+
+

प्रधानमन्त्रीज्यू, अब ऐना नहेर्नुस् : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते १७:५१

२१ माघ, पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । सरकारले गर्छु भनेका र गरिरहेका काम अलोकतान्त्रिक, अधिनायकवाद र भ्रस्टाचारबाट ग्रसित भएको उनको दाबी छ ।

प्रधानमन्त्रीले भ्रस्टाचारीको अनुहार हेर्दिन भन्ने गरेको भन्दै उनले घरमा गएर ऐना नहेर्न सुझाव दिए । थापाले भने, ‘प्रधानमन्त्रीका वरिपरी सबै भ्रस्टाचारी नै भ्रस्टाचारी छन् ।’

जनताका लागि नबोल्ने दुईतिहाई बहुमतको सरकारले सरकार माफियाका लागि बोलेको उनको आरोप छ । तत्कालीन माओवादी र एमालेको स्वार्थ मिलेर बनेको नेकपा सरकरा संघीयता नै मास्न उद्दत रहेको नेता थापाको आरोप थियो ।

केपी ओलीको प्रधानमन्त्री बन्ने लोभ र प्रचण्डको हार्छु भन्ने डरबाट पार्टी एकता भएको भन्दै उनले भने, ‘एक जना घ्यू बेचुवा, अर्को तरबार बेचुवा मिलेर बनेको पार्टीले केही गर्लां भनेर सोच्नु नै गल्ती भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा कति सरकार छन् भन्ने हेक्का समेत नभएको उनको भनाइ थियो । ‘देशमा ७ ५३ स्थानीय र ७ प्रदेश सरकार छ भन्ने प्रधानमन्त्रीलाई हेक्का छैन । जसका कारण स्थानीय र प्रदेश सरकारले कामै गर्न पाएका छैनन्’ थापाले भने, ‘संघीयता धरापमा छ, लोकतन्त्र धरापमा छ ।’

संघीयताका सवालमा चित्रबहादुर केसी इमान्दार भएको तर केपी ओली संघीयता मास्न उद्दत छन् । इतिहासमा यति अनुकुल दुईतिहाईको बहुमतको सरकार कहिल्यै नभएको थापाको भनाइ थियो । ‘सरकारलाई यस्तो अनुकुल राणाकालमा पनि थिएन, उनीहरुले घर फर्किँदा मार्छ कि भन्ने भाइकै डर थियो । विपीको पालामा राजा थिए । राजाले तरबार कतिबेला चलाउँछन् भन्ने थियो,’ थापाले भने, ‘तर, यस्तो अनुकुल समयमा पनि सरकार निकम्मा बन्यो ।’

नेकपाले संसदलाई एउटा मन्त्रालयजस्तो, सभामुख कार्यकर्ताजस्तो र अदालत र न्यायलाई पंगु बनाएको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीलाई छातिभित्र दयामया, करूणा नभएको व्यक्तिको रुपमा थापाले चित्रण गरे । ‘ज्वरो आफैंमा रोग होइन । कुनै रोगका कारण ज्वरो आउँछ । यो सरकारले कम्तीमा ज्वरोकोसम्म औषधी खुवाउला भनेको पानीपट्टी बाँधेर बसेको छ,’ थापाले बताए । एकातिर राज्यको ढुकुटी खर्च नहुने, अर्कोतिर गरिबी बढ्दै जाने हो भने देश कंगालीकरणातिर बढ्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?