
२१ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरेको छ । सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलनको आह्वान गर्दै कांग्रेसले काठमाडौंसहित देशका सबै जिल्लामा र्यालीसहित विरोध प्रदर्शन गरेको हो ।
काठमाडौंमा रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, शहीदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेकोलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।
र्यालीपछि आयोजित कोण सभामा बोल्दै कांग्रेस नेताहरुले सरकारविरुद्ध आन्दोलनमा होमिन जनतालाई आह्वान गरे । कांग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिए ।
उनले राणा शासन ढालेको, बहुदल ल्याउने तथा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको आफ्नो पार्टीलाई कमजोर ठान्ने गल्ती गरे जनताले वर्तमान सरकारलाई पनि ढाली दिने दावी समेत गरे । नेता सिंहले सरकारले कैलाली घटनाका आरोपी रेशम चौधरीलाई सांसदको सपथ गराएर विधिको शासनको धज्जी उडाएको आरोप पनि लगाए ।
अर्का नेता राजेन्द्रकुमार केसीले सरकारविरुद्ध आन्दोलनमा उत्रन जनतालाई आह्वान गरे । उनले सरकारले जनताविरोधी काम गरिरहेकाले त्यसको विरोधमा आफूहरुले प्रर्दशन गर्नु परेको पनि बताए ।
हेर्नुहोस् तस्वीरहरु :
प्रतिक्रिया 4