
News Summary
Generated by OK AI. Editorially reviewed.- एमआईटीका शोधकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी गोनोरिया र एमआरएसए सुपरबगलाई मार्ने दुई नयाँ एन्टिबायोटिक औषधि विकास गरेको बताएका छन्।
- यी नयाँ औषधि प्रयोगशाला र जनावरमा सफल परीक्षण भइसके पनि सामान्य प्रयोगका लागि अझै दुई वर्षसम्म परिष्कृत गर्नुपर्ने र मानव परीक्षण गर्नुपर्ने शोधकर्ताहरूले बताएका छन्।
- विशेषज्ञहरूले नयाँ एन्टिबायोटिकको उत्पादन व्यावसायिक रूपमा चुनौतीपूर्ण हुने र यसको सीमित प्रयोग आवश्यक हुने चेतावनी दिएका छन्।
३१ साउन, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले यस्ता दुई नयाँ एन्टिबायोटिक औषधि विकास गरेको छ, जसले रोग प्रतिरोधी क्षमता विकास गरिसकेका गोनोरिया र एमआरएसए सुपरबगलाई मार्न सक्छन् ।
शोधकर्ताहरूका अनुसार यी दुवै औषधि एआईले तयार गरेको हो । प्रयोगशाला तथा जनावरमा गरिएको परीक्षणमा ति औषधिले सुपरबगहरूलाई मार्न सफल भएका शोधकर्ताहरूको दाबी छ ।
तर, यी औषधि तत्कालै प्रयोगमा आउने छैन । एन्टिवायोटिकका यी कम्पाउन्डलाई केही वर्ष थप रिफाइन (परिष्कृत) गर्नुपर्ने हुन्छ ।
साथै लगातार परीक्षणपछि मात्र सामान्य प्रयोगका लागि चिकित्सकको प्रेस्क्रिप्शनको आवश्यकता पर्छ । म्यासेचुसेट्स इन्स्टिच्यूट अफ टेक्नालोजी (एमआईटी)का शोधकर्ताहरूको समूहका अनुसार एन्टिवायोटिकको खोजमा एआईले ‘दोस्रो स्वर्ण युग’ सुरु गर्न सक्ने दाबी गरिएको छ ।
एन्टिवायोटिकले ब्याक्टेरियालाई मार्छ । तर, एन्टिवायोटिक औषधिले पनि काम नगर्नेगरी प्रतिरोधी क्षमता विकास गरेका ब्याक्टेरियाका कारण वर्षेनी दशौं लाख मानिसको मृत्यु भइरहेको छ ।
विशेषज्ञहरूका अनुसार एन्टिबायोटिकको अत्यधिक प्रयोगले ब्याक्टेरियालाई औषधिको असरबाट बच्न आफैंलाई बदल्ने मौका दिएको छ । पछिल्ला दशकहरूमा नयाँ एन्टिबायोटिकको विकास लगभग ठप्प भएको छ ।
यसअघि पनि अनुसन्धानकर्ताहरूले नयाँ एन्टिवायोटिक बनाउन सक्ने सम्भावित कम्पाउन्ड खोज्नका लागि हजारौं रसायनको परीक्षण गर्न एआई प्रयोग गरेका थिए । तर, एमआईटीका शोधकर्ताहरूको टोली जेनेरेटिभ एआईको प्रयोग गरी नयाँ एन्टिबायोटिक डिजाइन गर्न सफल भएको छ ।
यी औषधि यौन सम्पर्कमार्फत सर्ने रोग गोनोरिया र अत्यन्त खतरनाक मेथिसिलिन–रेजिस्टेन्ट स्टाफाइलोककस ओरियस (एमआरएसए) विरुद्ध बनाइएका हुन् । ३ करोड ६० लाखभन्दा बढी कम्पाउन्डको अध्ययन गरिएको अनुसन्धान प्रतिवेदन प्रतिष्ठित सेल नामक जर्नलमा प्रकाशित भएको छ ।
प्रयोगशाला र जनावरमा सफल परीक्षण
वैज्ञानिकहरूले एआईलाई तालिम दिन विद्यमान कम्पाउन्डहरूको रासायनिक संरचना र ती ब्याक्टेरियामाथिको असरबारे डेटा उपलब्ध गराएका थिए । त्यसपछि एआईले विभिन्न अणु संरचनाले ब्याक्टेरियाको वृद्धि कसरी रोक्छ भन्ने विश्लेषण गर्यो ।
एआई प्रयोग गरेर दुई तरिकाले नयाँ औषधि डिजाइन गरियो । पहिले आठदेखि १९ परमाणुका लाखौं रासायनिक टुक्राको लाइब्रेरीबाट सुरुवाती संरचना खोजियो । दोस्रो पटक एआईलाई पूर्ण स्वतन्त्रता दिइयो ।
यस प्रक्रियामा विद्यमान औषधिसँग अत्यधिक मिल्दोजुल्दो कम्पाउन्ड हटाइयो र मानव स्वास्थ्यका लागि विषालु हुने पदार्थ पनि अलग गरियो ।
त्यसपछि एआईले बनाएका एन्टिवायोटिकको सेम्पललाई गोनोरिया र एमआरएसए ब्याक्टेरियाविरुद्ध प्रयोगशाला र संक्रमित मुसामा परीक्षण गर्दा प्रभावकारी देखिएको विशेषज्ञहरूको भनाइ छ ।
मानव प्रयोगका लागि थप परीक्षणका आवश्यक
एमआईटीका प्राध्यापक जेम्स कोलिन्सले भने, ‘जेनेरेटिभ एआई प्रयोग गरेर पूर्ण रूपमा नयाँ एन्टिबायोटिक बनाउन सकिन्छ भन्ने देखाउन पाएकोमा हामी उत्साहित छौं ।’
उनले थपे, ‘एआईले छिटो र सस्तो तरिकाले नयाँ औषधिका अणुहरू पत्ता लगाउन मद्दत पुर्याउन सक्छ र यसले सुपरबगविरुद्धको लडाइँमा हामीलाई साथ दिन सक्छ ।’
तर यी औषधिहरू सामान्य प्रयोगका लागि अझै कुर्नुपर्ने छ । पहिलो चरणमा यीनलाई दुई वर्षसम्म परिष्कृत गर्नुपर्ने र त्यसपछि मात्र मानव परीक्षण सुरु गर्न सकिने शोधकर्ताहरूको भनाइ छ ।
फ्लेमिङ इनिसिएटिभ र इम्पेरियल कलेज लन्डनका डा. एर्न्ड्यू एडवर्ड्सले यसलाई ‘अत्यन्तै विशेष’ र ‘अपार सम्भावना बोकेको उपलब्धि’ भनेका छन् । तर उनले सुरक्षित र प्रभावकारी परीक्षणका लागि अझै धेरै मिहिनेतको आवश्यकता औंल्याएका छन् ।
सजिलो छैन उत्पादन
एआईबाट डिजाइन गरिएका औषधि निर्माण सजिलो भने छैन । औषधि निर्माण प्रक्रिया लामो र महंगो हुनसक्छ ।
गोनोरियाका लागि डिजाइन गरिएका ८० उत्कृष्ट उपचार संरचनामध्ये केवल दुईलाई मात्र औषधिको रूपमा तयार गर्न सकिएको एमआइटीका शोधकर्ताहरू बताउँछन् ।
युनिभर्सिटी अफ वारविकका प्राध्यापक क्रिस डसनले एआईद्वारा एन्टिवायोटिक विकास गरिनु महत्वपूर्ण कदम भएपनि व्यवसायिक उत्पादनमा चुनौति हुनसक्ने औंल्याएका छन् ।
उनले चेतावनी दिँदै भने, ‘यो महत्वपूर्ण कदम हुनसक्छ तर, नयाँ औषधि कम मात्र प्रयोग गर्नु भन्ने हो भने यसको बिक्री पनि कम हुन्छ, जसले मुनाफा कमाउन गाह्रो बनाउँछ ।’
विशेषज्ञहरूका अनुसार नयाँ एन्टिबायोटिक तयार भयो भने पनि त्यसलाई सीमित प्रयोगमै राख्नुपर्छ । अन्यथा यसको प्रभाव छिट्टै कम हुन सक्छ । यही कारणले यस्ता औषधिको उत्पादन व्यावसायिक दृष्टिकोणn] सफल हुनेमा चुनौति रहने विज्ञहरू बताउँछन् ।
प्रतिक्रिया 4