Comments Add Comment

भारतीय दूध आयातको नयाँ मार्ग, परीक्षण गर्न छैन ‘मिल्क एनालाइजर’

Photo Credit : फाइल फाेटाे

१५ माघ, बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् ।

व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो ।

कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारतबाट दूध ल्याउन रोकेको नभई गुणस्तरीय र भन्सार गरेर भित्र्याउन आग्रह गरेको बताए ।

‘नेपालमा गुणस्तरहीन दूध आइरहेको भन्ने गुनासो आएपछि हामीले गुणस्तर परीक्षण गरेको प्रतिवेदन देखाई भन्सार गरेर दूध भित्र्याउन भनेका छौँ’, भन्सार प्रमुख निरौलाले भने, ‘गुणस्तरहीन दूध ल्याएर जनस्वास्थ्यमा खेलबाड गर्न त पाइएन नि ?’ भारतबाट नेपालगञ्जमा दैनिक एक हजार ३०० लिटर दूध आउने गरेको छ ।

बजारका अधिकांश घरधनी र रावडी, दही, मिठाई बनाउने पसलेले सस्तो पर्ने नाममा भारतबाट आएको दूध लिने गरेका छन् । भन्सारले कडाइ गरेपछि चोरी नाकाबाट दूध ल्याउँदा ढिलाइ हुने भएकाले यहाँका व्यवसायी समस्यामा परेका छन् ।

दूधको परीक्षण गर्ने निकाय क्वारेन्टाइन कार्यालय हो । क्वारेन्टाइनसँग दूधको गुणस्तरीय जाँच्न ‘मिल्क एनालाइजर’ छैन ।

क्वारेन्टाइनसँग ‘ल्याक्टोमिटर’सम्म जाँच गर्ने मेसिन भए पनि त्यो भरपर्दो नभएको कार्यालय प्रमुख डा शीतलबाबु श्रेष्ठ बताए ।

सरकारले दूध परीक्षण गर्ने मेशिन नराख्ने र परीक्षण नगरी दूध भित्रिन दिँदैनाैं भन्नु नमिल्दो कुरा भएको नेपालगञ्जका दूध, दही व्यवसायी बताउँछन् ।

क्वारेन्टाइनसँग जाँच गर्ने मेशिन नहुँदा दूध परीक्षणमा समस्या भइरहेको छ । भारतबाट आउने पशुजन्य उत्पादनको परीक्षणका लागि सीमानाकामा क्वारेन्टाइन कार्यालय राखिए पनि दूधको गुणस्तरीय जाँच गर्न मिल्क एनालाइजर मेसिन नहुँदा परीक्षणमा समस्या भएको क्वारेन्टाइन प्रमुख डा. श्रेष्ठले बताए ।

भारतबाट भित्रिने दूधको गुणस्तर राम्रो नभएको बेलाबेलामा आवाज उठ्ने गर्दछ । नाकामा सशस्त्र प्रहरीले पनि दूधको गुणस्तरीयता जाँचेर मात्रै भित्र्याउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment