Comments Add Comment

तेम्बाथाङमा तयार हुँदैछ नमुना ह्योल्मो बस्ती

२२ माघ, सिन्धुपाल्चोक । नजिकै देखिने हिमाली दृश्य अनि वनको बीचमा एकै आकार र रंगका घरहरुको बस्ती । लाग्छ, यो कुनै रिसोर्ट हो । यो हो, सिन्धुपाल्चोकको हेलम्बुको तेम्बाथाङ एकीकृत बस्ती, जहाँ महाभूकम्पपछि विस्थापित ४० परिवार नयाँ बर्षको सुरुवातमै भित्रने तयारीमा छन् ।

हेलम्बु गाउँपालिकाका विभिन्न वडाका भुकम्पपीडित ह्योल्मोहरुका लागि निर्माणाधीन यो एकीकृत बस्ती अन्तिम चरणमा छ । आफ्नो संस्कृति झल्कने घर पाइने भएपछि ह्योल्मोहरु खुशी देखिन्छन् । ‘भूकम्पअघिको जस्तै घरमा बस्न पाइने भयो’, स्थानीय कान्छी लामाले भनिन्, ‘ढिलो भएपनि खुसी छौं ।’

भूकम्पछि जिल्लाका बिभिन्न स्थानमा एकीकृत बस्ती निर्माण सुरु भएका थिए । तीमध्ये तेम्बाथाङको सबभन्दा ठूलो, व्यवस्थित र स्थानीय संस्कृति सुहाउँदो भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताए ।

विद्यालय र ह्योल्मो गुम्बा सहितको यो एकीकृत बस्ती विकासमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था अक्सफामले स्थानीय गैसस जनहित ग्रामीण सेवा समितिमार्फत ४ करोड रुपैयाँ खर्च गर्दैछ । जनसेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले एउटा घर बनाउन कुल १० लाख रुपैयाँ खर्च हुने बताए । उनका अनुसार, यो परियोजनाको पूर्वाधार निर्माणमा पुनर्निर्माण प्राधिकरणले पनि २ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।

हेलम्बु अल्पसंख्यक ह्योल्मोहरुको पनि बसोबास क्षेत्र हो । उनीहरुको आफ्नै मौलिक वास्तुकला छ । तर भूकम्पपछि आफ्नै बुतामा बनेका घरहरुमा परम्परागत कला झल्काउन सम्भव भएन ।

त्यसबारे सोचविचार गरेर कमसे कम ह्योल्मो सँस्कृतिको जगेर्ना हुने एकीकृत बस्ती ‘डिजाइन’ गरिएको गाउँपालिकाका अध्यक्ष शेर्पाले बताए । ‘त्यसका लागि राजधानीबाट सिपालु सिकर्मीहरु ल्याएर यहाँकाहरुलाई तालिम दियौं’ उनले भने, ‘प्रत्येक घरको झ्याल–ढोकामा ह्योल्मो सँस्कृति झल्कने बनायौं ।’

पहिले वडाहरुमा छरिएको ह्योल्मो निर्माण कला अब एकै ठाउँमा देखिने भएकोले यसबाट पर्यटक पनि थप आर्कर्षित हुने शेर्पाको भनाई छ । स्थानीय पर्यटन उद्योगलाई ध्यानमा राखेर एकीकृत वस्ती निर्माणमा एक घर– एक धारा, शौचालयको अवधारणा लागू गरिएको उनले बताए ।

एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष साङ्गे शेर्पाका अनुसार, खानेपानीका लागि बस्तीमाथि २० हजार लिटरको ट्याङकी राखिएको र पानी पुनः प्रयोगका लागि पक्की नाली बनाएर बारीहरुमा पुर्‍याएको छ । ‘अब बस्तीमा होम स्टे सञ्चालन गरिने छ’, उनले भने, ‘२० परिवारले सुरुमै होम स्टे चलाउने इच्छा व्यक्त गरिसकेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment