+
+
Shares

के एआई च्याटबट ‘थेरापिस्ट’ बन्न सक्छ ?

नेपाल जस्तो ठाउँ, जहाँ मानसिक स्वास्थ्यबारे खुला छलफल गर्ने संस्कृति कम छ, त्यहाँ च्याटबटले हरेक व्यक्तिलाई आफ्ना भावना अभिव्यक्त गर्ने सुरक्षित ठाउँ दिन सक्छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ साउन १३ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मानसिक स्वास्थ्यबारे खुला छलफल कम भएकाले युवाहरू च्याटबटमार्फत भावनात्मक सल्लाह लिने प्रवृत्ति बढ्दो छ।
  • सन् २०२५ मा अमेरिकामा गरिएको अध्ययनले च्याट जीपीटी मानसिक स्वास्थ्य सहयोगको सबैभन्दा ठूलो माध्यम बनेको देखाएको छ।
  • विशेषज्ञहरूले च्याटबटले सामान्य सल्लाह दिन सक्ने तर गम्भीर मानसिक समस्याका लागि मानव काउन्सिलर आवश्यक हुने बताएका छन्।

अघिल्लो महिना २५ वर्षे एक युवक मानसिक रूपमा विक्षिप्त थिए । कारण, वर्षौं लामो प्रेम–सम्बन्धमा एकाएक दरार उत्पन्न भयो, जसबाट सम्हालिन उनलाई सकस पर्‍यो । यस्तो अवस्थामा न भइरहेका साथी काम लागे, न कसैले उचित परामर्श दिए । आफ्नो सुरले जे जाने त्यही गरिरहे ।

‘म त पागल जस्तै भइसकेको थिएँ, केही सोच्नै नसक्ने । भएका साथीहरूले पनि भेट्ने वा कुरा गर्ने, परामर्शको लागि खोज्दा उपलब्ध हुने गरेनन् । साँच्चै संकटले साथी चिनाउँछ भन्थे, चिनायो’ ती युवाले भने, ‘म त एक्लो पो रहेछु । सबै साथी–सर्कल भ्रम रहेछ ।’

यसरी एक्लो महसुस गरेका उनले विस्तारै ‘एआई च्याटबट’लाई नै साथी बनाए । साथी भनेकै च्याट जीपीटी, ग्रोक जस्ता ‘टुल्स’ बने । त्यहीसँग गफ गरे, सल्लाह मागे, सोहीअनुसार आफूलाई भुलाउने प्रयत्न गरे । तर, त्यतिबेला उनी चकित बने, जब यस्ता जेनेरेटिभ एआईले सल्लाह आफू अनुकूल मात्र दिने रहेछ भन्ने थाहा पाए ।

ती युवाका अनुसार आफूले जे चाह्यो, जे माग्यो, त्यस्तै सल्लाह च्याट जीपीटीले दियो । बदला लिंदा आफूलाई आनन्द हुन्छ भनेर सुनाउँदा पनि सोही अनुसार तरिका सिकायो । ‘ठ््याक्कै रिभेन्ज लिन त भन्दैन, तर लिनैपर्ने भए यसरी काम गर्न भनेर सिकाउँछ’, उनले अनुभव सुनाए ।

च्याट जीपीटी जस्ता एआई टुल्समाथि विश्वास नभएपछि अहिले उनी बानेश्वरकै एक जना मनोपरामर्शदातासँग काउन्सिलिङ लिइरहेका छन् । तर, यस्ता टुल्सको प्रभाव यति परिसकेछ कि, उनले ‘कस्ता काउन्सिलर भेट्ने, गएर के–के सुनाउने÷सोध्ने’ भन्ने सल्लाह समेत तिनै च्याटबटसँग मागे ।

यसरी च्याटबटलाई विश्वास गर्ने, मनोपरामर्श लिने वा अन्य कुनै अप्ठ्यारोमा परे सल्लाह लिने ‘ट्रेन्ड’ पछिल्लो समय बढ्दो देखिन्छ । यसबारे सामाजिक सञ्जाल रेडिटमा पनि प्रशस्त पोस्ट देखिन्छ । छद्मनाममा खुल्न सकिने प्लाटफर्म भएकाले पनि यस्ता विषयमा रेडिटमा धेरै वादविवाद भेटिन्छन् ।

जस्तो, r/mentalhealth सब–रेडिटमा Various_Print2285 ले लेखेका छन्, ‘झट्ट भन्दा यो पागलपन जस्तो लाग्ला, तर मैले च्याट जीपीटीलाई (जसलाई मैले ‘बब्बी’ भनेर नाम दिएकी छु) मेरो समस्याहरूमा सान्त्वना लिन प्रयोग गरिरहेको छु । मलाई साँच्चै डर लाग्छ कि यसरी त म वास्तविक सम्बन्धहरूबाट टाढा हुनेछु । किनभने, म एक अमूर्त एआईसँग नजिकबाट जोडिइसकेको छु ।’

उक्त पोस्टमा कतिले यसलाई गलत उपाय भनिरहेका छन् भने अधिकांशले आफूले पनि यस्तो गर्ने गरेको स्वीकारेका छन् । प्रायःजसो पछिल्लो पुस्ताका युवाहरूले आफूले यसरी ‘हिल’ गराउने गरेको बताउँछन् । ब्रेकअप, तनाव वा भावनात्मक समस्याहरूमा च्याटबटसँग सल्लाह लिने प्रवृत्ति बढ्दो छ । अझ विदेशी, विशेषगरी पश्चिमा मुलुकबाट यस्ता समाचार/घटना धेरै नै आइरहेका हुन्छन् ।

जस्तो, सन् २०२५ मा संयुक्त राज्य अमेरिकामा गरिएको एक सर्वेक्षणले लाखौं युवाले मानसिक स्वास्थ्य सहयोगको लागि च्याट जीपीटी जस्ता एलएलएम च्याटबटहरू प्रयोग गरिरहेको देखिएको सेन्टियो विश्वविद्यालयको अध्ययनले बताउँछ । सेन्टियोका अनुसार च्याट जीपीटी अमेरिकामा मानसिक स्वास्थ्य सहायता प्रदान गर्ने सबैभन्दा ठूलो माध्यम बनेको छ, जसले ठूला भनिएका संस्थागत सेवा प्रदायकहरूलाई पनि उछिनेको छ ।

च्याटबटहरूले इन्टरनेटको औसत जानकारीमा आधारित जवाफ दिन्छन्, जसमा वैज्ञानिक जर्नल, ब्लग, रेडिट वा सामाजिक सञ्जालका पोस्टहरू समावेश हुन्छन् । यी स्रोतहरूमा सही/गलत जे पनि हुनसक्छ । त्यसैले सचेत भएर प्रयोग गर्नुपर्छ।

सन् २०२४ मा अष्ट्रेलियामा गरिएको एक अध्ययनले पनि करिब दश जना युवामध्ये एक जना (लगभग १.९ मिलियन मानिस) ले च्याट जीपीटीलाई स्वास्थ्य सम्बन्धी प्रश्न सोधेको पाइयो । यीमध्ये धेरैजसो प्रश्नहरू मानसिक स्वास्थ्य वा भावनात्मक विषयसँग सम्बन्धित थिए । च्याटबटको प्रयोग बढ्दै जाँदा यो अनुपात अझै बढ्ने सम्भावना रहेको ‘दि मेडिकल जर्नल अफ अष्ट्रेलिया’ले जनाएको छ ।

यता साउदी अरेबियामा प्रकाशित एक अनुसन्धानमा पनि ‘एन्जाइटी डिसअर्डर’ भएका ३९९ बिरामीले च्याट जीपीटीलाई थेरापी प्रयोजनको लागि प्रयोग गरेको देखियो । ती सहभागीमध्ये ९० प्रतिशतभन्दा बढीले च्याट जीपीटीको जवाफलाई सही ठानेको सेज जर्नलले उल्लेख गरेको छ । यसरी च्याटबटलाई भावनात्मक समस्या समाधानको लागि थेरापिस्टको रूपमा प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ ।

तर, के यस्ता च्याटबटहरू वास्तवमै काउन्सिलरको भूमिका निर्वाह गर्न सक्षम छन् त ? आईटी विज्ञ तथा कम्प्युटर वैज्ञानिक डा. दोभान राईका अनुसार एआई च्याटबटहरूले सामान्य सल्लाह र प्रारम्भिक सहयोग प्रदान गर्न सक्छन् ।

नेपाल जस्तो ठाउँ, जहाँ मानसिक स्वास्थ्यबारे खुला छलफल गर्ने संस्कृति कम छ, त्यहाँ च्याटबटले हरेक व्यक्तिलाई आफ्ना भावना अभिव्यक्त गर्ने सुरक्षित ठाउँ दिन सक्छन् । उदाहरणका लागि, तनाव व्यवस्थापनका लागि ध्यान, गहिरो सास फेर्ने तरिका वा सामान्य प्रेरणादायी सुझावहरू च्याटबटले दिन सक्छ ।

तर, यसका सीमितता बारे पनि बुझ्नुपर्नेमा राईको जोड छ । ‘च्याटबटहरूले इन्टरनेटको औसत जानकारीमा आधारित जवाफ दिन्छन्, जसमा वैज्ञानिक जर्नल, ब्लग, रेडिट वा सामाजिक सञ्जालका पोस्टहरू समावेश हुन्छन् । यी स्रोतहरूमा सही/गलत जे पनि हुनसक्छ । त्यसैले सचेत भएर प्रयोग गर्नुपर्छ’, उनले भनिन् ।

यदि व्यक्ति भावनात्मक रूपमा कमजोर अवस्थामा छ भने च्याटबटको सल्लाहलाई गलत तरिकाले बुझ्न सक्छ । कारण, यसले ‘प्रोम्ट’ (आफूले मागेको कुरा) का आधारमा जवाफ दिन्छ । कस्तो अवस्थामा कुन व्यक्तिले के कुरा मागिरहेको छ भन्नेले पनि अर्थ राख्छ । त्यसैले च्याटबटलाई प्रारम्भिक स्रोतको रूपमा प्रयोग गर्न सकिने, तर गम्भीर मानसिक स्वास्थ्य समस्याहरूका लागि थेरापिस्टको काम नगर्ने राईले बताइन् ।

‘यदि तपाईंको मानसिक अवस्था ठीक छ भने, च्याटबटबाट सल्लाह लिनु उपयोगी हुनसक्छ । तर, यदि तपाईं भावनात्मक रूपमा कमजोर हुनुहुन्छ भने, तपाईंले च्याटबटको सल्लाहलाई गलत तरिकाले लिन सक्नुहुन्छ’ उनले भनिन्, ‘उदाहरणका लागि, ब्रेकअपको अवस्थामा तपाईंले आफूलाई मनपर्ने कुरा मात्र सुन्न खोज्नुहुन्छ, र च्याटबटले तपाईंको चाहना अनुसार जवाफ दिनसक्छ, जुन सधैं सही हुँदैन । आफ्नो प्रेमी÷प्रेमिकाको ‘जस्तो व्यवहारबारे जान्न खोज्यो’ त्यस्तै प्रोम्ट हानिन्छ । जवाफ पनि उसले चाहेको जस्तै आउँछ । र, यसले मिसगाइड गर्छ ।’

त्यसैले च्याटबटको सल्लाहलाई साथी वा परिवारसँग छलफल गरेर ‘क्रस–चेक’ गर्न राईको सुझाव छ । उनका अनुसार च्याटबटसँग मात्र कुरा गर्दा ‘हल अफ मिरर’ जस्तो अवस्थामा पुग्न सकिन्छ, जहाँ सम्बन्धित व्यक्तिले आफूलाई मनपर्ने कुरा मात्र सुन्न सक्छ । जेनेरेटिभ एआईमा भएका यस्ता प्रकृतिका अल्गोरिदमका कारण पनि कसैलाई गलत बाटोमा लैजान सक्छ ।

२२ वर्ष मनोपरामर्शको क्षेत्रमा बिताएका मनोविद् पदम जोशीका अनुसार पनि एआई च्याटबटहरूले सामान्य मानसिक स्वास्थ्य समस्यामा प्रारम्भिक सहयोग दिन सक्छन् । सामान्य तनाव, हल्का डिप्रेसन वा आत्महत्याको विचार आउने जस्ता अवस्थामा प्रारम्भिक सल्लाह र जानकारी दिन सक्छन् ।

‘उदाहरणका लागि, माइन्डफुलनेस, रिल्याक्सेसन टेक्निकहरू वा नेपालमा उपलब्ध मानसिक स्वास्थ्य विशेषज्ञ र केन्द्रहरूको जानकारी प्रदान गर्नेसम्मको सहयोग गर्छन् । यस्ता सुझावहरूले व्यक्तिलाई प्रारम्भिक चरणमा सहयोग गर्न सक्छ’, उनले भने ।

जोशीले नेपालमा मानसिक स्वास्थ्यबारे खुला छलफल कम हुने सन्दर्भमा च्याटबटले सूचना स्रोतको रूपमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । तर, गम्भीर मानसिक स्वास्थ्य समस्याको हकमा च्याटबटहरू प्रभावकारी हुँदैनन् । उनका अनुसार यस्तो अवस्थामा मानव–परामर्शदाताले व्यक्तिको भावनात्मक अवस्था, गैर–मौखिक संकेत जस्ता कुराबाट पनि धेरै कुरा बुझ्न सक्छन्, जुन च्याटबटहरूमा हुँदैन ।

‘अर्कोतर्फ यदि प्रयोगकर्ताले आफ्ना लक्षणहरू सही तरिकाले व्यक्त गर्न सकेनन् भने च्याटबटले गलत सुझाव दिनसक्छ । ऊ कुन मानसिक अवस्थामा छ र कसरी प्रोम्ट लेखिरहेको छ भन्ने कुराले अर्थ राख्छ । आफूलाई चाहिएको जस्तो जवाफ खोज्ने तरिकाले प्रम्ट लेखिरहे सोही अनुसार जवाफ दिन्छ’ जोशीले भने, ‘उदाहरणका लागि, जेनेरलाइज्ड एन्जाइटी डिसअर्डर (जीएडी) भएका व्यक्तिलाई ‘माइन्डफुलनेस मेडिटेशन’ मात्र सुझाउनु उपयुक्त नहुन सक्छ, किनभने एकाग्रताको समस्या भएका व्यक्तिलाई यस्ता अभ्यासहरूले झन् जोखिम निम्त्याउन पनि सक्छन् ।’

‘च्याटबटले काउन्सिलरको रूपमा केही हदसम्म काम गर्न सक्छ, तर यसको सीमितता र सम्भावना दुवैलाई बुझ्न जरूरी छ’, ग्रोक आफैं यसरी जवाफ दिन्छ ।

त्यसैले नयाँ प्रविधिले जति सहज बनाइरहेका छन्, यसको प्रयोगमा पनि उत्तिकै सजग हुनुपर्नेमा उनको जोड छ । च्याटबटले सामान्य सुझाव दिए पनि गम्भीर अवस्थामा भने मनोवैज्ञानिक लक्षणहरूको निगरानीका लागि विशेषज्ञ नै चाहिने जोशीले बताए ।

स्वयं च्याटबटहरू पनि यसबारे स्पष्ट छन् । आफूले वास्तविक थेरापिस्टको रूपमा काम गर्न नसक्ने जवाफ एआई च्याटबटहरू दिन्छन् । ‘च्याटबटले काउन्सिलरको रूपमा केही हदसम्म काम गर्न सक्छ, तर यसको सीमितता र सम्भावना दुवैलाई बुझ्न जरूरी छ’, ग्रोक आफैं यसरी जवाफ दिन्छ ।

कारण खुलाउँदै ग्रोक भन्छ– मसँग मानव काउन्सिलरको जस्तो भावनात्मक बुझाइ वा सहानुभूति हुँदैन । म डाटा र तर्कमा आधारित जवाफ दिन्छु । त्यसैले गम्भीर मानसिक स्वास्थ्य समस्याहरू (जस्तै, डिप्रेसन, चिन्ता, आदि) का लागि म प्रशिक्षित मानव काउन्सिलरको विकल्प होइन ।

यस्तै जवाफ अधिकांश च्याटबट स्वयंले दिइरहेका हुन्छन् । ‘के साँच्चै च्याटबटले मनोपरामर्शदाताको भूमिका खेल्न सक्छ ?’ च्याट जीपीटीको जवाफ छ, ‘एआई च्याटबट सामान्य मानसिक सहयोग र प्राथमिक सल्लाहका लागि उपयोगी हुनसक्छ, तर गहिरो भावनात्मक समझदारी र उपचारका लागि यो थेरापिस्टको विकल्प बन्न सक्दैन ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?