+
+
Shares

बेलायतका नेपाली संघसंस्था, कस्तो छ हालत ?

डा. बच्चु कैलाश कैनी डा. बच्चु कैलाश कैनी
२०७५ माघ १७ गते ११:३६

बेलायतमा बस्ने नेपालीहरुलाई थाहा भएकै कुरा हो, यहाँ निकै धेरै नेपाली संघ संस्थाहरु गठन भएका छन् । यहाँ हरेक क्षेत्रमा सक्रिय र हरेक नामसंग जोडिएर संघ/संस्थाहरु खुलेका छन् ।

कुनै जातिका नाममा, कुनै पेशाका नाममा, कुनै गोर्खा सैनिकका नाममा, कुनै ठाउँका नाममा, कुनै राजनीतिक दलका नाममा र कुनै समाज सेवाका नाउँमा त कुनै अरु केहीका नाउँमा संस्थाहरु छन् ।

कहिलेकाँही म सोच्छु, के हामीलाई यति धेरै संघ/संस्थाहरुको जरुरत छ ? के यी सबै संघ/संस्थाहरु साँच्चै बेलायतमा बस्ने नेपालीहरुका लागि वा कुनै हितकारी कामका लागि खुलेका हुन् त ? जवाफ दिन त्यति सहज नभए पनि हरेकका मनमा यस्ता प्रश्नहरु आउनु स्वाभाविक हो ।

आधिकारिक रुपमा बेलायतमा गठन भएका नेपाली संघ/संस्थाहरुको तथ्याङ्क नभए पनि बेलायतमा ५ सय भन्दा बढी नै नेपालीका नाममा नेपालीहरुद्वारा नै गठन भएका संघ/संस्थाहरु क्रियाशील छन् भन्ने विश्वास गरिन्छ ।

विशेषगरी नेपालीहरुको घना बस्ती भएका ठाउँहरु, जस्तै प्लमस्टिड, अल्डरशट, रेडिंग, फानबोरो, आदि ठाउँमा त्यस्ता संगठन वा संगठनका शाखाहरु खोलिएका छन् ।

मेरो विचारमा धेरै जस्तो संघ/संस्थाहरु केवल नाम मात्रैका छन् । निकै थोरै संघ/संस्थाहरुले मात्रै आफ्नो नाम अनुसारका काम गर्न सकेका छन् । नाम मात्रैका संघ/संस्थाहरु कि त नाम वा पदका लागि खोलिएका छन्, कि त अरुको देखासिकीले खुलेका छन् ।

डा. बच्चु कैलाश कैनी

कति संघ/संस्थाहरुलाई त पदाधिकारीको संख्या पुर्‍याउनका लागि पनि धौधौ पर्ने गरेको र कसैलाई अनुरोध गरेर पधाधिकारी वा सदस्यमा बस्न अनुरोध पनि गरेको मैले देखेको छु ।

त्योभन्दा पनि मुख्य कुरा बेलायतमा गठन भएका त्यस्ता संघ/संस्थाहरुको कानूनी मान्यता र पहिचानको हो । कुनै पनि संघ/संस्था कि त नाफामूलक वा ब्यवसायिक कार्यका लागि गठन हुन्छ कि त विशुद्ध सामाजिक सेवाका लागि गठन हुन्छ ।

नाफामूलक वा व्यवसायिक कामका लागि गठन हुने हो भने कम्पनी हाउसमा दर्ता हुनुपर्‍यो । सामाजिक कार्यका लागि गठन हुने हो भने च्यारिटी कमिसनमा दर्ता हुनुपर्‍यो । त्यसका लागि यो देशको कानुन अनुसार सबै प्रक्रिया र नियम पुग्नुपर्‍यो । तर, यहाँ गठन भएका धेरैजसो नेपाली संघ/संस्थाहरुका पदाधिकारीहरुले आफ्नो सुविधा अनुसार केही व्यक्ति भेला भएर त्यस्ता संघ/संस्थाहरु गठन गरेको देखेको छु ।

यी नियम कानूनको पालना गर्ने कुरा त निकै परको कुरा भयो, सामान्य प्रक्रिया पूरा गरेकोसमेत देखिन्न । त्यसैले हचुवाको भरमा त्यस्ता संघ/संस्थाहरु गठन हुनु र हामी पनि पछि लाग्नु जे गरे पनि हुन्छ भन्ने हाम्रो नेपाली मानसिकता हो ।

बेलायतमा गठन भएका सबैजसो नेपाली संघ/संस्थाहरुले कुनै न कुनै रुपमा आर्थिक कारोबार गरेका हुन्छन् । जस्तै- सदस्य बनाउने, चन्दा उठाउने, रकम उठाएर भोज भतेर गर्ने आदि । र, धेरैजसो संघ/संस्थाहरुको आर्थिक कारोबार पारदर्शी छैन । जुन संस्थाको कानूनी मान्यता वा पहिचान नै छैन, त्यस्ता संघ/संस्थाहरुले न त लेखा परीक्षण गर्छन् न त पारदर्शी रुपमा आफ्नो हिसाब किताब सार्वजनिक नै गर्छन् ।

कानूनी रुपमा भन्ने हो भने अरुको रकम उठाएर आर्थिक कारोबार गर्ने भएपछि हरेकले जतिसुकै ठूलो रकम होस् वा सानो रकम, कारोबार गर्ने भए पनि पारदर्शी हुनु अपरिहार्य हुन्छ ।

त्यति मात्रै हैन, हामी बेलायतमा बस्ने नेपाली, जो त्यस्ता संघ/संस्थाहरुसँग आवद्ध भएका छौं, हामीले नै त्यस्ता संघ/संस्थाहरुको कानूनी हैसियत सोध्न वा बुझ्न आवश्यक छ ।

मैले देखेसम्म अधिकांश नेपाली संघ/संस्थाहरुको मुख्य काम जात, धर्म, संस्कृतिअनुसार बर्षको एक/दुई वटा भोजभतेर वा भेला गर्नुमा नै सीमित छ ।

हुन त सबै आ-आफ्नो काममा ब्यस्त हुनु पर्ने हामी सबैलाई त्यही गर्नु वा गराउनु पनि ठूलो कुरा हो । त्यतिमात्रै हैन, केही सीमित संघ/संस्थाहरु पनि छन्, जसले आफ्नो लक्ष र उद्देश्य अनुसार काम पनि गरेका छन् ।

नेपाली संघ/संस्थाहरुको अर्को मुख्य विशेषता भनेको संस्था जति सानो नै भए पनि गुटफुट हुनु र राजनीतिक प्रभाव पर्नु हो । सानोतिनो कुरामा मन नमिल्दैमा वा कुनै मतभेत हुँदैमा लोकतान्त्रिक मान्यतालाई एकातिर पन्छाएर संस्थालाई टुक्र्याउनु र अर्को समूह वा संस्था नै गठन गर्नु नेपालीहरुको बीच सामान्य नै लाग्छ ।

त्यसैगरी, नेपाली संघ संस्थाहरु गठन गर्दा को कुन राजनीतिक दल वा समूहसँग आवद्ध छ वा को कुन जातको हो भनेर भनेर अनौपचारिकरुपमा विचार गर्ने चलन पनि मैले देखेको छु । नेपालबाट टाढा बसेर पनि हामी सबै नेपाली हौं नभनी केवल गुटफुट गर्ने र सानो विचार राख्नु हाम्रो कमजोरी हो ।

मेरो विचारमा थोरै संघ/संस्थाहरुलाई व्यवस्थितरुपमा सञ्चालन गरी सबै तिनै संघ/संस्थाहरुमा सँगै बसी काम गरी गुणात्मक सेवा दिनु राम्रो हो ।

त्यसैगरी बेलायतमा नेपाली संघ/संस्थाहरुले पारदर्शिता र नियम कानूनको पालना गर्न र गराउन पनि हामी सबैले सबै संघ/संस्थाहरुलाई सजग र सहयोग गर्नु गराउनु आवश्यक छ । त्यसो भएमात्रै बेलायतमा बस्ने हामी सबै नेपालीहरुको हित हुनेछ ।

थप कुरा के भने बेलायतमा बस्ने नेपाली समुदायका सबैले अब नेपालीहरुको सानो घेरा भन्दा माथि उठेर बेलायती समाजमा पनि विस्तारै घुलमिल हुनु र आफ्नो अस्थित्व देखाउनु जरुरी छ ।

त्यसका लागि नेपालीहरुको संघ/संस्थामा मात्रै सहभागिता नभई आफूलाई माथि उठाउनु जरुरी छ ।

(लेखक डा. कैनी क्वीन एलिजाबेथ अस्पताल, उलविच, लण्डनका बरिष्ठ व्यवस्थापक हुन् । साथै उनी डार्टफोर्ड काउन्सिलको काउन्सिलरका साथै ग्रीनवीच स्कूल अफ म्यानेजमेन्टको एसोसिएट लेक्चरर तथा एनआरएन युकेका सल्लाहकारसमेत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?