+
+
Shares

एआईले हाम्रो पिउने पानी कसरी रित्याइरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • च्याट जीपीटीमार्फत एउटा प्रश्नको उत्तर दिन लगभग एक चम्चाको पन्ध्रौं हिस्सा बराबरको पानी खर्च हुन्छ, जसले विश्वव्यापी पानी संकटलाई थप गम्भीर बनाउँदैछ।
  • डाटा सेन्टरहरूमा सर्भर चिस्याउन ठूलो मात्रामा ताजा पानी प्रयोग हुन्छ, जसले सुख्खा क्षेत्रहरूमा स्थानीय स्रोतहरूमा दबाब बढाएको छ।
  • गुगल, माइक्रोसफ्ट र मेटाले २०३० सम्ममा \'वाटर पोजिटिभ\' बन्ने लक्ष्य राखेका छन् र पानी संरक्षणका योजना सञ्चालन गरिरहेका छन्।

कृत्रिम बुद्धिमत्ता (एआई) वर्तमान विश्वमा तीव्र गतिमा फैलिरहेको एक महत्वपूर्ण प्रविधि हो । यसको प्रयोगले हाम्रो जीवनका धेरै क्षेत्रहरूमा नयाँ अवसर र सुविधाहरू ल्याइरहेको छ। तथापि एआईको सञ्चालनमा ठूलो मात्रामा ऊर्जा र स्रोतहरूको आवश्यकता पर्छ, जसले वातावरण र प्राकृतिक स्रोतहरूमा दबाब पारिरहेको छ। वास्तवमा एआईले गर्ने पानीको खपतको विषय अहिले विश्वभर नै निकै संवेदनशील बन्न थालेको छ ।

एआई र पानीको प्रयोग

च्याट जीपीटी तथा अन्य large language model जस्ता एआई मोडेलहरूले प्रयोगकर्ताले सोधेका प्रश्नहरूको जवाफ दिने, तस्वीर बनाउने तथा भिडियो सम्पादन गर्ने जस्ता जटिल कार्यहरू गर्न ठूलो कम्प्युटिङ्ग शक्ति प्रयोग गर्छन्। यी कार्यहरूको लागि हजारौं कम्प्युटर सर्भरहरू संलग्न हुन्छन् जो डाटा सेन्टरहरूमा सञ्चालन हुन्छन्।

ओपन एआईका सीईओ साम अल्टम्यानका अनुसार च्याटजी पीटीमार्फत एउटा प्रश्नको उत्तर दिन लगभग एक चम्चाको पन्ध्रौं हिस्सा बराबरको पानी खर्च हुन्छ।

ती डाटा सेन्टरहरूमा तापक्रम अत्यधिक हुने हुँदा त्यसलाई चिसो राख्नका लागि ठूलो मात्रामा पानीको आवश्यकता पर्छ। यसरी प्रयोग हुने पानी चाहिँ  मानिसहरूले पिउन वा दैनिक जीवनका लागि प्रयोग गर्ने खालको ताजा र सफा पानी नै हुन्छ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार, अहिले विश्वको आधा जनसंख्याले पानीको अभाव झेलिरहेको छ। जलवायु परिवर्तन र मानवीय क्रियाकलापले गर्दा यो समस्या अझ गम्भीर हुँदै गएको छ। यस्तो अवस्थामा, एआईको द्रुत विस्तारले पानीको संकटलाई थप गम्भीर बनाउने खतरा बढिरहेको छ।

एआईले कति पानी प्रयोग गर्छ ?

ओपन एआईका सीईओ साम अल्टम्यानका अनुसार च्याटजी पीटीमार्फत एउटा प्रश्नको उत्तर दिन लगभग एक चम्चाको पन्ध्रौं हिस्सा बराबरको पानी खर्च हुन्छ। तर, अमेरिकाको क्यालिफोर्निया र टेक्सासमा गरिएको अनुसन्धानले यसलाई फरक तरिकाले देखाएको छ। सो अध्ययन अनुसार, जिपिटी थ्री  मोडेललाई १० देखि ५० प्रश्नको उत्तर दिन करिब आधा लिटर पानी आवश्यक पर्छ, जुन प्रत्येक प्रश्नका लागि करिब २ देखि १० चम्चा पानी बराबर हुन्छ ।

यद्यपि पानीको उपयोग धेरै पक्षहरूमा निर्भर गर्दछ । यसमा सोधिने प्रश्नको प्रकार, उत्तरको लम्बाइ,  कम्प्युटिङ्ग प्रक्रिया तथा ऊर्जा उत्पादनका लागि प्रयोग हुने पानीका पक्ष जिम्मेवार हुन्छन् । अमेरिकी अध्ययनमा बिजुली उत्पादनका लागि कोइला, ग्याँस वा आणविक ऊर्जा केन्द्रमा बाफ बनाउन प्रयोग गर्नका लागि आवश्यक पर्ने पानी पनि गणना गरिएको छ ।

ओपन एआईले आफ्नो गणना विधि सार्वजनिक नगरेको हुँदा, यस विषयमा पूर्ण स्पष्टता अझै छैन। तथापि च्याट जीपीटी जस्ता एआई च्याटबोटहरूले दैनिक करिब एक अर्बभन्दा बढी प्रश्नको उत्तर दिने तथ्यको आधारमा के भन्न सकिन्छ भने एआईबाट पानीको खपत निकै व्यापक हुन्छ।

डाटा सेन्टरहरूमा पानीको महत्व

एआई प्रणालीहरूलाई सञ्चालन गर्ने डाटा सेन्टरहरू ठूला भवनहरू जस्तै हुन्छन् । कतिपय त फुटबल मैदानभन्दा ठूलो क्षेत्रफलमा फैलिएका हुन्छन् । ती सर्भरहरू लगातार चल्दा तापक्रम अत्यधिक बढ्दछ। त्यसैले ती सर्भरलाई चिस्याउनका लागि पानीको प्रयोग अनिवार्य हुन्छ। प्राय: डाटा सेन्टरहरूले चिस्याउनका लागि प्रयोग हुने पानीमध्ये ८० प्रतिशत हिस्सा बाफ बनाएर हावामा फ्याँक्छन्।

इमेल पठाउनु, भिडियो हेर्नु वा वेब सर्च गर्नुलगायतका सामान्य अनलाइन क्रियाकलापहरू भन्दा एआई मोडेलहरु धेरै ऊर्जा र पानी खर्च गर्ने प्रकृतिका हुन्छन्। इन्टरनेशनल इनर्जी एजेन्सीको अनुमान अनुसार, एआईमार्फत सोधिएको एउटा प्रश्नले गुगल सर्चको तुलनामा करिब १० गुणा बढी बिजुली र ऊर्जा खर्च गर्छ, जसले थप पानीको आवश्यकता बढाउँछ।

पानीको खपतमा वृद्धि र यसको प्रभाव

ठूला प्रविधि कम्पनीहरूले आफ्नो पानी प्रयोगको तथ्यांक सार्वजनिक नगरेपनि उनीहरूको वार्षिक प्रतिवेदनका आधारमा पानीको खपत बढिरहेको देखिन्छ ।

स्वतन्त्र अनुसन्धानकर्ता लोरेना जोमे पलासीका अनुसार  एआईको द्रुत विकासलाई वातावरणीय दृष्टिले दिगो बनाउनु लगभग असम्भव छ । एआईलाई जति धेरै प्रभावकारी बनाउँछौं, त्यति नै बढी यसको प्रयोग बढ्छ

गुगल, मेटा र माइक्रोसफ्टले सन् २०२० पछिको अवधिमा पानी प्रयोगमा तीव्र वृद्धि भएको देखाएका छन् । गुगलको पानी खपत दोब्बर भएको छ भने अन्य कम्पनीहरूले पनि पानी प्रयोग बढाएको तथ्यांक छ ।

इन्टरनेशनल इनर्जी एजेन्सीको अनुमान अनुसार सन् २०३० सम्ममा डाटा सेन्टरहरूद्वारा प्रयोग हुने पानीको मात्रा हालको भन्दा लगभग दोब्बर हुनेछ । यसले विजुली उत्पादन र कम्प्युटर चिप निर्माणमा प्रयोग हुने पानी समेतलाई समेट्छ ।

गुगलका अनुसार, सन् २०२४ मा उसका डाटा सेन्टरहरूले ३७ अर्ब लिटर पानी खपत गरेका थिए, जसमा २९ अर्ब लिटर पानी वाफ बनेर उड्यो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त परिमाणको पानी १६ लाख मानिसलाई एक वर्षसम्म दैनिक ५० लिटर प्रयोगका लागि पर्याप्त हो ।

सुख्खा क्षेत्रहरूमा डाटा सेन्टरहरूको निर्माण र यसको विवाद

डाटा सेन्टरहरू विश्वका धेरै सुख्खा प्रभावित क्षेत्रहरूमा निर्माण भइरहेका छन्, जस्तै युरोप, ल्याटिन अमेरिका र अमेरिकाको एरिजोना । यस्ता क्षेत्रहरूमा पानीको स्रोत सीमित भएकोले स्थानीय समुदाय र वातावरणविद्हरूले तीव्र विरोध गरिरहेका छन् ।

स्पेनमा ‘तपाईंको क्लाउडले मेरो नदी सुकाउँदैछ’ नामक समूहले डाटा सेन्टरको विस्तारको विरोध गरिरहेको छ। चिली र उरुग्वेमा पानीको अत्यधिक प्रयोगका कारण गुगलले डाटा सेन्टर योजना स्थगित वा परिवर्तन गरेको छ ।

डाटा कम्पनीहरू सुक्खा क्षेत्रहरूमा डाटा सेन्टर बनाउने रुचि राख्छन्, किनभने त्यहाँ जग्गा सजिलै उपलब्ध हुन्छ, नवीकरणीय ऊर्जा स्रोतहरू हुन्छन् र कानुनी प्रक्रिया सरल हुन्छ । साथै, सुक्खा  क्षेत्रमा सर्भरहरूमा खिया लाग्ने खतरा कम हुन्छ र चिस्याउन विद्युत् कम खर्च हुन्छ।

तर, यी क्षेत्रहरूमा पानीको अभाव बढिरहेको हुनाले डाटा सेन्टरहरूबाट हुने पानीको प्रयोगले स्थानीय स्रोतहरूमा थप दबाब आउन सक्छ।

डाटा सेन्टर चिस्याउने नयाँ विकल्पहरू

विज्ञका अनुसार एआई सर्भर चिस्याउनका लागि ड्राइ कूलिङ्ग वा एयर कूलिङ्ग प्रणाली अपनाउन सकिन्छ, जसले पानी बचत गर्छ तर बिजुलीको खपत बढाउँछ। माइक्रोसफ्ट, मेटा र अमेजनले “क्लोज्ड लूप” प्रणाली विकास गरिरहेका छन्, जहाँ पानी निरन्तर चक्रमा रहन्छ र पुन: प्रयोग हुन्छ ।

स्वतन्त्र अनुसन्धानकर्ता लोरेना जोमे पलासीका अनुसार  एआईको द्रुत विकासलाई वातावरणीय दृष्टिले दिगो बनाउनु लगभग असम्भव छ । एआईलाई जति धेरै प्रभावकारी बनाउँछौं, त्यति नै बढी यसको प्रयोग बढ्छ।

जर्मनी, फिनल्याण्ड र डेनमार्क जस्ता केही देशहरूमा  डाटा सेन्टरबाट निस्कने तातो ऊर्जा वरिपरिका घरहरू तताउन प्रयोग गरिन्छ ।

हल अधिकांश कम्पनीहरूले सफा र ताजा पानी प्रयोग गर्ने गरेका भएपनि केही कम्पनीहरूले समुद्री नुनिलो पानी वा उद्योगबाट निस्किएको पानी समेत प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।

एआईका फाइदा र वातावरणीय चुनौतीहरू

हुनत पानी प्रयोगका चुनौतिका बाबजुत एआईले वातावरणमा पर्ने दबाब कम गर्न समेत सहयोग गरिरहेको छ। हरितगृह ग्यास मिथेनको चुहावट पत्ता लगाउन, ट्राफिक व्यवस्थापन सुधारेर इन्धन बचत गर्न र अन्य वातावरणीय समस्याहरू समाधान गर्न एआईको प्रयोग भइरहेको छ।

संयुक्त राष्ट्रसंघअन्तर्गत युनिसेफका विश्व निर्देशक थोमस डेभिन भन्छन्, ‘एआईले विश्वभरिका बालबालिकाको शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनजस्ता जटिल मुद्दामा ठूलो परिवर्तन ल्याउन सक्छ।’

तर, एआई कम्पनीहरूबीच सबैभन्दा प्रभावकारी र पारदर्शी प्रतिस्पर्धा हुनुपर्ने र केवल शक्तिशाली मोडेल निर्माणमा होडबाजी मात्र हुन नहुने उनको मत छ । साथै कम्पनीहरुले आफ्ना एआर्य  मोडेलहरू ओपन सोर्समा आधारित बनाएर त्यसलाई सबैले प्रयोग गर्नसक्ने र आवश्यकता अनुसार सुधार गर्नसक्ने बनाउनुपर्ने डेभिनको भनाइ छ । ओपन सोर्स हुँदा एआई मोडेललाई बारम्बार प्रशिक्षित गर्नुपर्ने आवश्यकता कम हुन्छ, जसले ऊर्जा र पानीको खपत पनि घटाउँछ ।

विशेषज्ञहरूको चेतावनी

स्वतन्त्र अनुसन्धानकर्ता लोरेना जोमे पलासीका अनुसार  एआईको द्रुत विकासलाई वातावरणीय दृष्टिले दिगो बनाउनु लगभग असम्भव छ । एआईलाई जति धेरै प्रभावकारी बनाउँछौं, त्यति नै बढी यसको प्रयोग बढ्छ।

दीर्घकालीन रूपमा पर्याप्त कच्चा पदार्थहरू नहुँदा ठूलो र छिटो एआई बनाउने प्रतिस्पर्धा लामो समय टिक्न नसक्ने उनी बताउँछिन् ।

यसैबीच गुगल, माइक्रोसफ्ट, AWS र मेटा लगायतका कम्पनीहरुले आफ्ना डाटा सेन्टरमा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर चिस्यान प्रविधि छनोट गर्ने बताएका छन् । यी कम्पनीहरूले २०३० सम्ममा ‘वाटर पोजिटिभ’ बन्ने लक्ष्य राखेका छन्, जसको अर्थ उनीहरूले आफूले प्रयोग गर्ने परिमाण भन्दा अधिक परिमाणमा पानी उत्सर्जन गर्नेछन् ।

यी कम्पनीहरूले पानी बचाउने, पुनर्भरण गर्ने तथा संरक्षण गर्ने योजना संचालन गरिरहेका छन् । जसमा  जंगल सिमसार पुनर्स्थापना, पाइपलाइन सुधार र वर्षाको पानी संकलन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?