Comments Add Comment

मानवअधिकार आयोगको रिपोर्ट : निर्मलाको भजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण

१३ माघ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट भजाइनल स्वाब संकलन त्रुटिपूर्ण भएको पाइएको छ ।

मानवअधिकार आयोगले बनाएको छानविन समितिकाअनुसार सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको छ, जुन त्रुटीपूर्ण भएको ठहर छ ।

यो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न नसकिने भन्दै प्रतिवेदनमा भनिएको छ, ‘यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने र डीएनए ह्रास हुँदै जाने, नष्ट हुनसक्ने, परिणाम सही नआउने जस्ता समस्या पाइयो । मुलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटीपूर्ण रहेको पाइयो ।’

पूर्वमहान्यायाधीवक्ता नरेन्द्र पाठकको नेतृत्वमा रहेको समितिले संकलित स्वाबको परीक्षणमा समेत थुप्रै प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाको शवबाट संकलित लो, मिड र हाइ भजाइनल स्वाबको नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले वाई एसटीआर प्रविधिबाट डीएनए परीक्षण गरेको छ । यसले वंश पहिचान गर्न सघाए पनि व्यक्ति पहिचान गर्न सक्ने छैन ।

यो पनि पढ्नुहोस् : निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

साथै पुरुष र महिला बीर्य अलग गरेर परीक्षण गर्नु पर्नेमा मिश्रित रुपमा नै परीक्षण गरेको पाइएको छ । ‘यसले बंश छुट्याउने वाई एसटीआर परीक्षण मात्र सम्भव भयो र अटोसोमल ( जसले व्यक्ति पहिचान गर्छ) सम्भव भएन’ प्रतिवेदनमा भनिएको छ ।

परीक्षणका क्रममा तीन वटै भजाइनल स्वाबमा पुरुष डीएनए फरक फरक मात्रमा पाइएको तर, कुल डीएनए (मुख्यत महिला) को तुलनामा पुरुष डीएनए मात्र अध्याधिक कम पाइएको छ । यसले सही परिणाम आउन नसक्ने समितिको ठहर छ ।

डीएनएबाट अभियुक्त पत्ता नलाग्ने निश्कर्ष

छानविन समितिले यो डीएनए टेष्टबाट अभियुक्त पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ । डीएनए प्रविधिको आकर्षक पक्ष नै वालित भन्दा व्यक्ति यकिन गर्नु भएको भन्दै समितिले भनेको छ, ‘यस केसमा भजाइनल स्वाम नमुनाबाट प्राप्त १६ वटा वाई एसटीआर नजिता आगामी दिनमा कुनै आरोपितसँग मिलेको अवस्थामा निज अपराधी भएको एकमात्र बलियो आधार हुन सक्दैन ।’

फरक भौगोलिक क्षेत्रका फरक थर भएका व्यक्तिहरुबीच १५ वटासम्म वाई एसटीआर मिलेको एक अध्ययनले देखाएको स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, संयोग नै हुनसक्छ सो अध्ययनमा परेका बडू थरका व्यक्ति र निर्मला पन्त केसमा आरोपित बडू थरका व्यक्तिबीच शतप्रतिशत वाई एसटीआर डीएनए मिलेको छ ।’

‘वाई एसटीआरबाट व्यक्ति मिटान सम्भव हुँदैन । शतप्रतिशत मिलेको अवस्थामा निजबाहेक सो डीएनए अन्य व्यक्तिमा भए नभएको, भए कति जनामा भएको डाटा चाहिन्छ ।’

निर्मला पन्तको केसमा पुरुष र महिलाको अलग गरिएको डीएनए नरहेको भन्दै छानविन समितिले बाँकी रहेको भजाइनल स्वाब मात्र थप परीक्षणको विकल्प भएको बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘सुरुवाती परीक्षणमा मुख्य भजाइनल स्वाबको प्रयोग, सो समेतबाट न्यून पुरुष डीएनए प्राप्ति, लामो समयसम्म भजाइनल स्वाब यथास्थितिमा रहन नसक्नु जस्ता आधारमा बाँकी भजाइनल स्वाबबाट थप नतिजामूलक परीक्षणको सम्भावना अत्याधिक छ ।’

सरकारलाई चारबुँदे निर्देशन

समितिको रिपोर्टका आधारमा मानवअधिकार आयोगले सरकारलाई चारबुँदे निर्देशन दिएको छ । जसमा नमुना संकलनमा लापरबाही गर्ने चिकित्सक, डीएनए टेष्टमा त्रुटी गर्ने प्राविधिकहरुलाई समेत छानविनको दायरामा ल्याउन निर्देशन दिइएको छ ।
साथै डीएनए टेष्टबाट अपराधी पत्ता लाग्ने सम्भावना कम रहेको भन्दै‘ह्युमन इन्टिलिजेन्स’ प्रहरीमार्फत प्रभावकारी र नतिजामूलक अनुसन्धान गर्न भनेको छ ।

मानवअधिकार आयोगले भविष्यमा हुनसक्ने यस्ता घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामहरुबारे २४ बुँदे निर्देशन दिएको छ, ‘जसमा अनुसन्धान अभियोजन वदनियतपूर्वक गर्ने प्रहरी तथा अन्य कर्मचारीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ९९ बमोजिम कारबाही गर्न’ भनिएको छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment