Comments Add Comment

सिम्रौनगढ : सम्पदा संरक्षणमा चुनौती

ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ सिमरा बनगढ, सिम्मनगाडा, पाटा आदि नामले समेत परिचित छ । यसकै नामबाट प्रदेश २ अन्तर्गत बारा जिल्लाको दक्षिण पूर्वी भागमा सिम्रौनगढ नगरपालिका समेत बनेको छ । सिम्रौनगढ वीरगञ्जबाट २८ किलोमिटर पूर्व र काठमाडौंबाट ९० किमी दक्षिणमा अवस्थित छ ।

सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो ।

कर्णाटवंशी महाराजाहरूको उद्भव

कर्णाटवंशी राज्यको संस्थापक नान्यदेव हुन् । सन् १०९७ मा सिमरौनगढमा राज्य स्थापना गरेपछि उनका उत्तराधिकारीहरु क्रमशः गंग देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव र हरिसिंह देवले पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा महाभारत पर्वत शृंखला र दक्षिणमा गंगासम्म आधिपत्य कायम गरे । गोपालराजवंशावली अनुसार, सिम्राैनगढले काठमाडौं उपत्यकामा पनि चार पटक हमला गरेको थियो ।

नान्यदेव बंगालका रामपाल, मदनपाल, विजय सेन, बल्लाल सेन, कन्नौजका गोविन्दाचार्य र कलिंगका राघवका समकालीन हुन् । उनले युद्ध र शान्ति दुबै कालमा आफ्नो कौशल स्थापित गरेका थिए ।

तीरहूतिया कर्णाटहरू र बंगालका सेनसँग संघर्षरत रहेको देवपारा अभिलेखबाट प्रमाणित हुन्छ । नान्यदेवले यस क्षेत्रमा आधिपत्य कायम गर्न र आˆनो शासनलाई स्थायित्व दिन सम्भवतः चालुक्य राजा विक्रमादित्य (छैठौं) को सहयोग लिएका थिए । फ्रान्सेली इतिहासकार सिल्भाँ लेभिका अनुसार नान्यदेव पहिला चालुक्य राजाका सेनापति थिए । चालुक्य राजाको शक्ति क्षीण हुंदै गएपछि उनले आˆनो क्षेत्रलाई सार्वभौम बनाएको लेभिको मत छ ।

तिब्बती भिक्षु धर्मस्वामीले सिम्रौनगढ राज्यको बिस्तृत चित्रण गरेका छन् । उनले तीरहूत यात्राको क्रममा सन् १२३६ मा सिमरौनगढ भ्रमण गरेका थिए । तीरभूक्ति वा तीरहूतमा त्यति बेला रामसिंह देवको शासन थियो । उनैले धर्मस्वामीलाई दरबारमा स्वागत गरेका थिए ।

तीरहूत यात्राको दौरान बिरामी परेकाले सिम्राैनगढमा धर्मस्वामीको बसाई लम्बियो । सञ्चो भएपछि राजा रामसिंह देवले गरेको राजपुरोहित बनेर यतै रहने आग्रहलाई शिष्टतापूर्वक अस्वीकार गरेका धर्मस्वामी यात्राको लागि आवश्यक सारा प्रबन्धसहित बिदावारी भए ।

धर्मस्वामीले आफ्नो जीवनीमा लेखे अनुसार त्यो बेला तीरहूतमा तुर्क आक्रमणकारीहरूको त्रास थियो । त्यसैले धमाधम ‘बाही’ निर्माण गरिदै थियो । सिमरौनगढको किल्लाबन्दीलाई बाही भनिन्छ । आयतकार यो बाही उत्तर-दक्षिणमा ६ किलोमिटर र पूर्व-पश्चिम औसत ४.५ किमीको छ । तिरहुतक्षेत्र भरी कर्णाटकालका दुर्ग, मूर्ति, पोखरी, इनार, भवन आदीका खण्डहरहरुमा प्रसस्त पुरातात्विक वस्तुहरू छ्न् । कर्नाटवंशको राजधानी रहेको हुनाले सिम्रौनगढमा यस्ता वस्तुहरू धेरै छन् ।

सिम्राैनगढको त्यो किल्लाबारे भक्तपुर दरबार परिसरमा एउटा शिलालेख छ । भक्तपुरका मल्ल राजाहरुले जारी गर्ने सिक्कामा त्यही संरचनाको छाप लगाइन्थ्यो ।

तिब्बती भिक्षु धर्मस्वामी भन्दा धेरै पछि सन् १७०८ मा इटालीका पादरी क्यासियानो पनि नेपाल र तिब्बत भ्रमणका क्रममा सिम्रौनगढ पसेका थिए । उनले सिम्रौनगढको बाहीलाई उच्चकोटिको परिष्कृत संरचनाको रूपमा वर्णन गरेका छन् । उनले त्यस किल्लाबन्दीको रेखाचित्र (स्केच) कोरेका छन् ।

त्यसपछि सन् १८३५ तिर सिम्रौनगढ पुगेका ब्रिटिस विद्वान ब्रायन हड्जनले पूर्वतिर सातवटा र पश्चिमतिर चारवटा पर्खाल रहेको उल्लेख गरेका छन् ।

कर्णाटवंशको बाहिरी सम्बन्ध

सिम्रौनगढ विदेह र तिरहूत क्षेत्रको विद्वत केन्ऽ थियो । सिमरौनगढ दरबारले विद्वानहरूलाई आफ्नो सल्लाहकार मसुहमा राख्थ्यो । तिनै मध्येका थिए- चण्डेश्वर ठाकुर, ज्योतिरिश्वर ठाकुर, वाचस्पति मिश्र, देवादित्य, कर्मादित्य, रामदत्त, कवि कोकिल विद्यापति आदी । यसले कणर्णाटवंशी राजाहरू स्वयम् पनि विद्वान थिए भन्ने देखाउँछ ।

इतिहासकार शिवराज श्रेष्ठका अनुसार, काठमाडौं उपत्यकाका प्रताप मल्ल र जगज्योति मल्लले आफ्ना कृतिहरूमा नान्य देवलाई ‘प्रधान पूर्व पुरुष’ भनि उच्च सम्मान गरेका छन् । कर्णाट राजाहरूले अत्यन्तै प्रबुद्ध र सार्वजनिक कल्याण अभिमुखित धर्म विकसित गरेका थिए । त्यसले गतिशील सामाजिक-राजनीतिक संस्कृतिलाई संस्थागत गर्‍यो ।

श्रेष्ठका अनुसार, त्यस संस्कृतिलाई पछि नेवाः मल्ल राजाहरुले थप पोषित गरेका थिए, जुन मध्ययुगीन क्रुर राजनीतिक संस्कृतिको तुलनामा धेरै सहिष्णु, तर्कसंगत र न्यायीक थियो । मल्लहरूले आफूलाई ‘रघुवंशी’ घोषित गरेका थिए । उनीहरूले तुलजा (तलेजु) भवानीलाई आˆनो कूलदेवीको रूपमा पूजा गरे । अर्का इतिहासकार लिलाभक्ति मुनकर्मीका अनुसार, नान्यदेवले पुज्ने देवीमजु नै तलेजु हुन् ।

हरिसिंह देव तिनपाटनमा बितेपछि भक्तपुर दरबार पसेकी रानी देवल देवीले आˆना छोरा जगतसिंह देवको बिबाह भक्तपुरका राजा रुद्र मल्लकी विधवा छोरीसंग गरिदिइन् । देवल देवीले आफ्नी नातिनि (जगतसिंह देवकी छोरी)को विवाह पनि तीरहूतका युवकसँग गराइन्, जो पनि जयस्थिति मल्लको नामले प्रशिद्व र प्रभावशाली बन्न पुगे ।

दयनीय सिम्रौननगढ

२०४७ को माघ-फागुन र २०४८ माघ-फागुनमा इटलीका पुरातत्व विषेशज्ञ टेलीले गरेको उत्खनन्मा सिम्रौनगढमा चार कालखण्डको मानव बस्तीको पुरावशेष भेटिएको थियो । टोलीले यस क्षेत्रको इतिहास गुप्ताकाल अर्थात् १८०० वर्ष अगाडीसम्म गएको प्रतिवेदनमा उल्लेख गरेको छ । विडम्बना, यति महत्वपूर्ण सम्पदा क्षेत्रका गाँउले र राजनीतिकर्मीहरू सय वर्ष पुरानो रानीवास मन्दिरलाई मात्र सांस्कृतिक धरोहर मानेर रमाइरहेको अवस्था छ ।

उता सरकारको प्रार्थमिकता लुम्बिनी र त्यस वरपरका वौद्वस्थलहरुमा केन्दि्रत रहेको देखिन्छ । ४०-५० वर्षयता त्यसगरि काम भइरहेको छ । लुम्बिनि प्राथमिकतामा पर्नुपर्ने ठाउँमध्येकै एक हो भन्नेमा शंका छैन, तर अब सरकारको पुरातत्व विभागको ध्यान सिम्रौनगढतिर पनि जानुपर्छ ।

अब लुम्बिनीको जस्तो गुरु योजना सिम्रौनगढका लागि पनि बन्नुपर्छ । पुरातत्व विभाग, नगरपालिका, शहरी विकास मंत्रालयलगायतका निकायले छुट्टाछुट्टै योजना बनाएर हुँदैन । पुरातत्व विभागको नेतृत्वमा सबै निकायले सिम्रौनगढमा एक भएर काम गर्नुपर्छ । तर, अहिलेसम्म समन्वय गर्ने कुनै संरचना बनेको छैन । पुरातत्व विभागले सिमरौनगढमा संरचना निर्माणको लागि विस्तृत अध्ययन बिना बजेट निकासा गर्नु भूल हो ।

बिभागले विज्ञहरूको टोली बनाएर सिम्रौनगढका पुरातात्विक दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र गैर-पुरातात्विक क्षेत्रहरू टछुट्याउनुपर्छ । संवेदनशील क्षेत्रभित्र बस्ती परे भने अन्यत्र सार्ने योजना बृहत गुरुयोजनामा हुनुपर्छ ।

संवेदनशील क्षेत्रहरूलाई संरक्षित क्षेत्र घोषणा गर्नुका साथै बाही भित्र भइरहेको पोखरी खन्ने काम तुरुन्त रोक्नपर्छ । यस्ता प्रमुख काम सकेपछि स्थानीय जनतामा सम्पदा संरक्षणको संस्कार विकास गर्ने नीति कार्यान्वयन गर्नुपर्छ ।

नगरपालिकाले गुरू योजना बनाउँन चाहेको देखिन्छ, तर उसँग स्रोत-साधन, विज्ञ र अनुभवको खाँचो छ । बृहत गुरू योजनाको लागि प्रारम्भिक अध्ययनमा आएका पुरातत्वविद तारानन्द मिश्र रानीवास क्षेत्रमा डोजरले मच्चाएको विध्वंश देखेर हैरान भए । यो अवस्थालाई तुरुन्त सुधार्नुपर्छ । सिम्राैनगढमा यसरी अगाडि बढेमात्र नेपालले सम्पदा संरक्षणमा अन्तर्राष्ट्रिय रूपमै एउटा फड्को मार्नेछ ।

(साह सिम्रौनगढका अध्ययता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment