Comments Add Comment

गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गरौं : मुख्यमन्त्री पौडेल

१६ माघ, हेटौंडा । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदहरुको बलिदान र उत्सर्गले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको वताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गर्ने जिम्मेवारी काँधमा आएको भन्दै मुख्यमन्त्री पौडेलले शहीदहरुको सपना पूरा गर्न सबैले इमान्दारपूर्वक काम गर्नुपर्ने बताए । ‘हाम्रा आचरण र चिन्तनहरु अझै पुरातन र पम्परागत शैलीका छन,’ उनले भने, ‘शहीदहरुको सपना पूरा गर्न हाम्रा आचरण र शैलीहरु परिवर्तन गर्न जरुरी छ ।’

प्रदेश-३ सरकारले आयोजना गरेको शहीद दिवस कार्यक्रममा शहीद स्मारक हेटौंडाका अध्यक्षसमेत रहेका मुख्यमन्त्री पौडेलले शहीद स्मारकले विगत २४ वर्षदेखि शहीद दिवस मनाउँदै आएको जानकारी दिए ।

स्मारकमा परिवर्तनका निम्ति विभिन्न कालखण्डमा बलिदान दिने १२ जना शहीदहरुको मूर्ति एउटै ढुंगामा कुदिएको छ ।

बि.स. १९९७ सालदेखि ०६२/६३ सालसम्म विभिन्न राजनीतिक आन्दोलनमा जीवन उत्सर्ग गर्नेहरुको स्मृति स्मारकमा शहीदस्तम्भ निर्माण गरिएको मुख्यमन्त्री पौडेलले बताए ।

शहीद स्मारक मुलुकको परिवर्तनमा जीवन गुमाउने शहीदहरुको तीर्थस्थल भएको उनले दावी गरे ।

प्रदेश-३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले शहीदहरुको बलिदानबाट राणा शासन, निरंकुश पञ्चायत, तानाशाही राजतन्त्र फालेर मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताए ।

कार्यक्रम सुरु हुनु भन्दाअघि हेटौंडा-११ नवलपुरस्थित शहीद गेटबाट स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीसँगै मुख्यमन्त्री पौडेलले शहीदको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रदेश-३ मन्त्रीहरु, प्रदेशसभा सभामुख, उपसभामुख, सदस्य, प्रदेशका मुख्य सचिवलगायत उच्च पदस्थ कर्मचारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रदेश-३ सरकारले शहीद दिवसको अवसरमा बुधवार प्रदेश-३ मा सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment