली मन्दिरसम्मको बाटो, कोतवाली तथा नयाँ निर्माण भएका सम्पूर्ण बाटाहरू कोतवालीसम्म खनियाका खाल्डाहरुको अध्ययन गर्‍यौं,’ उनले भने, ‘अध्ययनका क्रममा सन १०९७ देखी १३२६ सम्म स्थापित प्राचिन मिथिलाको राजधानी सिमरौनगढमा प्राचीन नगरका अनेक तह देखिएको छ । तर पूनः निर्माणको नाममा विभागका ठेकेदारले नै त्यसलाई ध्वस्त पार्ने काम गरिरहेका छन् ।’

पुरातत्वविद् मिश्रका अनुसार नान्यदेवले सिमरौनगढÞ दरबारको रचना गर्दा त्यहाँ वास्तु निर्माणको उल्लेख गर्दै सन् १०९७ मा निर्माण गरिएको प्रस्तर अभिलेख भेटियेको थियो जुन हराई सकेको भएपनि प्राचीन मिथिलामाथि शोध गरेका कतिपय विद्वानहरुले नान्यदेवको त्यस अभिलेख बारे शोध प्रकाशित गरिसकेका छन् ।

त्यही अभिलेख र वास्तु निर्माण बारे व्यहोरा केशर वंशावलीमा पाइएको छ । त्यसैमा कर्णाटकी राजदरबार राजा शक्तिसिंहको अभिलेख पनि पाइएको छ जुन मोहन प्र. खनालले ‘सिमरौनगढको इतिहास’ नामक ग्रंथमा प्रकाशित गरेका छन् ।

रानीवास क्षेत्रमा प्राचीन कर्णाट राजाहरुको राजदरबार परिसर हुने अधिकतम सम्भावना रहेकोले अविलम्ब निर्माण कार्य स्थगन गरेर पुरातात्विक उत्खननको आवश्यकता रहेको सिम्रौनगढमाथि सोधखोज गरिरहेका भरत साह बताउँछन् ।

पुरातत्व विभागका महा निर्देशक दामोदर गौतमले ऐतिहासिक महत्व बोकेको मठको संरक्षणका लागि नै विभागले मर्मत सम्भारको काम सुरु गरेको बताए । ‘राणाकालमा जंगबहादुरको छोराले निर्माण गरेको रानीवास मठको संरक्षणका लागि विभागको स्वीकृत कार्यक्रम अन्र्तगत नै पुनः निर्माणको काम भइरहेको हो ।

पुरातात्विक महत्वका कुराहरु मासिन लागेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘विभागले अध्ययन गर्न टोली पठाइसकेको छ । टोलीको रिपोर्टमा पुरातात्विक महत्वका बस्तु भेटिएको भन्ने आएमा तत्काल संरक्षणको प्रक्रिया अघि बढाउँछौं ।’

उनका अनुसार विभागका इन्जिनियर सन्तोष यादव नेतृत्वको टोली काठमाण्डुबाट सिम्रौनगढ प्रस्थान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment