Comments Add Comment

वीरगञ्जमा प्रदेश सरकारद्वारा शहीद पार्कको शिलान्यास

शहीद पार्कमा विवाद नगर्न मुख्यमन्त्री राउतको आग्रह

१६ माघ, वीरगञ्ज । प्रदेश २ सरकारले वीरगञ्जमा शहीद पार्कको शिलान्यास गरेको छ । वीरगञ्जको घण्टाघर छेउमा महानगरपालिकाको स्वामित्वमा रहेको विपी उद्यानको जग्गामा मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका हुन् ।

उक्त जग्गा वीपी उद्यानबाहेक अन्य प्रयोजनामा प्रयोग गर्न नपाइने भन्दै नेपाली कांग्रेस पर्साले विरोध जनाएको छ । शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी भने सहभागी थिएनन् ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको कुरा नभुल्न आग्रह गरे । ‘केन्द्रिकृत एकात्मक राज्यसत्ताबाट मुलुक संघियतामा परिवर्तन भएको छ, कुनै गाउँको ठिटो अहिले एउटा पालिका प्रमुख बनेर करोडौंको बजेट चलाउने अवसर मिलेको छ’ मुख्यमन्त्री राउतले भने ‘मधेस आन्दोलन र शहीदको बलिदानीबाटै यो परिवर्तन भएको हो, त्यसलाई कसैले भुल्नु हुँदैन ।’

उनले कांग्रेस, नेकपालगायतका दललाई जात धर्म, समुदाय भन्दा माथि उठेर आउन आग्रह गरे । ‘कांग्रेस नेकपालगायतका दललाई मेरो विनम्र अनुरोध छ, शहीद दल, समुदाय भन्दा माथि हुन्छ, पार्टीको सीमाभित्र राख्न सकिन्न’ उनले भने ‘खराब काम गरेको छैन, जग्गा हडपेको होइन, महानगरपालिकाको निर्णय अनुसार नै शहीद पार्क निर्माण गर्न लागेका हौं । ’

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ०४६ सालपछिका सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गरेको बताए । उनले वीरगञ्जमा मात्रै नभएर प्रदेश सरकारले सप्तरीको मलेठ, लहान गरी तीन स्थानमा शहीद पार्क बनाउन लागेको जानकारी दिए ।

१० विघा जग्गामा के के बन्दैछ ?

प्रदेश सरकारले शहीद पार्क निर्माणका लागि ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्साले तयार पारेको नक्सा अनुसारकै शहीद पार्क बन्ने दावी गरिएको छ ।

४ खण्डमा विभाजन गरिएको नक्सामा शहीद पार्कको अवधारणासमेत रहेको छ । घण्टाघर छेउतर्फ सःशुल्क पार्किङ क्षेत्र छुट्याइएको छ । जहाँ बस, साना गाडी, मोटरसाइकल र ईरिक्सा पार्किङ गर्न ठाउँ निर्माण हुन्छ ।

दोस्रो खण्डलाई खुल्ला बहुउद्देश्यीय क्षेत्र ) भनिएको छ । जहाँ स्टेजसहितको खुल्ला मञ्च बनाउन सकिने नक्सामा देखाइएको छ ।

तेस्रो खण्डमा शहीद स्मृति पार्क छ । जहाँ फाउन्टेन, शहीद पार्क, पोखरी, चिल्र्डेन पार्क मात्रै नभएर एक्सरसाइज गर्ने खुल्ला चौरसमेत बनाउन सकिने देखाइएको छ ।

चौथो खण्डमा सिटी हलको परिकल्पना गरिएको छ । सहरी विकास तथा भवन कार्यालय वीरगञ्जका प्रमुख सरोज गोइतले जग्गामा के के गर्न सकिन्छ भनेर नक्साङ्कन मात्रै भएको बताए ।

‘हामीले पहिला १० विघा जग्गामा के के गर्न सकिन्छ भनेर नक्साङ्कन तयार पारेका थियौं । त्यसै अनुसारको काम हुन्छ’ उनले भने, ‘प्रदेश सरकारले अहिले ७५ लाख बजेट दिएको छ, नक्सामा परिकल्पना गरिए अनुसारकै शहीद पार्क बन्छ ।’

शहीद दिवसको अवसरमा पछिल्लो मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment