Comments Add Comment

सन् २०१९ नेपाल-चीन सम्बन्धको महत्वपूर्ण वर्ष : राजदूत होउ

'सबै नेपालीसँग मिलेर काम गर्न चाहान्छु'

Photo Credit : Guanjli Ji

१७ माघ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सन् २०१९ नेपाल-चीन सम्बन्धका लागि महत्वपूर्ण वर्ष हुने बताएकी छिन् । चीन-नेपाल सम्बन्धले उज्ज्वल भविष्यका साथ विकासका अवसरहरु पछ्याइरहेको भन्दै राजदूत होउले सन् २०१९ दुवै देशका लागि महत्वपूर्ण वर्ष हुने बताएकी हुन् ।

चिनियाँ नयाँ वर्षको अवसरमा बुधबार काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत होउले भनिन्, ‘सन् २०१९ मा चीनले जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठ मनाउने छ र अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड सम्मेलन आयोजना गर्ने छ । साथै नेपाल सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को विकास लक्ष्यसहित दोस्रो वर्षमा प्रवेश गर्ने छ । चीन र नेपालले सम्बन्ध पारस्परिक लाभका सम्बन्ध र उज्जवल भविष्यको सम्भावनाका साथ विकासका अवसरहरु पछ्याइरहेका छन् ।’

यस्तो महत्वपूर्ण क्षणमा नेपालका लागि राजदूत नियुक्त हुन पाउँदा आफू सम्मानित भएको उनले बताइन् । आफ्नो कार्यकालको पहिलो महिनामा नेपाल सरकार, राजनीतिक दल र सामाजिक संगठनका प्रतिनिधिहरुसँग भेटघाट र छलफल गरेको उनले जानकारी दिइन् । उक्त भेटघाट र छलफलको क्रममा दुई देश र दुई देशका जनताबीचको मित्रताका लागि चीन-नेपाल मित्रताको महत्व महसुस भएको उनले बताइन् ।

उनले चीन र नेपालबीच भएका महत्वपूर्ण सम्झौता कार्यान्वयन गराउन, बिभिन्न क्षेत्रमा सहयोग आदान-प्रदानलाई बढाउन र साझा भविष्यका निर्माणका लागि सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाइन् । उनले आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताइन् ।

सन् २०१८ मा दुवै पक्षको संयुक्त प्रयासबाट राजनीतिक, आर्थिक, जनता-जनताबीचको सम्बन्ध, सांस्कृतिक आदानप्रदान र सहकार्य नयाँ उचाइमा पुगेको उनले स्मरण गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गरेको, दुवै देशका नेताहरुले बिभिन्न क्षेत्रमा व्यवहारिक सहयोग वृद्धिका लागि महत्वपूर्ण सहमति कायम गरेको र संयुक्त रुपमा ट्रान्सहिमालयन मल्टी-डायमेन्शनल कनेक्टिभिटी नेटवर्क निर्माणमा सहमति व्यक्त गरेको उनले चर्चा गरिन् ।

सांस्कृतिक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, बिभिन्न राजनीतिक दलका नेताहरु, व्यापारी, कुटनीतिक नियोगका प्रतिनिधि, समाजसेवी, पत्रकार लगायत सहभागी थिए ।

कार्यक्रममा चीनको स्वशासित क्षेत्र तिब्बत र सिचुवान प्रान्तको राजधानी छन्दुबाट आएका कलाकारहरूले परम्परागत नृत्य र गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment