Comments Add Comment

संसदमा गृहमन्त्रीसँग प्रश्नोत्तर : विपक्षीको प्रश्नैप्रश्न, नेकपाको बधाई !

२३ माघ, काठमाडौं । सांसदहरुले गृहमन्न्त्री रामबहादुर थापा बादललाई निर्मला पन्तको हत्या कहिले पत्ता लाग्छ भनेर सोधेका छन् । सांसदमा बुधबार भएको प्रश्न उत्तरमा कांग्रेस सांसद डिला संग्रौलाले पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा किन चलाइएन भनेर प्रश्न सोधेकी थिइन् ।

तर, सत्तारुढ सांसदले भने निर्मला पन्त हत्या प्रकरण मानवअधिकारवादी र मिडियाका लागि मागिखाने भाँडो र विपक्षीलाई राजनीतिक मुद्दा बनेको दाबी गरे ।

जवाफमा गृहमन्त्री बादलले अनुसन्धान जारी रहेको र सरकार अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रतिवद्ध रहेको बताए । त्यसमा कांग्रेस पुरक प्रश्न सोधेका थिए ।

यस्तो छ प्रश्न उत्तरः

सांसद डिला संग्रौलाको प्रश्न : निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा किन चलाइएन ? बलात्कार र हत्याको श्रृङ्खला कहिले रोकिएला ?

गृहमन्त्रीको जवाफ : यो जघन्य अपराध थियो । यसबारे सरकार पनि गम्भीर छ र अनुसन्धान जारी छ । जहाँसम्म अपराधीलाई किन कारबाही गरिएको छैन भन्ने सवाल हो, यसबारे अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई कारबाही गरिसकेको छ ।
कुनै पनि अपराधीलाई राज्यलाई छुट दिन सक्दैन । अपराधीलाई कानुनको कठघरामा ल्याइनेछ ।

संग्रौलाको पूरक प्रश्न : बलात्कारपछि हत्या भएको ६ महिना भयो । बलात्कारको घटनामो प्रमाण भनेको शरीर र लुगा हुन्छ । किन नष्ट गरेको ? सरकारले निर्दोषलाई दोषी करार गर्न खोज्यो । हत्यारा बालुवाटार र सिंहदरबारकै कुर्सीमा छैनन् ?

गृहमन्त्रीको जवाफः ९५ प्रतिशत बढी अपराधीलाई कानुनको कठघरामा ल्याउन सफल भएको छ । ४÷५ प्रतिशतलाई ल्याउन प्रयत्नशील छ । कुनै अपराधलाई प्रहरीले तुरुन्तै पत्ता लगाउन सक्दैन । यो प्रकरणले पनि समय लिएको छ ।
जहाँसम्म माननीयज्यूले आक्रोसित मुडमा अपराधी बालुवाटारमा छन् कि सिंहदरबारमा छन् भन्ने प्रश्न गर्नुभयो । अपराधी जहासुकै हुन्, कानुनको कठघरामा आउनेछन् ।

सांसद गगन थापाको प्रश्नः ५ रक्षामन्त्रीले दिनभित्र अपराधी सार्वजनिक गर्छौं दिन गनेर बस्नुहोला भन्नु भएको थियो । यसबारे गृहमन्त्रीलाई जानकारी छ कि छैन ?

गृहमन्त्रीः रक्षामन्त्रीजीले के भन्नुभयो ठोस रुपमा जानकारी छैन । तर, छिट्टै अपराधीलाई कानुनको कठघरामा ल्याउने स्परिटसहित भन्नु भएको होला अनुमान गर्न सक्छु ।

सन्दिग्ध व्यक्ति अनुसन्धानको घेराभित्र आएको आधार बनाएर भन्नु भएको होला । निश्चित आधारमा हिरासतमा लिइएको थियो । कतिपयले साविती बयान पनि दिएका थिए तर, अरु प्रक्रिया पुरा नभएकाले मुक्त गर्न गरेका छौं ।

सांसद दिलेन्द्रप्रसाद बडूः ०५ प्रतिशत सफल भएको छ भन्नुभयो, कहिले १०० प्रतिशत हुन्छ । अनि न्याय माग गर्दै अनसन बस्नेहरुलाई धम्क्याउने, प्रलोभन देखाउने काम भएको छ, यसबारे के गृह मन्त्रालयको धारणा के छ ?

गृहमन्त्रीको जवाफः अनसनमा बसेका वा न्यायका निम्ति आन्दोलन गरिरहेकालाई धम्क्याएको सूचना छैन । आन्दोलन गर्ने जनताको अधिकार हो । पीडितहरुले न्यायका निम्ति आवाज उठाउन सक्छन् । माननीयजीले भनेको जस्तो अनसनमा बसेकाहरुलाई धक्म्याउने काम भएको भए अनुन्धान गर्छौं ।

सांसद राजेन्द्र लिङदेनको प्रश्नः उपप्रधानमन्त्रीबाट होइन, गृहमन्त्रीले नै निर्मला पन्त हत्यामा प्रारम्भमा अपराधी पत्ता लागिसकेको जवाफ दिनु भएको थियो । तर अहिले अनुसन्धान कहाँ पुगेको छ थाहा छैन । साविती बयान दिँदैमा अपराधी हुँदैन । शंकास्पद पक्राउ गर्दा अपराधी पत्ता लाग्यो भनेर कच्चा सूचना आयो

गृहमन्त्रीको जवाफः मैले सुरुमा संसदमा जानकारी दिँदा गृहलाई प्राप्त सूचनाका आधारमा भनेको थिएँ । यो घटनामा राज्यले सुरुदेखि नै पहल लिएको थियो र तुरुन्तै अनुसन्धान टोली खटाएको थियो । त्यसको रिपोर्टअनुसार संसदमा भनेको हुँ । २ जना संदिग्धलाई पक्राउ गरिएको थियो र साविती बयान पनि दिएका थिए । तर अरु छानविनमा प्रमाणित नभएकाले मुक्त गरियो ।
कहिले काहीँ तलबाट आएको सूचना अपुरो हुनसक्छ, त्यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

सुजाता परियारको प्रश्नः अनुसन्धान कहिलेसम्म हुन्छ र वास्तविक हत्यारा कहिले पत्ता लाग्छ ?

गृहमन्त्रीः जे भइरहेको छ, त्यही संसदमा भन्ने हो । सकेसम्म छिटो अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रतिवद्ध छ । त्यसअनुसार प्रयातरत छौं । कुनै घटनाको अनुसन्धानले लामो समय लिनसक्छ, वर्षौ पनि लाग्नसक्छ । तर, राज्यको प्रतिवद्धता छिटो भन्दा छिटो अपराधी पत्ता लगाउने हो ।

नेकपा सांसद महेश बस्नेतको प्रश्नः ९६ प्रतिशत अपराधका घटना प्रहरी सफल भएको रहेछ, बधाइ दिन चाहन्छु । निर्मला पन्तको विषय मानवअधिकारवादी र मिडियाका लागि गरिखाने र प्रतिपक्षको राजनीतिक गर्ने विषय भएको छ । ‘

डिल्लीराज विष्टलाई बर्खास्त गरेर अनुसन्धान अगाडि बढाएको छ, यसका लागि धन्यवाद बनाउन चाहन्छु । अनुसन्धानको दायरा विष्टलाई एसपी बनाएर राख्ने तत्कालीन नेतृत्वतिर पनि केन्द्रित गर्न अनुरोध गर्न चाहन्छु ।

गृहमन्त्रीको जवाफः दिलिपसिंहबारे सरकारलाई अवगत छ । त्यो त्यही दिशामै पनि सरकारले पनि कदम अगाडि बढाएको छ ।

संसदमा भएको प्रश्नउत्तरका क्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले काँडाघारीका निशान खड्काको अपहरणपछि हत्यामा संलग्नहरुको इन्काउन्टरबारे प्रश्न गरेका थिए ।

गृहमन्त्रीले संसदमा पठाएको पत्र पढेर सुनाए । जसमा जसमा बालक अपहरणकारी सूर्यविनायक सामुदायिक जंगलमा रहेको भन्दै सूचना आएर प्रहरी टोलीमाथि आक्रमण गर्न लाग्दा आत्मारक्षाका लागि गोली चलाएको र दुई जनाको मृत्यु भएको उल्लेख छ ।

सांसद कँडेलले ‘पेस्ताल निकालेर आक्रमण गर्न खोज्दा प्रतिरक्षा गरेको भनिएको छ । कुन तेस्तोलले कति दुरीबाट प्रहरीमाथि आक्रमण भयो र प्रहरीले फायर खोल्यो ? भन्ने प्रतिप्रश्न गरे ।

गृहमन्त्रीले जंगलमा इकाउन्टर भएको थियो भन्ने रिपोर्ट प्राप्त भएको तर, कति दुरी भन्ने प्रष्ट नभएको बताए ।

अर्का सांसद बालकृष्ण खाँड अपराधीलाई गिरफ्तार गरेर कानुनी कारबाहीमा ल्याउनुपर्नेमा इन्काउन्टर भइरहेको भन्दै कसले आदेश दिन्छ भनेर प्रश्न गरे ।

जवाफमा गृहमन्त्री बादलले अपराधीको खोज गर्दै जाने क्रममा अपराधीबाट प्रहार गर्ने सम्भावना रहन्छ भने आत्मरक्षाका लागि प्रहरीले गोली हान्न सक्ने बताए । उनले भने, ‘माथिबाट आदेश दिनु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment