
२२ माघ, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाइ गरेपछि विदेशमा बस्ने नेपालीहरुले विरोध गरेका छन् । उनीहरुले भन्सारमा भइरहेको ‘ज्यादति’ भइरहेको आरोप लगाउँदै त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् ।
सरकारले झिटिगुन्टा आदेशको पालना नगरी ल्याइएका सामान विमानस्थलमा जफत गर्नेे क्रम तीव्र पारेपछि विदेशमा बस्ने नेपालीले समाजिक सञ्जालमा ब्यापक आलोचना गरेका हुन् ।
सरकारले सोमबारमात्रै विदेशबाट आएका नेपालीबाट जफत भएको विभिन्न समानहरु २ करोडभन्दा बढी मूल्यमा लिलामीका लागि सूचना निकालेको छ । विदेशमा कार्यरत नेपाली कामदारहरुले सरकारी व्यवस्था अव्यवहारिक नभएको भन्दै सरकारलाई झिटिगुन्टा आदेशलाई सच्याउन माग गरेका छन् ।
साउदीबाट सन्देश ताम्राकारले लेखेका छन्,’३३ किलो सुनको अत्तो पत्तो छैन, तर हामी गरिबले खुन पसिना एक गरेर कमाएको पैसाले आफ्नो परिवारलाई एउटा मोबाइल र अलिकति सुन ल्याउँदा पनि खोसेर यसरी लिलामीमा राख्ने ? जसको जसको दुःख र पसिनाको कमाई थियो नि, पक्कै पनि उनिहरूको आँशु चाँहि लाग्ने छ ।’
कतिपयले सरकारको यो कामलाई रेमिट्यान्स पठाउने नेपाली माथिको अपमान भनेका छन् । धेरैले घरपरिवार र साथिभाइका लागि ल्याइने थोरै उपहारहरुलाई खुला गर्न माग गरेका छन् । विशेषगरी रक्सी र मोबाइल ल्याउन कडाइ गरिएको धेरैको आपत्ति छ ।
‘बरु विदेशबाट आफ्नो जन्मथलो आउने नेपालीहरुबाट विदेशी पैसा चन्दा माग सरकार, आफ्नो परिवारलाई भनेर ल्याइएको एक बोतल रक्सी र एउटा मोबाइल छापामार शैलीमा नखोस,’ इटालीबाट एन के निर्दोषले लेखेका छन् ।
सरकारले क्रिकेट ब्यागसमेत जफत गरेको खबर सुनेपछि कुवेतबाट बद्री आचार्य भन्छन्,’ एउटा बाबुले आफ्नो छोरालाई सन्दिप लामिछाने बनाउँछु भन्ने सपना देखेर लिएर जाने ब्याग पनि खोसेको सुन्दा नरमाइलो लाग्यो ।’
जापानबाट पुरुषोत्तम अधिकारीको गुनासो पनि उस्तै छ । उनी झिटिगुन्टा आदेशलाई विदेशमा काम गर्ने नेपाली र पढ्ने विद्यार्थी मैत्री बनाउनुपर्ने बताउँछन् ।
‘कामदार र विद्यार्थी भिसामा गएर फर्किएकाहरुलाई अलि फरक दृष्टिबाट हेर्नुपर्छ, उसले ब्यापारिक प्रयोजनले समान बोकेर पक्कै फर्किँदैन,’ उनी भन्छन् । सरकारले घुम्न विदेश जानेमाथि थप कडाइ गर्दा फरक नपर्ने उनको भनाइ छ ।
बहारइनबाट सुजन घिमिरेको आक्रोश पनि फरक छैन । उनी देशभित्र अवसर नपाएर विदेशिएका युवाले ल्याउने जुत्ता र कपडामा पनि सरकारले गिद्दे नजर लगाउनु ठीक नभएको उनको भनाइ छ ।
उनी भन्सार नै उठ्छ भनेर सोच्ने भए काठको बाकसमा फर्किने कामदारको शबमा पनि भन्सार लगाएर देखाउन सरकारलाई चुनौति दिन्छन् ।
‘श्रम मन्त्रीज्युको चिप्लो कुरा सुन्छौं, अर्थमन्त्रीज्यु हाम्रो पसिना जफत गरेर लिलामीमा राख्नुहुन्छ,’ घिमिरे ब्यंग्य कस्दै भन्छन्,’ हामीले ल्याएको समानबाट २ करोड राजश्व उठाएर सरकारलाई राहत हुन्छ भने कफिनको माैत्र हैन, ज्युँदै मान्छे स्वदेश फर्किएको पनि कर लगाउँद हुन्छ ।’
सरकारले भन्सार राजश्वमा असर परेको भन्दै विदेशबाट फर्किने नेपालीले ल्याउने सामानमा कडाइ रहेको हो ।
तर, प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स पठाएको बदलामा सरकारले सम्मानित गर्नुपर्ने अवस्थामा थप अपमानित गर्ने काम गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
कतिपयले विदशेमा हुनेसँग चुनावमा भोट हाल्ने अधिकार नभएका कारण पनि यस्तो गरिएको टिप्पणी गरेका छन् ।
युएईबाट मिन रानभाट लेख्छन्, ‘अब रेमिटेन्स होलिडे मनाउनु पर्छ, लुटेरा झैँ बनेको सरकारलाई सबक सिकाउनै पर्ने भयो ।’
तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाले बताउँछन् ।
सरकारको झिटिगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन उनले आग्रह गरेका छन् । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए सीधै जफत गर्न थालिएको छ ।
सरकारले विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्ने ब्यवस्था गरेको छ । कतिपय सामान ल्याउनै पाइँदैन भने केही सामान भन्सार नतिरी पनि ल्याउन पाइन्छ । कतिपयको भन्सार तिर्नुपर्छ । त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले जानकारी लिन अनुरोध गर्छन् भन्सार प्रमुख सापकोटा ।
पछिल्ला दिनमा परिमाण मिचेर रक्सी र अरु सामान ल्याउने क्रम बढ्दै गएपछि जफत गर्न सुरु गरिएको छ । ‘विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ,’ सापकोटाले भन्छन्, ‘कानुनअनुसार ल्याउनुभयो भने समस्या पर्दैन । ‘
विदेशबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामग्री ल्याउँछन् । तोकिएको भन्दा बढी ल्याए सामान सीधै जफत हने वा महंगो भन्सार तिर्नुपर्ने पनि हुनसक्छ ।
प्रतिक्रिया 4