Comments Add Comment

प्रदेश ५ को आवधिक योजना : विजुली बसदेखि रेल्वेसम्म

२३ माघ, बुटवल । प्रदेश ५ को योजना आयोगले प्रथम आवधिक योजना (०७५/७६-०८०/८१) को अवधारणापत्र तयार गरेको छ । आयोगले प्रदेशका १२ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, नीजि क्षेत्र र नागरिक समाजको रायसुझाव लिएर अवधारणापत्र तयार गरेको हो ।

आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेश विकास परिषद्को पहिलो वैठकमा अवधारणापत्र प्रस्तुत गरेका छन् । अवधारणापत्रमा आगामी ५ वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई १० प्रतिशतमा झार्ने उल्लेख छ ।

अहिले प्रदेश ५ को जनसंख्याको २४.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । २०६८ को जनगणना अनुसार प्रदेश ५ को जनसंख्या ४४ लाख ९९ हजार छ ।

आयोगका उपाध्यक्ष डा. श्रेष्ठले प्रादेशिक कूल गार्हस्थ उत्पादन बृद्धि दर ९.५ प्रतिशत, कूल उपभोक्ता मूल्य बृद्धि दर ६ प्रतिशत, कूल गार्हस्थ वचत २० प्रतिशत र कूल स्थिर पूंजी लगानी ४० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताए ।

त्यस्तै, सरदर आयू ६७.५ वर्षबाट ७२ वर्ष पुर्‍याउने, बाल मृत्यु दर ४२.४ प्रतिशतबाट ३० प्रतिशतमा झार्ने, मातृ मृत्यु दर प्रति लाख जिवित जन्ममा १४५ रहेकामा १२० मा झार्ने, माध्यमिक विद्यालयमा भर्ना दर ४०.५ प्रतिशतबाट ५५ प्रतिशत पुर्‍याउने, खानेपानी सुविधा पुगेका घर ८६.२ प्रतिशतबाट शतप्रतिशत बनाउने लक्ष्य आवधिक योजनाले लिएको छ ।

त्यस्तै, सिंचित क्षेत्र ५० प्रतिशतबाट शत प्रतिशत , पक्की सडक ८०० किलोमिटरबाट २६ सय किमि र इन्टरनेट पहुंच भएका घरपरिवार ५१.१ प्रतिशतबाट ९० प्रतिशत पुराउने लक्ष्य छ ।

प्रदेशमै विश्वविद्यालय, सबै नगरपालिकामा फोहर संकलन केन्द्र, सबै स्थानीय तहमा खेलमैदान, मुख्य शहरहरुमा विद्युतीय बस र रेल्वे सेवा सुरू गर्ने लक्ष आवधिक योजनामा समेटिएको छ । औद्योगिक उत्पादनमा अग्रणी प्रदेश बन्नेदेखि न्यूनतम २० लाख वाह्य पर्यटक भित्र्याउनेसम्मका ठुल्ठुला लक्ष्यहरु निर्धारण गरिएको छ ।

‘संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्य, केन्द्र सरकारको १५ औं आवधिक योजना र २५ वर्षे दीर्घकालीन सोंचसंग मेल खाने गरी आवधिक योजना बनाएका छौं’, डा. श्रेष्ठले भने, ‘आउदो चैतसम्म योजनाको पूर्ण दस्तावेज तयार पार्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment