Comments Add Comment

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा : लागत ३ अर्ब, अढाई वर्षमा हस्तान्तरण

जनसहयोगबाटै आर्थिक स्रोत जुटाइनेछ : धुर्मुस्

१६ माघ, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।

फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने उल्लेख गरे । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ,’ फाउण्डेसनका प्रमुख धुर्मुसले अनलाइनखबरसँग भने, ‘साथै हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं ।’

रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।

रंगशालाको थ्रीडी डिजाइन हेर्नुहोस्

अपेक्षा बमोजिम रकम संकलन नभए निर्माण अलपत्र पर्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘यो रंगशालाप्रति सम्पूर्ण नेपालीहरुमा ठूलो उत्साह र चासो रहेको पाएका छौं । यसले नेपालको क्रिकेटलाई माथि उठाउन मद्दत गर्नेमा दुई मत छैन ।’

‘यस्तो पवित्र कार्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीले दिल खोलेर सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु । कथंकदाचित रकम अपूग भयो भने सरकारले पनि सहयोग गर्ला’ कलाकार समेत रहेका धुर्मुसले भनेका छन् ।

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेको थियो ।

यसक्रममा भरतपुर महानगरले धुर्मुसलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । पटक–पटक अवलोकन र विश्लेषणपछि चितवनमा रंगशाला बनाउन धुर्मुस तयार भएका थिए ।

तर, जग्गा उपलब्ध गराउने कार्य निकै झण्झटिलो र लामो बन्यो । यसले लामो समय दिएपनि अब रंगशालाका लागि आवश्यक जग्गा प्राप्ति भएको छ । रंगलाशा निर्माणका लागि जनस्तरबाट यति ठूलो रकम संकलन गर्ने कार्य भने चुनौतीपूर्ण छ ।

चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुनेछ । यसमा २५ हजार दर्शक अट्नेछन् । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने छ ।

थ्री डी भिडियोमा रंगशालाको बाहिरी भाग पनि निकै आकर्षक देखिन्छ । बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् ।

खेल अभ्यासका लागि दुई वटा खेलमैदान रहनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस् :

क्रिकेट रंगशाला बनाउन सहयोग जुट्न थाल्यो, एस ट्राभल्सले तीन करोड सहयोग गर्ने

क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानको : रेणु दाहाल

प्रधानमन्त्रीको प्रश्न : रंगशाला बनाउँछु भन्नेको बैंक खातामा कति पैसा छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment