+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८८ बलमा १४० रन आवश्यक
चितवन राइनोज 2025
30/2 (5.2)
Shares

नेपालबाहिर पहिलोपटक लन्डन पुग्यो इन्द्रजात्रा (तस्वीरहरू)

जात्रा संयोजक, गुथिका पूर्व अध्यक्ष एवं हाल संरक्षक ओजेश सिंहले सन् २०२० मै इन्द्रजात्रा गर्ने योजना गरिए पनि कोभिडका कारण ५ वर्षपछि २५औं वार्षिकोत्सव पारेर ऐतिहासिक लन्डन इन्द्रजात्रा गरिएको बताए ।

नवीन पोखरेल नवीन पोखरेल
२०८२ भदौ १ गते १८:१८

१ भदौ, लन्डन । काठमाडौंमा ८ दिनसम्म मनाइने पृथक् र सांस्कृतिक महत्वको इन्द्रजात्रा लन्डनसम्म आइपुगेको छ । नेपालबाहिर सम्भवत: पहिलोपटक शनिबार फेल्थाममा आयोजित ‘लन्डन इन्द्रजात्रा’ ले काठमाडौंकै झल्को दियो ।

पासा पुच गुथि यूकेले काठमाडौंको प्रतीक (रिफ्लेक्सन अफ काठमाडौं) का रूपमा यहाँ भित्र्याएको जात्रा अवलोकन गर्न नेवार समुदायबाहेक विदेशी समेत गरी तीन हजार बढी दर्शक सहभागी भएको आयोजकले जनाए ।

उक्त जात्राले नेपालको संस्कृति, शैली सिको गर्दै लन्डन फ्यूजन पस्किएको आयोजकले सुनाए ।

इन्द्रजात्रामा बेलायतमै बनाइएका कुमारी, भैरव र गणेशको रथ तानिएको थियो । नेपालको जीवित देवी कुमारीको तस्वीर टाँगिएका ती रथ परिक्रमा गराइँदा दोस्रो पुस्ता निकै उत्साहपूर्वक सहभागी भए । अघिल्लो सन्ध्यामा गणेश र भैरवको विधिपूर्वक पूजा पनि गरिएको थियो ।

रथ तानेपछि अन्त्यमा ठड्याइएको यःसिं (लिङ्गो) ढालिएको थियो ।

जात्रामा धिमे, ढा, खिं, बाँसुरी लगायत कैयौं बाजा प्रस्तुत गरिए । यसैका लागि गुथिका विभिन्न च्याप्टरमा झण्डै एक वर्षदेखि युवाहरुलाई धिमे बाजा प्रशिक्षण गराइएको थियो ।

लाखे नाच, कुमारी नाच, मञ्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदिमा युवा पुस्ता बढी सामेल भए ।

बेलायतमा विगत २५ वर्षदेखि लाखे नाच देखाइरहेका वरिष्ठ कलाकार विनोद चिपालुको नेतृत्वमा गरिएको लाखे महोत्सव र हाथु द्योः बाट थोंसहित समेंबजि डों (प्रसाद) चाख्न पनि हौसिए दर्शक ।

मौलिक नेपाली, नेवारी परिकार पस्किएका स्टलले पनि जात्रामा आकर्षण थपेको थियो ।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले कृष्णा जन्माष्टमी र इन्द्र जात्रा एकै दिन पर्नु सुखद् संयोग भएको बताउँदै काठमाडौंमा इन्द्रजात्रामा पानी परे जस्तै लन्डनमा पनि पानी पर्न थालेको प्रसंग जोडे ।

नेपालबाहिर पहिलोपटक इन्द्रजात्रा, इन्द्र भगवानलाई बेलायत ल्याएर इचिहास रचेको भन्दै राजदूत घिमिरेले आयोजकलाई बधाइ दिए । उनले जात्रा सफल बनाउन योगदान गर्ने सबै धन्यवादका पात्र भएको पनि बताए ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश भएको बताउँदै राजदूत घिमिरेले हामीहरुले सबै चाडपर्व, संस्कृति, रीतिरिवाज, भाषालाई बराबर मानेर मनाउनुपर्नेमा पनि जोड दिए । उनले विदेशमा रहे पनि रचनात्मक भएर देशका लागि योगदान गर्न सबैमा आग्रह गरे ।

आयोजक पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक संस्कृति प्रवर्धन गर्ने उद्देश्य सहित जात्रा गरिएको जनाए ।

उनले सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत् नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रा लगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहँदा अब इन्द्रजात्रा थपिएको उल्लेख गरे । यो दोस्रो पुस्तालाई कला संस्कृति अनुसरण गर्न कोसेढुंगा भएको पनि प्रजापतिले बताए ।

जात्रा संयोजक, गुथिका पूर्व अध्यक्ष एवं हाल संरक्षक ओजेश सिंहले सन् २०२० मै इन्द्रजात्रा गर्ने योजना गरिए पनि कोभिडका कारण ५ वर्षपछि २५ औं वार्षिकोत्सव पारेर ऐतिहासिक लन्डन इन्द्रजात्रा गरिएको बताए ।

औपचारिक कार्यक्रममा नेपालबाट आएका गुठी संस्थानका कार्यकारी प्रमुख (प्रशासक) शैलेश राज कुँवरले गुठी संस्थानले साविकदेखि सञ्चालन र व्यवस्थापन गर्दै आएको जीवन्त सांस्कृतिक सम्पदा येंयाः पुन्ही (इन्द्रजात्रा) को संरक्षण एवं प्रवर्धनमा पासा पुचः गुथि यूकेको योगदान सराहनीय भएको बताए ।

ज्यापु महागुठी नेपालका पूर्व अध्यक्ष एवं लोक कवि राजभाइ जकामीले नेवा कला, संस्कृति, भाषा, परम्परा आदि संरक्षणमा गरेको कार्यको प्रशंसा गरे । उनले नेवारी भाषामा कविता पनि सुनाएका थिए ।

कार्यक्रममा महासचिव प्रजेश श्रेष्ठले स्वागत मन्तव्य दिए । सो अवसरमा प्रायोजक, सहयोगी, कलाकार, अतिथि एवं विशिष्ट व्यक्तित्वलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

नर्स सुनिता गौतमले मञ्जुश्री नाच र विनोद चिपालुले लाखे नाच देखाए । धिमे बाजा पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन र पासा पुचः गुथि यूके लन्डन च्याप्टरका युवाहरुले बजाएका थिए । कुमारी नाच मनिता श्रेष्ठ, टिसा प्रजापति, फियोना महर्जन, अमिरा श्रेष्ठ र श्रीषा प्रजापतिले प्रस्तुत गरे ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?