Comments Add Comment

पानीले बदलिएको जिन्दगानी

१७ माघ, गोरखा । एक गाग्री पानीका लागि झिसमिसेमै उठेर घण्टौ धाउनुपरेको दुःख उनी अझै सम्भिmन्छिन् । एक बिहान खर्चेर ल्याएको पानी भात पकाउनमै ठिक्क हुन्थ्यो । त्यसो त हिजोआज उनले त्यो दुःखबाट छुटकारा पाइसकेकी छिन् ।

आगनमै धारा बन्ला र पानी आउला भनेर कल्पनासम्म नगरेकी आरुघाट गाउँपालिका-५ भलछोपेकी जानुका कार्की अहिले दंग छिन् ।

२४ सै घण्टा पानी आउने गरी उनको आगँनमै धारा जडान भएको छ । उनी मात्र होइन सोही स्थानका ३४ घरधुरीको घरघरमै धारा निर्माण गरिएको छ ।

युनिसेफको आर्थिक सहयोगमा उत्पीडित समुदाय बिकास शाखा अनुसन्धान केन्द्र (कोसडर) गोरखाले भुमेथानवासीको ‘पानी सपना’ साकार पारिदिएको हो ।

कुल नौ लाख लागतमा निर्माण भएको धोवीखोला रातोपाते समुदाय खानेपानी आयोजना निर्माणका लागि स्थानीयको श्रमदान पनि गरेका छन् ।

‘एक घर एक धारा’ अभियान अन्तरगत घरघरमा धारा जडान गरि खानेपानी वितरण गरिएको कोसडरका कार्यक्रम संयोजक काजिराम रोकाले बताए ।

‘केही स्थानीयलाई प्लम्वर तालिम पनि दिनुभएको छ,’ उपभोक्ता समितिका अध्यक्ष छविलाल लामिछानेले भने, ‘धारामा केही समस्या आयो भने उहाँहरु नै आएर बनाइदिनुहुन्छ ।’

धारा जडान भएको घरमा मिटर राखेर समितिले मासिक रुपमा महसुल उठाउने गरेको उनी बताउँछन् ।

भलछोपे मात्र होइन सोही वडाको भुमेथानमा पनि खानेपानी आयोजना निर्माण भएको छ । युनिसेफकै आर्थिक सहयोगमा कोसडरले निर्माण गरेको भुमेथान जलदेवी खानेपानी आयोजनाबाट २७ घरधुरी लाभान्वित छन् ।

कुल नौ लाख ४८ हजार लागतमा निर्माण भएको आयोजनामा करिव दुइ लाखको श्रमदान स्थानीयले गरेका छन् । ‘पहिले पानीको निकै दुख थियो, टाढा जानुपथ्र्यो तर अहिले घरमै धारा छ, चौविसै घण्टा पानी आउँछ निकै सजिलो भाको छ,’ उपभोक्ता समिति अध्यक्ष शुशिला लामिछानेले भने ।

वस्तुभाउलाई पानी खुवाउन र करेसा वारीमा तरकारी लगाउन समेत सहज भएको उनले बताइन् ।

उक्त संस्थाकै सहयोगमा सरानचोक गाउँपालिका-६ गाँखुस्थित खौरेनीवन टोलका दलित बस्तीमा निर्माण भएको खानेपानी आयोजनाले स्थानीयको जीविकोपार्जनमा समेत सघाउ पुगेको छ । ‘घरमै पानी आएपछि तरकारी किनेर खानुपरेको छैन करेसावारीमै लगाएको तरकारीले पुगेको छ,’ सिर्जना बिकले भनिन् ।

घरघरमा धारा जडान भएपछि गाउँको सरसफाइमा समेत सहयोग पुगेको उनले बताइन् । कुल आठ लाख २० हजार लागतमा निर्माण भएको उक्त खानेपानी आयोजनाबाट ३४ घरधुरी लाभान्वित छन् ।

समुदायमा मात्र होइन कोसडरले आरुघाट-५ को छायादेवी प्राविमा पनि शौचालय सँगै खानेपानी आयोजना निर्माण गरेको छ । कुल नौ लाख लागतमा शौचालय र खानेपानी आयोयजना निर्माण गरिएको रोकाले बताए ।

फिनल्याण्ड राजदूतको टोलीद्वारा आयोजनाको अनुगमन

फिनल्याण्ड सरकार र युनिसेफको सहयोगमा कोसडर गोरखाले गोरखाको बिभिन्न ठाउँमा निर्माण गरेको आयोजनाहरुको फिनल्याण्ड राजदुत परटी एन्टिनीको टोलीले निरिक्षण गरेका छन् ।

दुई दिनसम्म गोरखामा बसेका उनले कोसडरले आरुघाट र सिरानचोक गाउँपालिकामा निर्माण गरेको आयोजनाको निरीक्षण गरेका हुन् ।

राजदूत एन्टिनीको साथमा युनिसेफ प्रमुख टोमो होजुमी, युनिसेफका वास प्रमुख तमिज खान, फिनल्याण्ड एम्वेसीका कार्यक्रम संयोजक कामना गुरुङ, युनिसेफका वास अफिसर राजेश श्रेष्ठ रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment