Comments Add Comment

टेलिकमका कर्मचारीलाई मन्त्रीको प्रश्न : शत्रुको कित्तामा उभिने, क्रान्तिकारी गीत गाउने ?

रातिराति फोनमा तसाईयो, रेडलेबल बन्द !

२२ माघ, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटा रुखो स्वभावका कारण बेलाबेला आलोचित हुन्छन् । नजिकबाट चिन्नेहरु भने हक्की स्वभाव नै उनको विशेषता मान्छन् । तर, मन्त्री भएपछि यही कारण बास्कोटाको धेरै आलोचना हुने गरेको छ ।

मंगलबार नेपाल टेलिकमको वाषिर्क उत्सवमा प्रमुख अतिथि बनेर पुगेका मन्त्री बास्कोटाले आफ्नो शैली छाडेनन् । फोर जी सेवालाई लिएर एकपछि अर्को संसदीय समितिले बोलाएकोमा असन्तुष्ट देखिएका उनले कर्मचारीलाई शत्रुको कित्तामा उभिने तर क्रान्तिकारी गीत गाउने नगर्न चेतावनी दिएका छन् ।

रातिराति फोनमा तसाईयो

नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्न खोजेको वर्ष दिन भइसक्यो तर, काम अगाडि बढ्न सकेको छैन । मन्त्री बास्कोटाका अनुसार अख्तियारले छानविन गरिसक्यो ।

अहिले एकपछि अर्को संसदीय समितिले बोलाउन थालेको छ । रातिराति फोन गरेर तर्साउने प्रयास समेत भएको भन्दै मन्त्री बास्कोटा भन्छन्, या त यो सस्थाको आवश्यकता छैन भन्नु पर्‍यो होइन भने टेलिकमको पक्षमा काम गर्न दिनुपर्‍यो ।’

आफ्नो आँगनमा आफ्नै चिहान खेनेको टुलुटुलु हेरेर बस्ने इच्छा कर्मचारी र व्यवस्थापनको पनि नहोला भन्दै उनले प्रश्न गरे, ‘टेलिकमको हितमा भन्दै रातिराति फोन गरेको छ, तर्साएको छ । टेलिकमको हितमा कि निजी हितमा ?’

कोहीसँग घुडा नटेक्ने कसम खाएको भन्दै उनले यस्तो प्रवृत्तिसँग कुनै सम्झौता नगर्ने बताए । उनले भने, ‘कोको गुहार्नुपर्छ गुहार्नुस् । गल्ती नगरेपछि डराइँदैन ।’

टेलिकमकै इञ्जिनियर र सञ्चालकले तर्साउने गरेको भन्दै उनले भने, ‘निसाचर जस्तो रातभर साथीभाई तर्साउने कसको हितमा ? एक अर्बमा बन्छ भनेर भन्न लगाइको रहेछ गोपीकृष्ण कहु गराउँदा पनि राम्रोसँग गराउनु नि इन्जिनियरहरुले ।’

टेलिकममा जागिर खाएर पनि एक महिना पनि बोनस पाउँदा शत्रुको कित्तामा उभिएको भन्दै आक्रोश पोखे ।

सञ्चारमन्त्री बास्कोटाले भने, इन्जिनियर बनेको छ, रातभर आफ्नै संस्थाविरुद्ध पोल लगाउँदै हिँडेको छ । शत्रुको कित्तामा उभिने, क्रान्तिकारी गीत गाउने ? काम छैन यस्तो ।’

मंगलबार विहानसम्म पनि आफूलाई फोन गरेर ३२ करोड कहाँ हालिस् ? २५३ करोड कहाँ हालिस् ? भनेर सोधेको भन्दै उनले सुनाए, ‘मैले भने तिरेको भए जान्थ्यो । नतिरेर टेलिकमको खल्तीमा हालेँ । अझ मलाई धम्क्याउने ?’

उनले अबको १२ महिनामा फोर जीको सम्पूर्ण काम सक्नुपर्ने भन्दै त्यसमा तलमाथि नहुने बताए ।

कम्तिमा सञ्चारमन्त्रीकै फोन काटिन्छ

आफ्ना लागि नेपाल टेलिकमले केही गरिदिनु नपर्ने उनले बताए । विहान मात्र टेलिकमका एडीलाई फोन गरौं भन्दा -ब्यालेन्स सकिएर) …. केके भनेर फोन नै चट । कम्तिमा अहिले सञ्चारमन्त्रीको फोन काटिने त भएको छ ।’

सुधार आफैंबाट गर्नुपर्ने भन्दै उनले कोको कर्मचारीले टेलिकमको विल तिरेको छैन भन्ने खोजी हुने बताए ।

रेडलेभल बन्द !

मन्त्री बास्कोटाले बाषिर्क उत्सवमा भोजभतेर गर्ने परिपाटी तोडिएको बताए । ‘रेड लेभल, ब्ल्याक लेभल, डबल ब्ल्याक लेभल लड्थे’ उनले भने, ‘यसलाई स्थापना दिवसमा पनि पार्टी गर्न सकेन विचरा टेलिकम भन्नुहुन्छ कि राम्रो ?’

राप्ती पारी फोन दिनू

मन्त्री बास्कोटाले आफू जहाँ जाँदा पनि टेलिफोनको टावरमा माग हुने गरेको सुनाए । बाँकेको राप्ती पारिका जनताले बजार जाँदा नेपाली पैसा कस्तो हुन्छ देख्न नपाएको भन्दै उनले भने, ‘राप्ती पारीको बस्तीमा टेलिफोन हाम्रै चल्छ, दिनुपर्‍यो भनेका छन् । कति दिनमा सकिन्छ दिनुस् एमडी सा’ब ।’

जागिर नपाएको त्यो दिन

सञ्चारमन्त्री बास्कोटाले कुनै समय आफूले टेलिकममा जागिर खाने प्रयास गरेको पनि सुनाए । त्यही कारण राजनीतिमा लागेर अहिले मन्त्री भएको भन्दै उनले भने, ‘भर्खर कलेज पढ्न आउँदाको कुरा त हो । जागिर पाए हुन्थ्यो भनेर गरेको, भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment